Online Bible

- Reklamy -

हितोपदेश 6 - सरल नेपाली पवित्र बाइबल


अरू चेतावनीहरू

1 ए मेरो छोरो, के तँ कसैको ऋणको जमानी बसेको छस्?

2 के तँ आफ्‍नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्?

3 त्‍यसो भए, ए मेरो छोरो, तँ त्‍यस मानिसको हातमा परेको छस्? अब उम्‍कने यही उपाय छ– झट्टै त्‍यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्‍यसलाई बिन्‍ती गर्‌।

4 आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्‌,

5 चरा पासोबाट फुत्‍केझैँ वा शिकारीका हातबाट हरिण उम्‍केझैँ तँ त्‍यसबाट निस्‍किहाल्।

6 हे अल्‍छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्।

7 तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन,

8 तर ग्रीष्‍म ऋतुमा तिनीहरूले आफ्‍ना खाना बटुल्‍दछन् र जाडोको समयको लागि भण्‍डार तयारी गर्छन्।

9 अल्‍छी मानिस कहिलेसम्‍म ओछ्यानमा लडिरहने हो? त्‍यो कहिले उठ्‍ने हो?

10 त्‍यसले भन्‍छ, “म एकैछिन सुत्‍नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।”

11 तर त्‍यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्‍यसमाथि आइलाग्‍नेछ।

12 बेकामका र दुष्‍ट मानिसहरू झूटो कुरा गर्दै घुमिहिँड्छन्।

13 तिनीहरूले आँखा झिम्‍क्‍याउँछन् र छल्‍ने इशारा गर्छन्

14 र सबै समय आफ्‍ना दुष्‍ट मनमा जालका कुरा रचिरहेका हुन्‍छन् र झगडा निकाल्‍छन्।

15 त्‍यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्‍नेछ र तिनीहरू घाइते भई मर्नेछन्।

16-19 सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ र सहन सक्‍नुहुन्‍न: अहङ्कारी आँखा, झूटो बोल्‍ने जिब्रो, निर्दोषको हत्‍या गर्ने हात, दुष्‍ट जाल रच्‍ने मन, दुष्‍ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्‍ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।


व्‍यभिचार विरुद्ध चेतावनी

20 ए मेरो छोरा, आफ्‍नो बुबाले भनेअनुसार गर्‌ र आफ्‍नी आमाको अर्ती नबिर्सी।

21 तिनीहरूका वचनहरू आफ्‍नो हृदयमा सधैँ साँचिराख्,

22 तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्‍लाहको कुरा तँलाई बताउनेछ।

23 तिनीहरूको अर्तीचाहिँ उज्‍यालो ज्‍योति हो, तिनीहरूको सुधारले तँलाई आफ्‍नो जीवन बिताउन सिकाउँछ।

24 त्‍यसले तँलाई भ्रष्‍ट आइमाईहरू र अर्काका स्‍वास्‍नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्‍नेछ।

25 तिनीहरूका सुन्‍दरताको लालसा नगर्‌, तिनीहरूका चञ्‍चल आँखाका हेराइले तँलाई नफसाओस्।

26 मानिसले एउटा रोटीको मोल तिरेर वेश्‍याकहाँ जान्‍छ तर व्‍यभिचारीले त्‍यस मानिसको सम्‍पूर्ण जीवनलाई बरबाद पार्दछ।

27 के तैँले लुगा नडढाईकन आफ्‍नो छातीमा आगो बोक्‍न सक्‍छस्?

28 आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्‍न सक्‍छस्?

29 अर्काकी स्‍वास्‍नीसित सुत्‍नु त्‍यस्‍तै खतराको कुरा हो। जसले त्‍यसो गर्छ, त्‍यसले दु:ख भोग्‍नेछ।

30 भोकाएर चोरले खानेकुरा चोरे, त्‍यसलाई कसैले तुच्‍छ ठान्‍दैनन्,

31 तर त्‍यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्‍यसले सात गुणा फर्काउनुपर्छ।

32 तर व्‍यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्‍यसले आफ्‍नै नाश गर्छ।

33 त्‍यसको बेइज्‍जत हुन्‍छ, त्‍यसले कुटाइ खान्‍छ, सधैँभरिको लागि त्‍यसको अपमान हुन्‍छ।

34 लोग्‍नेलाई ईखले भरिएको बेलामा झैँ ज्‍यादा रिस अरू बेलामा उठ्दैन? त्‍यसलाई बदला लिन कुनै कुराले रोक्‍दैन।

35 त्‍यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्‍यसको रिस थामिंदैन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy