Online Bible

- Reklamy -

हितोपदेश 8 - सरल नेपाली पवित्र बाइबल


बुद्धिको प्रशंसा

1 सुन! बुद्धि चिच्‍च्‍याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ;

2 बाटाको छेउ, डाँडा-डाँडा र चौबाटामा त्‍यो खड़ा हुन्‍छ।

3 सहरको मूल-ढोका र प्रवेशद्वारमा चर्को सोरले त्‍यो यसरी कराउँदछ:

4 “हे मानिसहरू हो! म तिमीहरूलाई उजुर गर्दछु, पृथ्‍वीका हरेक मानिसलाई पुकार्दछु।

5 के तिमीहरू बालक नै छौ? पाको हुन सिक। के मूर्ख छौ? ज्ञानी हुन सिक।

6 मेरा उत्तम वचनहरू सुन, मैले बोलेका सबै कुरा ठीक छन्।

7 मैले भनेको कुरा साँचो छ, म झूटो कुरा घृणा गर्दछु।

8 मैले भनेको हरेक कुरा सत्‍य छ, झूटो वा धोका दिने कुनै कुरा छैन,

9 जसले बुझ्‍न सक्‍छ, त्‍यसको लागि सबै स्‍पष्‍ट छ, जसको अन्‍तर्दृष्‍टि छ, त्‍यसको लागि सबै सरल छ।

10 चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज।

11 “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्‍दैन।

12 म बुद्धि हुँ, मसित अन्‍तर्दृष्‍टि छ, मसित ज्ञान र न्‍याय विचार छन्।

13 परमप्रभुको आदर गर्नु दुष्‍टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्‍ट विचार र झूटा बोलीलाई घृणा गर्दछु।

14 म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ।

15 राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु।

16 मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्।

17 मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्‍नेले मलाई भेट्टाउँदछ।

18 धन, इज्‍जत, उन्‍नति र सफलता मसँग छन्।

19 तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ।

20 म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्दछु।

21 मलाई प्रेम गर्नेहरूलाई धन-सम्‍पत्ति दिँदछु र तिनीहरूका घरका भण्‍डार दामी कुराहरूले भरिदिन्‍छु।

22 “परमप्रभुले सृष्‍टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्‍टि गर्नुभयो।

23 आदिमा नै, संसारको उत्‍पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो।

24 महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्‍नुअघि मेरो जन्‍म भएको थियो।

25 पहाड-पर्वत र डाँडा-काँडाहरू स्‍थापित हुनुभन्दा अघि नै म जन्‍मेको थिएँ,

26 अँ, परमेश्‍वरले पृथ्‍वी, जमिन र माटो बनाउनुभन्दा अघि नै।

27 उहाँले आकाशलाई पृथ्‍वीमाथि फैलाउनुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।

28 आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा

29 र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्‍यहाँ हाजिर थिएँ। उहाँले पृथ्‍वीको जगहरू बसाल्‍नुहुँदा म त्‍यहाँ थिएँ।

30 म उहाँको छेउमा शिल्‍पकारझैँ दिनहुँ उहाँलाई आनन्‍द दिँदै, उहाँको उपस्‍थितिमा आफैं पनि प्रसन्‍न हुँदै

31 सारा पृथ्‍वीसित नै आनन्‍दमा र मानव-जातिसित सन्‍तुष्‍ट थिएँ।

32 “हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर्‌ र तिमीहरू सुखी हुनेछौ।

33 तिमीहरूले पाएका शिक्षामा कान थाप, बुद्धिमान् होओ, त्‍यसलाई हेला नगर।

34 जसले मेरा कुरा सुन्‍छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्‍छ, त्‍यो खुसी हुनेछ।

35 मलाई भेट्टाउनेले जीवन प्राप्‍त गर्दछ र परमप्रभु त्‍योसित खुसी हुनुहुन्‍छ।

36 मलाई नभेट्टाउनेले आफ्‍नै हानि गर्दछ, मलाई घृणा गर्नेले मृत्‍युलाई प्रेम गर्दछ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy