Online Bible

- Reklamy -

भजनसंग्रह 138 - सरल नेपाली पवित्र बाइबल


धन्‍यवादको प्रार्थना

1 हे परमप्रभु! म आफ्‍नो पूरा हृदयले तपाईंलाई धन्‍यवाद दिन्‍छु, देवताहरूको अघि म तपाईंको प्रशंसाको भजन गाउँछु।

2 तपाईंको अटुट प्रेम र विश्‍वासयोग्‍यताको कारण म तपाईंको पवित्र मन्‍दिरपट्टि फर्कन्‍छु। तपाईंलाई दण्‍डवत् गर्दछु र तपाईंको नामको प्रशंसा गर्दछु किनभने तपाईंले आफ्‍ना नाम र आज्ञाहरू सर्वोच्‍च छन् भनी देखाउनुभएको छ।

3 मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो। आफ्‍नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो।

4 हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन् किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्।

5 तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्।

6 तपाईं यति उच्‍च हुनुहुन्‍छ र पनि तपाईंले साना-तिनाहरूको वास्‍ता गर्नुहुन्‍छ र घमण्‍डीहरू तपाईंदेखि लुक्‍न सक्‍दैनन्।

7 कष्‍टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्‍नुहुन्‍छ, तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्‍छ र आफ्‍नो शक्तिले मलाई बचाउनुहुन्‍छ।

8 आफूले प्रतिज्ञा गर्नुभएको सबै थोक तपाईंले पूरा गर्नुहुनेछ, परमप्रभु, तपाईंको प्रेम अमर छ। आफूले सुरु गर्नुभएको काम पूरा गर्नुहोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy