हितोपदेश 20 - सरल नेपाली पवित्र बाइबल1 धेरै मद्य पिउनेले होहल्ला गर्छ र मूर्खता देखाउँछ। मताहा हुनु मूर्खता हो। 2 रिसाएका राजासित गर्जंदैगरेको सिंहसित झैँ डर मान, तिनलाई रिस उठाउनु आफ्नो ज्यान गुमाउनु हो। 3 कुनै पनि मूर्खले विवाद सुरु गर्न सक्छ, त्यसबाट अलग्गै रहनु मानवीय कुरा हो। 4 उचित समयमा खेतबारी नजोत्ने अल्छी किसानले बाली बटुल्ने समयमा केही अन्न पाउँदैन। 5 मानिसको सोच-विचार गहिरो इनारको पानीझैँ हो, अन्तर्दृष्टि भएको मानिसले ती निकाल्न सक्छ। 6 सबैले आफूलाई भक्त र विश्वासयोग्य छु भनी बताउँछन् तर साँचो त्यस्तो मानिस कहाँ पाइन्छ र? 7 इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्यका हुन्। 8 न्याय-आसनमा बसेका राजाले देख्ने बित्तिकै दुष्ट्याइँलाई चिन्दछन्। 9 कसले भन्न सक्छ कि मेरो विवेक स्वच्छ छ र मैले पाप गरेको छैनँ? 10 छली ढक, तराजु र नाप प्रयोग गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ। 11 बालकले पनि आफूले गरेको कामबाट आफ्नो स्वभाव देखाउँछ। त्यसरी नै त्यो असल र इमानदार छ कि छैन भनी चिन्न सकिन्छ। 12 परमप्रभुले हामीलाई हेर्ने आँखा र सुन्ने कान दिनुभएको छ। 13 सुतेर समय बिताउने दरिद्र हुन्छ। परिश्रम गर र भरपेट खान पाउनेछौ। 14 ग्राहकले सधैँ “महङ्गो भयो” भनी भन्छ तर केही पर पुगेर आफूले भाउ कसेकोमा धाक लाउँछ। 15 आफूले गरेको कुरा बुझ्ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्य वस्तु छ। 16 नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ। 17 बेइमानीसित कमाएको धन पहिले त स्वादिलो भोजनजस्तो मीठो हुन्छ तर पछि त्यो मुखमा बालुवासरह हुन्छ। 18 असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्लाह नलिई युद्ध गर्न नजाओ। 19 बेकम्मा कुरा गर्नेले गुप्त कुरा लुकाइराख्न सक्दैन। कुराउटे मानिसहरूबाट टाढा बस। 20 आफ्ना आमा-बुबालाई सरापे अँध्यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ। 21 जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्छ। 22 खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्यो उहाँले ठीक गर्नुहुनेछ। 23 छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्छ। 24 परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्नो जीवन कुन दिशातिर जाँदै छ, त्यो कसले जान्न सक्छ? 25 परमेश्वरलाई केही भेटी दिने प्रतिज्ञा गर्नुअघि राम्ररी विचार गर, नत्र पछिबाट पछुताउ गर्नुपर्ला। 26 बुद्धिमान् राजाले दुष्टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्ड दिन्छन्। 27 परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्न सक्दैनौं। 28 इमान, धर्म र न्यायले शासन गरे राजाको सिंहासन थामिन्छ। 29 मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्। 30 कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्नो चाल फेर्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society