हितोपदेश 23 - सरल नेपाली पवित्र बाइबल६ 1 ठूला मानिससित भोजमा बस्दा तिमी कसको साथमा छौ, त्यो याद राख। 2 खानमा लोभी छौ भने होशियारसित खाओ। 3 तिनले दिएको मीठा भोजनको लोभ नगर। त्यसमा केही छल हुन सक्छ। ७ 4 धनी बन्नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्यसो गर्न छोड। 5 एकछिनमा तिम्रो धन जान सक्छ, चिल उडेझैँ त्यसको पखेटा लाग्न सक्छ। ८ 6 कन्जुस मानिसकहाँ भोज खान नजाओ, त्यसले दिएको मीठो भोजनको लोभ नगर। 7 त्यसले “खाऊ, अझ लेऊ त,” भन्छ तर त्यो भनेको मात्र हो, त्यसको अर्थ त अर्कै हुन्छ। त्यसको जस्तो सोच छ, त्यस्तै त्यो कन्जुस हुन्छ। 8 तिमीले खाएको बान्ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ। ९ 9 मूर्खलाई बुद्धिका कुरा नभन, त्यसले त्यसको कदर गर्न सक्दैन। १० 10 पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच। 11 परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ। ११ 12 तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ। १२ 13 बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्डले तिनीहरू मर्दैनन्। 14 वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ। १३ 15 ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्न हुनेछु। 16 तैँले बुद्धिका कुराहरू गर्दा म गर्व गर्नेछु। १४ 17 पापीहरूको ईर्ष्या नगर तर आफ्नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्नो लक्ष बनाओ। 18 त्यसो भए तिम्रो भविष्य उज्यालो हुनेछ। १५ 19 ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्। 20 जँड्याहा वा घिचुवा मानिससित सम्बन्ध नराख। 21 जँड्याहा र घिचुवा गरीब हुनेछन्। तिमी खाने र सुत्ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्नेछौ। १६ 22 बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान। 23 सत्य, बुद्धि, ज्ञान र समझशक्ति किन, ती किन्ने लायकका बस्तु हुन्; तर तिनलाई नबेच। 24 धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ। 25 आफ्ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्नी आमालाई त्यसमा रमाहट गर्न देऊ। १७ 26 ए छोरो, राम्ररी ध्यान दे, मेरो जीवन तेरो निम्ति नमुना बनोस्। 27 वेश्या र भ्रष्ट स्त्रीहरू प्राणघातक खाडल हुन्। 28 तिनीहरूले डाँकुझैँ ढुकिबस्छन् र धेरै पुरुषहरूलाई भ्रष्ट पार्छन्। १८ 29-30 जँड्याहा र नयाँ मद्य नचाखिनहुने मानिस दु:खी, उदास, सधैँ झगडालु र दोष दिने बानी भएको हुन्छ। त्यसका आँखा राता-राता र शरीरमा टार्न सकिने स-साना चोट लागेका हुन्छन्। 31 कडा रातो मद्यले तिमीलाई नलोभ्याओस्। त्यस्तो मद्य कचौरामा टिलिक्क चम्कने र घाँटीबाट सुलुक्क पेटमा उत्रने खालको हुन्छ तर त्यसको लोभ नगर। 32 भोलिपल्ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्नेछ। 33 आँखाका अघि अचम्म-अचम्मका दृश्यहरू देख्नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ। 34 समुद्रमा छालले तलमाथि हुँदै हुत्याइएको बेला बेसञ्चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्तो लाग्नेछ। 35 तिमी यसो भन्नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्न सक्दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society