Online Bible

- Reklamy -

हितोपदेश 7 - सरल नेपाली पवित्र बाइबल

1 ए मेरो छोरो, मेरो वचन याद राख् र मैले गर्न भनेका कुरा कहिल्‍यै नबिर्सी,

2 मैले भनेअनुसार गर्‌ र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्‍न होश गर्‌।

3 सधैँ मेरो शिक्षा पालन गर्‌, त्‍यो तेरो हृदयको पाटीमा लेखिराख्।

4 बुद्धिलाई बहिनीजस्‍तो र अन्‍तर्दृष्‍टिलाई परममित्रजस्‍तो व्‍यवहार गर्‌।

5 ती कुराले तँलाई अर्काका स्‍वास्‍नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्‍नेछन्।


व्‍यभिचारिणी स्‍त्रीसँग सावधानी

6 एकपल्‍ट मैले मेरो घरको झ्‍यालबाट बाहिर हेर्दै थिएँ।

7 मैले धेरै अन्‍जान ठिटाहरूलाई देखें र विशेषगरी एक जना मूर्ख ठिटोलाई देखें।

8 एक कुनामा एउटी स्‍त्रीको घर थियो, त्‍यस घरछेउको बाटोमा त्‍यो ठिटो जाँदै थियो र त्‍यस घरको छेउ पुग्‍यो।

9 त्‍यस बेला साँझ परेर अँध्‍यारो भएको थियो

10 र त्‍यस स्‍त्रीले त्‍यस ठिटोलाई भेटी, त्‍यो वेश्‍याको वस्‍त्रमा थिई र फसाउने दाउमा थिई।

11 त्यो निडर र निर्लज्‍ज स्‍त्री थिई र सधैँ बाटो चहारी हिँड्थी

12 अथवा कुना-काप्‍चाहुँदो, कहिले सडकहरूमा र कहिले चोकहरूमा ढुकेर बस्‍थी।

13 त्‍यस स्‍त्रीले त्‍यस ठिटोलाई अँगालो हाली र म्‍वाइँ खाई र त्‍यसका आँखामा सोझै हेरेर भनी,

14 “आज मैले बलिदान चढाएँ र बलिको मासु मसित छ।

15 यसकारण म तिमीलाई खोज्‍दै आएँ। म तिमीलाई भेट्‍न चाहन्‍थें र यहाँ भेटें!

16 मिश्रदेशका रङ्गी-बिरङ्गी मलमलका तन्‍नाहरू मैले मेरो ओछ्यानमा बिछ्याएकी छु।

17 ओछ्यानमा मूर्र, घिउ-कुमारी र दालचीनीको अत्तर छर्केकी छु।

18 आऊ! हामी प्रेमविलासमा रात कटाऔं। एक-अर्काको अँगालोमा हामी आनन्‍द मनाउँनेछौं।

19 मेरो लोग्‍ने घरमा छैनन्। उनी टाढाको यात्रामा गएका छन्।

20 तिनले साथमा धेरै रकम-पैसा लगेका छन् र दुई सातासम्‍म घर फर्कनेछैनन्।”

21 त्‍यसरी मोहनी लाएर त्‍यस ठिटोलाई त्‍यसले फसाई र त्‍यसका चाप्‍लुसी कुरामा त्‍यो फस्‍यो।

22-23 कसाईकहाँ काटिन लगिएको साँढेझैँ अथवा मृग उफ्रेर पासोमा परेझैँ, जहाँ काँडले त्‍यसको मुटु छेड्‍नेछ, त्‍यो एका-एक त्‍यस स्‍त्रीको पछि लाग्‍यो। जालमा फस्‍न लागेको चराझैँ त्‍यो हिँड्यो, आफ्‍नो ज्‍यानलाई खतरा भएको त्‍यसले चालै पाएन।

24 ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्‍यान देओ।

25 त्‍यस्‍ती स्‍त्रीले तिम्रो मन बराल्‍न नपाओस्, त्‍यसको पछि नबरालिऔ।

26 त्‍यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्‍यसले नाश गरेका मानिसको गन्‍ती नै छैन।

27 तँ त्‍यसको घरमा गइस् भने मृत्‍यु-लोकको बाटो लागिस्। त्‍यो मृत्‍युमा पुर्‍याउने छोटो बाटो हो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy