भजनसंग्रह 135 - सरल नेपाली पवित्र बाइबलप्रशंसाको भजन 1 परमप्रभुको प्रशंसा गर! हे परमप्रभुका सेवकहरू हो! उहाँको नामको प्रशंसा गर! 2 तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्वरको मन्दिरमा खडा रहन्छौ, परमप्रभुको प्रशंसा गर! 3 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको नामको स्तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्छ। 4 उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्नै लागि चुन्नुभयो। 5 म जान्दछु कि हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सबै अरू देवताहरूभन्दा अझ महान् हुनुहुन्छ। 6 उहाँले स्वर्ग र पृथ्वीमा, समुद्रहरू र तीभित्रका गहिरा स्थानहरूमा आफूले इच्छा गरेअनुसार गर्नुहुन्छ। 7 उहाँले पृथ्वीको पल्लो कुनाबाट आँधीका बादलहरू बटुल्नुहुन्छ। आँधीमा बिजुली चम्काउनुहुन्छ र आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। 8 मिश्रमा उहाँले मानिसहरूका जेठा छोराहरू र पशुहरूका पहिला जन्मेका बच्चाहरू मार्नुभयो। 9 राजा र उसका भारदारहरूलाई दण्ड दिनलाई उहाँले आश्चर्य र उदेकका कामहरू गर्नुभयो। 10 उहाँले धेरै जातिहरूलाई नाश पार्नुभयो र शक्तिमान् राजाहरूलाई मार्नुभयो। 11 उहाँले एमोरीहरूका राजा सिहोन, बाशानका राजा ओग र कनानका सबै राजाहरूलाई मार्नुभयो। 12 तिनीहरूका देश उहाँले आफ्ना प्रजा इस्राएलहरूलाई दिनुभयो। 13 परमप्रभु, सबै पुस्ताहरूले तपाईंलाई याद गर्नेछन् र सदासर्वदा तपाईंलाई परमेश्वर भनी घोषणा गर्नेछन्। 14 परमप्रभुले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ, उहाँले आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ। 15 जाति-जातिका देवताहरू सुन र चाँदीले बनेका छन्, मानिसका हातले ती बनाएका हुन्। 16 तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। 17 तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्, तिनीहरू सास फेर्न पनि सक्दैनन्। 18 ती बनाउने र तिनमा भरोसा गर्नेहरू आफूले बनाएका मूर्तिहरूजस्तै होऊन्! 19 हे इस्राएलका मानिसहरू हो, परमप्रभुको प्रशंसा गर, परमेश्वरका पूजाहारीहरू हो, तिमीहरू उहाँको प्रशंसा गर! 20 हे लेवीहरू हो, परमप्रभुको प्रशंसा गर, उहाँलाई पुज्नेहरू, तिमीहरू उहाँको प्रशंसा गर! 21 सियोनमा परमप्रभुको प्रशंसा गर, यरूशलेम उहाँको बासस्थानमा उहाँको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society