Online Bible

- Reklamy -

हितोपदेश 31 - सरल नेपाली पवित्र बाइबल


राजालाई सल्‍लाह

1 लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्:

2 “तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ?

3 तेरा सारा बल स्‍त्रीहरूमाथि खर्च नगर्‌, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्।

4 हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्‍न, त्‍यसको तल-तल राख्‍नुहुन्‍न।

5 तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्‍छन् र दु:खीहरूको हकको वास्‍ता गर्दैनन्।

6 मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो।

7 तिनीहरूले पिएर आफ्‍ना गरीबी र दु:ख भुल्‍छन्।

8 “बोल्‍न नसक्‍नेहरूका निम्‍ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्‌।

9 तिनीहरूको पक्षमा बोलिदे र ठीक न्‍याय गर्‌। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्‌।”


योग्‍य स्‍वास्‍नी

10 योग्‍य स्‍वास्‍नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्‍छ!

11 लोग्‍नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्‍ने कहिले गरीब हुँदैन।

12 जीवनभरि उसले लोग्‍नेको भलाइ गर्छे र कहिल्‍यै केही खति गर्दिन।

13 ऊनी र सुती कपडा बनाउन ऊ व्‍यस्‍त रहन्‍छे।

14 व्‍यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्‍याउँछे।

15 आफ्‍नो परिवारको निम्‍ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्‍कनुभन्दा अघि ओछ्यानबाट उठ्छे।

16 उसले जमिन हेरेर किन्‍छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे।

17 ऊ परिश्रमी, बलियो र उद्योगी हुन्‍छे।

18 आफूले बनाएको हरेक चीजको मूल्‍य उसले बुझ्‍छे, राती धेरै बेरसम्‍म उसले काम गर्छे।

19 ऊ आफैंले धागो कात्‍छे र आफ्‍नो कपडा बुन्‍छे।

20 गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्‍छे।

21 हिउँ पर्दा उसले चिन्‍ता गर्दिन किनभने उसका परिवारका सबैको निम्‍ति गरम कपडा हुन्‍छ।

22 उसले पलङ्गको तन्‍ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्‍त्र लाउँछे।

23 उसका लोग्‍नेलाई सहरको एउटा मुख्‍य व्‍यक्ति हुन् भनी सबैले चिन्‍छन्।

24 उसले सुती लुगा र पटुका बनाएर व्‍यापारीहरूलाई बेच्‍छे।

25 ऊसित बल र इज्‍जत छ, भोलिको निम्‍ति उसले चिन्‍ता गर्दिन।

26 उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ।

27 ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे।

28 उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌।

29 लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।”

30 सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे।

31 तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy