Online Bible

- Reklamy -

हितोपदेश 27 - सरल नेपाली पवित्र बाइबल

1 भोलिको घमण्‍ड कहिल्‍यै नगर्नू, आज र भोलिभित्र के हुन्‍छ, कसैले जान्‍दैन।

2 अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्‍यै तारिफ नगर्नू।

3 ढुङ्गा र बालुवा गह्रौं हुन्‍छ तर मूर्खले ल्‍याएको दु:ख अझै गह्रौं हुन्‍छ।

4 रिस निर्दयी र मृत्‍युजनक हुन्‍छ तर डाहा रिसभन्दा विनाशकारी हुन्‍छ।

5 गुप्‍त प्रेमभन्दा खुल्‍ला हप्‍की असल हो।

6 मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्‍यो भने सावधान हुनू।

7 अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्‍छ।

8 घरबाट टाढा भएको मानिस गुँडबाट बिच्‍केको चराझैँ हो।

9 अत्तर र सुगन्‍ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्‍लाह मित्रताको सुशीलता हो।

10 आफ्‍ना मित्र वा आफ्‍ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो।

11 ए मेरो छोरो, बुद्धिमान् हो र मेरो मन प्रसन्‍न हुनेछ र मेरो निन्‍दा गर्नेलाई मुखभरिको उत्तर दिनेछु।

12 समझदार मानिसहरू, खतरा आउँदैगरेको देखेर जोगिन्‍छन् तर सोच-विचार नगर्ने मानिस त्‍यसमा सोझै जाकिन्‍छ र पछि त्‍यसलाई पछुतो पर्छ।

13 नचिनेको मानिस वा विदेशीको ऋणमा जमानी बस्‍ने मूर्ख मानिसले आफ्‍नो सम्‍पत्ति बन्‍धकी राखिनुपर्छ।

14 मित्रलाई एकाबिहानै उठेर जोडसित कराएर अभिवादन गरेको चाहिँ सरापेको जस्‍तो हो।

15 कचकचे स्‍वास्‍नी वर्षाको तपतपे पानीजस्‍तै हो।

16 त्‍यसको मुख चुप गराउनुचाहिँ बतासलाई थाम्‍नु वा हातले तेल समात्‍न खोज्‍नुजस्‍तै हो।

17 फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ।

18 नेभाराको बोट स्‍याहार्नेले त्‍यसको फल खाँदछ। मालिकको स्‍याहार-सुसार गर्ने चाकर सम्‍मानित हुन्‍छ।

19 पानीमा मानिसले आफ्‍नै अनुहार देख्‍छ, हृदयमा उसले आफ्‍नै चरित्र देख्‍छ।

20 मृत्‍यु-लोक कहिल्‍यै तृप्‍त हुँदैन, मानिसको लालसा पनि कहिल्‍यै तृप्‍त हुँदैन।

21 आगोमा सुन र चाँदीको जाँच गरेझैँ मानिसको सुनामको पनि जाँच हुन सक्‍छ।

22 मूर्खलाई मरुञ्‍जेल कुटेर पनि त्‍यसको मूर्खता निक्‍लेर जाँदैन।

23 आफ्‍ना भेडा र गाई-वस्‍तुको राम्ररी हेरचाह गर

24 किनभने तिम्रो धन-सम्‍पत्ति सधैँभरिको निम्‍ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन।

25 पहिले पराल काट र त्‍यसपछि डाँडामा घाँस काट्दा अर्को बाली पराल फेरि तयार हुँदैगरेको हुन्‍छ,

26 भेडाका ऊनले कपडा बनिन्‍छ र बाख्राहरू बेचेर जग्‍गा-जमिन किन्‍न सकिन्‍छ।

27 तिमी, तिम्रा परिवार र कमारीहरूको निम्‍ति प्रशस्‍त हुने गरी बाँकी रहेका बाख्राको दूध पनि हुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy