Online Bible

- Reklamy -

हितोपदेश 30 - सरल नेपाली पवित्र बाइबल


आगूरका अर्तीका वचनहरू

1 यी याकेका छोरा आगूरका अर्तीका वचनहरू हुन्: “परमेश्‍वर मसँग हुनुहुन्‍न, परमेश्‍वर मसँग हुनुहुन्‍न र म असहाय छु।

2 म मानिस होइनँ, मानिसको जस्‍तो मेरो बुद्धि छैन।

3 मैले बुद्धिका कुरा कहिल्‍यै सिकिनँ, म र परमेश्‍वरबारे केही पनि जान्‍दिनँ।

4 स्‍वर्गमा को पुगेर फर्की आएको छ र? कसले बतासलाई आफ्‍नो मुट्ठीमा समातेको छ र? अथवा, कसले समुद्रलाई लुगाको टुक्रामा बाँधेको छ र? अथवा कसले पृथ्‍वीको साँध-सिमाना तोकिदिएको छ र? त्‍यसो गर्ने को हुन्? के तिमी जान्‍दछौ? तिनका छोरा को हुन्?

5 “परमेश्‍वरले आफ्‍नो हरेक प्रतिज्ञा पूरा गर्नुहुन्‍छ। उहाँको शरण खोज्‍नेहरूको निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ।

6 उहाँले कहिल्‍यै नभनेका कुरा पनि उहाँकै वचन हुन् भनी दाबी गर्छौ भने उहाँले तिमीलाई हप्‍काउनुहुनेछ र झूटो साबित गर्नुहुनेछ।”


अरू उखानहरू

7 हे परमेश्‍वर, मर्नुभन्दा अघि मलाई दुईवटा कुरा दिनुहोस्:

8 छल्‍न र ढाँट्‍नबाट मलाई बचाउनुहोस् र मलाई न त गरीब न त धनी बनाउनुहोस्। मलाई चाहिए जति मात्र भोजन दिनुहोस्।

9 मसित धेरै भए म तपाईंलाई इन्‍कार गरूँला तर म गरीब भए चोर्न लागुँला र मेरो परमेश्‍वरलाई अपमानित तुल्‍याउँला।

10 मालिकको अघि नोकरको निन्‍दा कहिल्‍यै नगर्‌, नत्रता त्‍यसले तँलाई धिकार्ला र तैँले कष्‍ट भोग्‍नुपर्ला।

11 बुबालाई सराप्‍ने र आमालाई गुण नमान्‍ने एक थरीका मानिसहरू पनि हुन्‍छन्।

12 अर्को थरीका मानिसहरू असाध्‍य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्‍छन्।

13 अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्‍झन्‍छन्।

14 अरू एक थरीका मानिसहरूले गरीब-दु:खीहरूबाट अनुचित र निष्‍ठुर लाभ उठाउँछन् र त्‍यसरी आफ्‍ना जीविका चलाउँछन्।

15 जुकाका दुई छोरी छन्, दुवैले भन्‍छन्, “देऊ! देऊ!” तीन कुरा छन्‌ जो कहिल्यै सन्तुष्‍ट हुँदैनन्‌, जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्‌,

16 चिहान, बाँझी स्‍त्री, पानीको निम्‍ति तिर्खाएको सुख्‍खा जमिन र आगो।

17 आफ्‍ना बुबाको गिल्‍ला गर्ने र आफ्‍नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्‍यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्।

18 चार वटा थोक छन्, जसका भेद म बुझ्‍न सक्‍दिनँ;

19 आकाशमा चिलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल र स्‍त्रीसँग पुरुषको चाल।

20 अविश्‍वासयोग्‍य स्‍वास्‍नीको चाल यस्‍तो हुन्‍छ; त्‍यसले व्‍यभिचार गरेपछि नुहाउँछे र भन्‍छे, “मैले केही खराबी गरेकी छैनँ!”

21 चार वटा थोक छन्, जसलाई संसारले सहन सक्‍दैन;

22 कमारा राजा भएको, मूर्खले पेटभरि खान पाएको,

23 प्रेम नपाउने स्‍त्रीले विवाह गरेकी र आफ्‍नी मालिकनीलाई पन्‍साएर आफू मालिकनी भई बसेकी कमारी।

24 पृथ्‍वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्:

25 कमिला; शक्तिहीन प्राणी तर ग्रीष्‍मकालमा तिनीहरूले आफ्‍ना खानेकुरा भण्‍डारमा बटुल्‍छन्,

26 पहराको न्‍याउरीमूसो; कमजोर जन्‍तु तर तिनीहरूले आफ्‍नो घर पहरामा बनाउँदछन्,

27 सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्।

28 छेपारो; त्‍यसलाई हातमा पक्रन सकिन्‍छ तर तिनीहरू राजमहलमा पनि पाइन्‍छन्।

29 चार वटा प्राणी छन्, जुनहरू हिँड्दा मनमा प्रभाव पार्दछन्:

30 सिंह, जो पशुहरूमा सबैभन्दा बलियो छ र कोहीसित डराउँदैन,

31 बोको, रवाफसित हिँड्‍ने भाले र प्रजाका सामुन्‍नेमा राजा।

32 यदि तँ हठी र मूर्ख भएको छस् र दुष्‍ट्याइँ गर्ने युक्ति गर्दै छस् भने चुप लागेर बस् र सोच्!

33 दूध मथेर नौनी पाइन्‍छ, नाकमा हिर्काए रगत निस्‍कन्‍छ, रिस उठाए झगडा पर्दछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy