Online Bible

- Reklamy -

हितोपदेश 29 - सरल नेपाली पवित्र बाइबल

1 जति सुध्रिने अर्ती पाउँछौ, उति अटेरी बन्‍यौ भने एक दिन तिम्रो विनाश हुनेछ तर त्‍यसबाट कहिल्‍यै बँच्‍नेछैनौ।

2 शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्।

3 बुद्धिलाई प्रेम गर्ने छोराले आफ्‍नो बुबालाई खुसी पार्दछ। वेश्‍याको साथ लाग्‍नेले धन उडाउँछ।

4 राजाले न्‍यायको चासो लिन्‍छन् भने देश बलियो बन्‍दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्‍छन् भने देशको नाश गराउँछन्।

5 आफ्‍ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्‍नै खुट्टामा पासो ल्‍याउँदछ।

6 दुष्‍टहरू आफ्‍नै पापका जालमा फस्‍दछन्, इमानदार मानिसहरू खुसी र स्‍वतन्‍त्र रहन्‍छन्।

7 धर्मी मानिसले गरीबको हक बुझ्‍दछ तर दुष्‍टहरूले त्‍यस्‍तो कुरा केही बुझ्‍दैनन्।

8 अर्काको खिसी गर्नेले सारा सहरमा हुलदङ्गा मचाउँछ तर बुद्धिमान् मानिसले रिसलाई थमथम्‍याउँछ।

9 बुद्धिमान् मानिसले मूर्खको विरुद्धमा मुद्दा चलायो भने मूर्ख हाँस्‍छ मात्र र अझै बढी अपमान हुन्‍छ।

10 हत्‍याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्।

11 मूर्खले आफ्‍नो रिस प्रकट गर्दछ तर समझदार मानिसले धैर्यसाथ आफ्‍नो रिस रोक्‍दछ।

12 कुनै शासकले झूटो कुरा सुन्‍छ भने तिनका सबै भारदारहरू झूटो बोल्‍ने हुनेछन्।

13 गरीब र त्‍यसमाथि अत्‍याचार गर्ने दुवैमा यो कुरा एकैनासे हुन्‍छ– यी दुवैलाई परमप्रभुले आँखा दिनुभएको हो।

14 गरीबका अधिकारको रक्षा गर्ने राजाले लामो समयसम्‍म राज्‍य गर्नेछन्।

15 सुधारको हप्‍काइ र अनुशासनले केटा-केटीहरूलाई बुद्धि दिन्‍छ। छाडा छोडेको छोराले आफ्‍नी आमालाई लाजमा पार्छ।

16 दुष्‍टहरूका हातमा अधिकार पर्दा अपराध बढ्दछ तर धर्मीहरूले एक दिन तिनीहरूको पतन देख्‍नेछन्।

17 आफ्‍नो छोरालाई अनुशासनमा राख र त्‍यसले तिमीलाई शान्‍ति दिन्‍छ र तिम्रो मनमा आनन्‍द ल्‍याउँछ।

18 परमेश्‍वरको अगुवाइबिनाको जाति व्‍यवस्‍थाबिनाको जाति हो तर परमेश्‍वरको व्‍यवस्‍था पालन गर्ने मानिस सुखी हुन्‍छ!

19 कुराले मात्र नोकर सुधारिंदैन, त्‍यसले तिम्रो कुरा त बुझ्‍छ तर त्‍यसमा ध्‍यान दिँदैन।

20 नसोची बोल्‍नेलाई भन्दा त निकम्‍मा मूर्खलाई धेरै आशा हुन्‍छ।

21 नोकरलाई बालककालदेखि नै त्‍यसले मागेका हरेक थोक दिने गर्‍यौ भने कुनै दिन त्‍यसले तिम्रो सबै थोक लिनेछ।

22 छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्‍याउँदछ र धेरै पाप गर्दछ।

23 अहङ्कारले मानिसलाई पतन गराउँछ तर नम्र मानिसले इज्‍जत पाउँदछ।

24 चोरको साझेदार हुने आफ्‍नै ठूलो शत्रु हुन्‍छ। त्‍यसले अदालतमा साँचो भन्‍यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्‍वरको सराप पाउँदछ।

25 आफूमाथि अरूको कस्‍तो विचार छ, त्‍यसमा ध्‍यान दिइरहनु खतराजनक छ तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।

26 सबैले शासकको निगाह पाउन चाहन्‍छन् तर परमप्रमुले मात्र न्‍याय दिलाउनुहुन्‍छ।

27 धर्मीले दुष्‍टलाई घृणा गर्दछ। अनि दुष्‍टले धर्मीलाई घृणा गर्दछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy