हितोपदेश 26 - सरल नेपाली पवित्र बाइबल1 मूर्खलाई सर्काउनुचाहिँ ग्रीष्म ऋतुमा हिँउ वा अन्न बटुल्ने समयमा पानी परेको जस्तै हो। 2 कारणबिना दिएको सरापले केही असर पार्दैन। त्यो सरापचाहिँ बेगले उड्ने गौंथली र भुर्र उड्ने भँगेराझैँ हो। 3 घोडालाई कोर्रा, गधालाई करेली र मूर्खको पिठमा लाठी लाउनुपर्छ। 4 मूर्खलाई त्यसको मूर्ख प्रश्नको जवाफ नदेऊ। त्यसो गर्ने त्यो प्रश्न सोध्नेजस्तै मूर्ख हो। 5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिए आफूले ठानेजस्तो चतुर रहेछु भनी त्यसले सोच्छ। 6 मूर्खको हातमा समाचार पठाउने मानिसले आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु र दु:ख खोज्नु हो। 7 मूर्खले बोलेको उखान लङ्गडोले खुट्टा चालेर हिँड्न खोजेझैँ हो। 8 मूर्खलाई सर्काउनु त घुँयेत्रोमा ढुङ्गा बाँधेर हान्नुजस्तै हो। 9 मूर्खले उखान भन्नु मातेको मानिसले आफ्नो हातमा बिजेको काँडा निकाल्नु खोजेजस्तै हो। 10 मूर्ख वा बटुवालाई ज्यालामा काम दिने मानिसले सबैलाई पिरोल्छ। 11 कुकुरले आफ्नो बान्ता आफैंले खाएझैँ मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ। 12 आफूलाई बुद्धिमान् सम्झने निर्बुद्धि मानिस मूर्खभन्दा अझ महामूर्ख हो। 13 अल्छीले बाटोमा खतरनाक सिंह छ भनी बाहिर निस्कँदैन। 14 कब्जामा ढोका यताउता चलेझैँ अल्छी आफ्नो ओछ्यानमा यताउता पल्टन्छ। 15 अल्छीले आफ्नो गाँस उठाएर मुखमा हाल्न गाह्रो मान्छ। 16 अल्छीले आफैंलाई समझसित जवाफ दिने सात जना मानिसभन्दा बुद्धिमान् सम्झन्छ। 17 अर्काको झगडामा हात हाल्नु बाटोमा गइरहेको कुकुरको कान समात्नुजस्तै हो। 18-19 अर्कालाई धोका दिएर मैले त ठट्टा मात्र पो गरेको थिएँ भन्ने मानिस प्राणघातक हतियार खेलाउने बौलाहाजस्तै हो। 20 दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ। 21 भुङ्ग्रोलाई कोइला, आगोलाई दाउरा र झगडालाई झगडालुले जागो राख्दछ। 22 बेकारका कुराकानी स्वादिलो हुन्छ! मानिसले त्यो खुब रुचाउँछ। 23 छली बोलीले हृदयको दुष्ट विचार ढाक्नु माटाको भाँडामा चाँदीको जलप लाएझैँ हो। 24 कपटी मानिसको चाप्लुसी कुराले आफ्नो मनको छल लुकाउँछ। 25 त्यसले मीठा कुरा गर्छ तर हृदय भने घिनलाग्दो कुराले भरिएको हुन्छ, त्यसलाई विश्वास नगर। 26 त्यसले आफ्नो मनमा अरूलाई हानि गर्ने विचार लुकाउन सक्छ तर त्यसका दुष्ट कामहरू सबैले देख्छन्। 27 अर्कालाई खनेको खाडलमा आफैं जाकिन्छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्छ। 28 झूट बोल्नेले आफ्नो झूटले जसको खति गर्छ, त्यसैलाई घृणा गर्छ। चिल्लो घस्ने मुखले सर्वनाश गराउँछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society