भजनसंग्रह 12 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि प्रार्थना 1 हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्। 2 तिनीहरू सबैले आपसमा झूटा बोल्छन्, चाप्लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्छन्। 3-4 हे परमप्रभु! ती चाप्लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्छौं, हामी चाहेअनुसार बोल्छौं, कसैले हामीलाई थुन्न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्द गर्नुहोस्। 5 परमप्रभु भन्नुहुन्छ, “अब म आउनेछु किनभने दरिद्रहरू सताइएका छन् र सङ्कटमा परेकाहरू पीडाले छट्पटाइरहेका छन्, तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।” 6 परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्छ, ती दन्केको आगोमा सातपल्ट खारेका चाँदीजस्ता असल हुन्छन्। 7-8 दुष्टहरू जताततै हुन्छन् र दुष्ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्नुहोस् र त्यस्ता मानिसहरूदेखि हामीलाई बचाएर राख्नुहोस्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society