Online Bible

- Reklamy -

हितोपदेश 9 - सरल नेपाली पवित्र बाइबल


बुद्धि र मूर्खता

1 बुद्धिले आफ्‍नै घर बनाएको छ र त्‍यसमा सात खामाहरू लाएको छ।

2 भोजको निम्‍ति त्‍यसले एउटा पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ र भोज तयार पारेको छ।

3 सहरका अग्‍लाअग्‍ला ठाउँबाट यसो भन्‍नलाई त्‍यसले आफ्‍ना चाकर्नीहरू पठाएको छ,

4 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्‍यसले यसो भन्‍छ,

5 “आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ।

6 निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।”

7 अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्‍टलाई हप्‍काउनेले आफ्‍नै हानि गर्दछ।

8 अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्‍यसले तिमीलाई त्‍यसको निम्‍ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्‍यसले तिमीलाई आदर गर्नेछ।

9 बुद्धिमान् मानिसलाई अर्ती दिन्‍छौ भने ऊ अझै बुद्धिमान् बन्‍दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ।

10 ज्ञानी बन्‍नलाई पहिले परमप्रभुको भय मान्‍नुपर्दछ। परमपवित्रलाई जान्‍नु नै समझशक्ति पाउनु हो।

11 बुद्धिले तिम्रो आयु बढाउँछ।

12 तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्‍यसलाई इन्‍कार गर्‍यौ भने तिम्रो हानि हुनेछ।

13 मूर्खता एउटी ठूलो स्‍वर भएकी, अज्ञानी र निर्लज्‍ज स्‍त्रीजस्‍तो हो।

14 त्‍यो आफ्‍नो घरको ढोका वा सहरको उच्‍च स्‍थानमा एउटा बैठकमा बस्‍छ

15 र आफ्‍नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्‍दै बोलाउँछ,

16 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्‍छ।

17 “चोरेर पिएको पानी मीठो हुन्‍छ, लुकेर खाएको रोटी स्‍वादिलो हुन्‍छ।”

18 त्‍यसका पन्‍जामा पर्नेहरू, त्‍यसको घरमा जानेहरू मर्छन् र त्‍यहाँ पसिसक्‍ने जतिचाहिँ मृत्‍यु-लोक पुगिसकेका छन् भनी जान्‍दैनन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy