Online Bible

- Reklamy -

हितोपदेश 22 - सरल नेपाली पवित्र बाइबल

1 धेरै धन-सम्‍पत्ति र सुनाममध्‍ये एक चुन्‍नुपरे सुनामचाहिँ चुन। इज्‍जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो।

2 धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।

3 समझदार मानिसहरू कष्‍ट आउँदैगरेको देखेर जोगिन्‍छन् तर सोच नगर्ने मानिस त्‍यसमा सोझै जाकिन्‍छ र त्‍यसले पछि पछुताउ गर्छ।

4 परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्‍जत र लामो आयु पाउनेछौ।

5 आफ्‍नो प्राणको माया छ भने दुष्‍टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड।

6 बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्‍यही बाटोमा हिँड्‍नेछन्।

7 गरीबहरू धनीको दास बन्‍दछन्, ऋण लिने ऋण दिनेको दास बन्‍दछ।

8 अन्‍यायको बिउ छर्नेले विनाश बटुल्‍छ र अरूहरूमाथि त्‍यसले गरेको अत्‍याचार बन्‍द हुँदछ।

9 दानी भई दरिद्रसित आफ्‍नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ।

10 अहङ्कारीलाई हटाइदेओ र वादविवाद, झगडा र गाली गराइ हराउनेछ।

11 स्‍वच्‍छ हृदय र कोमल बोली प्रेम गर्ने मानिसले राजाको मित्रता प्राप्‍त गर्दछ।

12 झूटाहरूको बोलीलाई झूटो ठहर्‍याएर परमप्रभुले साँचो वचनको रक्षा गर्नुहुन्‍छ।

13 अल्‍छीले बाटोमा मेरो हत्‍या हुन्‍छ वा मलाई सिंहले मार्छ भनेर घरैमा बसिरहन्‍छ।

14 व्‍यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्‍यहाँ पर्छन्।

15 बाल-बालिकाहरू स्‍वभावले नै मूर्ख र बेहोशियार काम गर्छन् तर पिटाइ दिए कस्‍तो व्‍यवहार हुनुपर्छ, त्‍यो तिनीहरूले सिक्‍नेछन्।

16 धनीलाई कोसेली चढाउने र आफू धनी हुनलाई गरीबलाई सताउने आफैं गरीब हुन्‍छ।


तीस वटा बुद्धिका उखानहरू

17 सुन, बुद्धिमान् मानिसहरूले कस्‍तो भनेका छन्, म तिमीहरूलाई सिकाउनेछु। तिनीहरूका शिक्षा अध्‍ययन गर।

18 ती सम्‍झना गर्दा र मुखस्‍त भन्‍न सक्‍दा तिमीलाई आनन्‍द हुनेछ।

19 म चाहन्‍छु कि तिमीले परमप्रभुमा भरोसा राख। त्‍यसैकारण म ती शिक्षा तिमीलाई दिनेछु।

20 मैले तीस वटा उखानहरू लेखेको छु। तिनमा ज्ञान र असल सल्‍लाहका कुराहरू छन्।

21 तिनले तिमीलाई साँच्‍चै नै सत्‍य के हो, सिकाउनेछन्। तब कसैले ती खोज्‍न पठाए, तिमीले ठीक उत्तर दिन सक्‍नेछौ।


22 सक्‍छौ भन्‍दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ।

23 परमप्रभुले तिनीहरूको मुद्दा बहस गर्नुहुनेछ र तिनीहरूको जीविका लुट्‍नेहरूलाई पनि उहाँले लुट्‍नुहुनेछ।


24 चर्को रिस हुने मानिससित मित्रता नगर।

25 तिम्रो पनि त्‍यस्‍तै आदत होला र आफैंलाई पासोमा पारौला।


26 अर्काको ऋणमा जमानी नबस।

27 तिमीले त्‍यो ऋण तिरिदिन सकेनौ भने तिम्रो सुत्‍ने ओछ्यानसमेत उठाई लगिनेछ।


28 तिम्रा पुर्खाले राखेका पुरानो साँध-सिमाना नहटाओ।


29 मलाई एउटा असल कर्मचारी देखाइदेओ र म तिमीलाई साधारण मानिसहरूभन्दा असल राजाहरूका सेवा गर्ने लायक मानिस देखाइदिनेछु।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy