Online Bible

- Reklamy -

भजनसंग्रह 10 - सरल नेपाली पवित्र बाइबल


न्‍यायको लागि प्रार्थना

1 हे परमप्रभु! किन यति टाढा हुनुहुन्‍छ? हामी कष्‍टमा परेको बेलामा किन तपाईं लुक्‍नुहुन्‍छ?

2 दुष्‍टहरू अहङ्कारी हुन्‍छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्‍छन्।

3 दुष्‍टले आफ्‍ना दुष्‍ट इच्‍छामा घमण्‍ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्‍कार्दछ र अस्‍वीकार गर्दछ।

4 दुष्‍टले परमप्रभुको बारेमा वास्‍ता गर्दैन, उसले आफ्‍नो घमण्‍डमा परमेश्‍वरको के वास्‍ता गर्नु भनी सोच्‍दछ।

5 दुष्‍ट मानिस सबै काममा सफल हुन्‍छ। त्‍यसले परमेश्‍वरको न्‍यायलाई बुझ्‍न सक्‍दैन, त्‍यसले आफ्‍ना शत्रुहरूको खिसी गर्छ।

6 त्‍यसले आफैंलाई भन्‍दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्‍यै कष्‍ट हुनेछैन।”

7 सराप, झूट र धम्‍कीले त्‍यसको बोली भरिएको हुन्‍छ; घिनलाग्‍दो र दुष्‍ट कुरा भन्‍न त्‍यो छिटो हुन्‍छ।

8 निर्दोष मानिसहरूलाई मार्न त्‍यो गाउँ-गाउँमा लुकिबस्‍छ। शिकार बनेका ती असहाय मानिसहरूको त्‍यसले खोजी-नीति गर्छ।

9 आफू लुकेको ठाउँमा त्‍यो सिंहजस्‍तो पर्खिरहन्‍छ, त्‍यसले तिनीहरूलाई पासोमा पार्दछ र घिस्‍स्‍याएर लैजान्‍छ।

10 त्यसका शिकार बनेका ती असहाय मानिसहरू दबेर लडिरहन्‍छन्, जनावरको जस्‍तो शक्तिद्वारा तिनीहरूको हार भएको छ।

11 दुष्‍टले आफैंलाई भन्‍दछ, “परमेश्‍वरले केही वास्‍ता गर्नुहुन्‍न, उहाँले आँखा चिम्‍म गर्नुभएको छ, मलाई देख्‍नुहुन्‍न!”

12 हे परमेश्‍वर, ती दुष्‍ट मानिसहरूलाई दण्‍ड दिनुहोस्! कष्‍ट पाएकाहरूलाई सम्‍झनुहोस्!

13 कसरी दुष्‍ट मानिसले परमेश्‍वरलाई निन्‍दा गरेर, “उहाँले मलाई दण्‍ड दिनुहुन्‍न” भनी मनमा भन्‍न सक्‍छ?

14 तर तपाईंले देख्‍नुहुन्‍छ, मानिसका दु:ख-कष्‍ट जान्‍नुहुन्‍छ र मद्दत गर्न सदा तयार हुनुहुन्‍छ। असहाय मानिस आफैं तपाईंको शरण पर्दछ, तपाईंले सधैँ दरिद्रलाई सहायता गर्नुभएको छ।

15 दुष्‍ट र खराब मानिसका शक्तिलाई तोड्‍नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्‍ति तिनीहरूले त्‍यसमा काम गर्न नछोडुञ्‍जेल तिनीहरूलाई दण्‍ड दिनुहोस्।

16 परमप्रभु सदाकालको निम्‍ति राजा हुनुहुन्‍छ, अरू देवताहरू पुज्‍ने मानिसहरू उहाँको देशबाट हराइजानेछन्।

17 हे परमप्रभु! दीनजनहरूका प्रार्थना तपाईंले सुन्‍नुहुनेछ, तपाईंले तिनीहरूलाई साहस दिनुहुन्‍छ।

18 तपाईंले थिचोमिचोमा परेकाहरू र टुहुरा-टुहुरीहरूको पुकार सुन्‍नुहुन्‍छ। तिनीहरूको पक्षमा न्‍याय गर्नुहुनेछ र अब उसो मरणशील मानिसले कसैलाई विपत्तिमा पार्न सक्‍नेछैन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy