Online Bible

- Reklamy -

हितोपदेश 21 - सरल नेपाली पवित्र बाइबल

1 राजाको मन परमप्रभुको हातमा हुन्‍छ र त्‍यसलाई कुलोको पानीझैँ जता मन लाग्‍छ, उतै उहाँले फर्काउनुहुन्‍छ।

2 मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ।

3 जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ।

4 दुष्‍ट मानिसहरू आफ्‍ना घमण्‍ड र अहङ्कारका अधीनमा चल्‍दछन्, जुनचाहिँ पाप हो।

5 होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ।

6 बेइमानसित कमाएको धन उडिजाने बाफ र प्राणघातक पासो हो।

7 दुष्‍टहरू आफ्‍नै हिँसामा नाश हुन्‍छन्। ठीक कुरा गर्न तिनीहरू मान्‍दैनन्।

8 अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्‍दछ।

9 कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त घरको कौसीमा एक्‍लै बस्‍नु असल हो।

10 दुष्‍टहरू सधैँ दुष्‍ट्याइँ गर्न तयार रहन्‍छन्, तिनीहरूले कसैमाथि दया गर्दैनन्।

11 अहङ्कारीले दण्‍ड पाउँदा सिधासाधाले पनि शिक्षा पाउँछ। बुद्धिमान्‌ले पाएको शिक्षाबाट ज्ञान बढाउँछ।

12 धर्मी परमेश्‍वरले दुष्‍टहरूका घरमा के-के हुँदै छ, जान्‍नुहुन्‍छ र तिनीहरूको विनाश गराउनुहुन्‍छ।

13 कसैले दरिद्रको पुकार सुनेन भने त्‍यसले सहायताको निम्‍ति पुकार गर्दा पनि कसैले सुन्‍नेछैन।

14 कोही रिसाएको छ भने सुटुक्‍क दिएको दानले त्‍यसको रिस मारिदिन्‍छ।

15 ठीक न्‍याय हुँदा, धर्मी मानिसहरू रमाउँछन् तर दुष्‍टहरू निराश हुन्‍छन्।

16 समझअनुसार नचल्‍ने मृत्‍युको मुखमा पुग्‍दछ।

17 सुख-विलास, मीठो भोजन र मद्यपानमा जीवन व्‍यतित गर्नेहरू गरीब बन्‍नेछन्।

18 दुष्‍टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्‍याउँदछ।

19 कचकचे र दोष दिइरहने स्‍त्रीसित बास गर्नुभन्दा त मरुभूमिमा गई बास गर्नु असल हो।

20 बुद्धिमान् मानिसको घर धन-सम्‍पत्ति र तेलले भरिएको हुन्‍छ तर मूर्खले ती सबै उडाउँछ।

21 दयालु र इमानदार मानिसको लामो आयु हुन्‍छ, उसलाई अरू मानिसहरूले आदर र न्‍यायको व्‍यवहार गर्छन्।

22 चतुर सेनापतिले शक्तिशाली मानिसहरूले भरिएको सहर सजिलै लिन सक्‍छ र सहरका पर्खाल भताभुङ्ग पारिदिन्‍छ।

23 कष्‍टमा पर्नु छैन भने आफ्‍नो मुख सम्‍हाली राख।

24 अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्‍डी र अविवेकी मानिस देखाउनेछु।

25 मिहेनेत गर्न इच्‍छा नगर्ने अल्‍छीले आफैंलाई मार्छ।

26 आफूले चाहेका थोकबारे त्‍यसले सोचै मात्र गरिबस्‍छ। तर धर्मीले मुट्ठी खोलेर दिन्‍छ।

27 दुष्‍ट मानिसले चढाएको बलिदान परमप्रभुले घृणा गर्नुहुन्‍छ; दुष्‍ट मतलबले चढाएको बलिदान त झन् घिनलाग्‍दो मान्‍नुहुन्‍छ।

28 झूटो बोल्‍नेको गवाही कसैले पत्‍याउँदैन तर सोचेर बोल्‍नेको वचन सबैले पत्‍याउँछन्।

29 धर्मी मानिसहरू आफ्‍ना चालमा सोझा हुन्‍छन् तर दुष्‍टहरूले औधी बहाना गर्छन्।

30 परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्‍तर्दृष्‍टि र योजनाको केही काम लाग्‍दैनन्।

31 लडाइँको निम्‍ति घोडाहरू तयार पार्न सक्‍छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy