भजनसंग्रह 137 - सरल नेपाली पवित्र बाइबलदेश निकालाबास भएका इस्राएलीहरूको विलाप 1 हामी बेबिलोनका नदीका किनारमा बस्यौं, त्यहाँ सियोनलाई सम्झेर हामी रोयौं। 2 आफ्ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्डायौं। 3 हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।” 4 हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र? 5 हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्यै पनि वीणा बजाउन नसकूँला! 6 मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्नो सर्वोत्तम आनन्द मानी याद गरिनँ भने म फेरि कहिल्यै गाउन नसकूँला! 7 हे परमप्रभु, यरूशलेम कब्जा गरेको दिन एदोमीहरूले के गरे, याद गर्नुहोस्! तिनीहरूले भनेका यी कुरा स्मरण गर्नुहोस्– “यसलाई ध्वंस पारेर जमिनमा खसालिदिनुहोस्!” 8 हे बेबिलोन, तँ नाश पारिनेछस्। तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्। 9 उसले तेरा स-साना बच्चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society