हितोपदेश 4 - सरल नेपाली पवित्र बाइबलबुद्धिद्वारा पाइने लाभ 1 ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ। 2 म तिमीहरूलाई जे सिकाउँछु, त्यो उत्तम छ यसकारण त्यसलाई नत्याग। 3 म बालक छँदा आमाको एक्लो छोरो थिएँ। 4 मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्थे, “मेरा कुरा याद राख् र कहिल्यै नभुल्। मैले भनेजस्तो गर् र जीवन पाउनेछस्। 5 बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्! मैले भनेका कुरा नभुल वा नसुनेजस्तो नगर्। 6 बुद्धिलाई नत्याग्, त्यसले तेरो रक्षा गर्नेछ, त्यसलाई प्रेम गर्, त्यसले तँलाई कुशलसाथ राख्नेछ। 7 बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्। 8 बुद्धिलाई प्रेम गर्, त्यसले तँलाई महान् बनाउनेछ। त्यसलाई अँगालो हाल् र त्यसले तँलाई इज्जत दिनेछ। 9 त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।” 10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। 11 मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। 12 तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्नेछैनस्। 13 तैँले जे सिकेको छस्, त्यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्यसलाई राम्ररी जोगाएर राख्। 14 दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्। 15 त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्। 16 दुष्टहरू केही खराबी नगरेसम्म निदाउन सक्दैनन्। कसैको हानि नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्। 17 दुष्ट्याइँ र हिँसा तिनीहरूका निम्ति खाने र पिउने कुरा हुन्। 18 धर्मी हिँडेको बाटो घाम झुल्केजस्तो हो, त्यो पूरा उज्यालो नभएसम्म झन्-झन् चहकिलो हुँदैजाँदछ। 19 दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्। 20 ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। 21 ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। 22 मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। 23 आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। 24 कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। 25 इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। 26 आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। 27 खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society