Online Bible

- Reklamy -

हितोपदेश 2 - सरल नेपाली पवित्र बाइबल


बुद्धिका इनामहरू

1 ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्‍यै नबिर्सी।

2 बुद्धिको कुरा सुन् र त्‍यसलाई बुझ्‍ने कोसिस गर्‌।

3 हो, बुद्धि माग् र अन्‍तर्दृष्‍टिको निम्‍ति बिन्‍ती गर्‌।

4 चाँदी वा कुनै गाडधन खोजेझैँ त्‍यसको खोजी गर्‌।

5 त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्।

6 बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्।

7 उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ।

8 उहाँले अरूसित न्‍यायको व्‍यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्‍ना भक्तजनहरूको रेखदेख गर्नुहुन्‍छ।

9 तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्‍यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्‍नेछस् र आफ्‍नो कर्तव्‍य जान्‍नेछस्।

10 तँ बुद्धिमान् बन्‍नेछस् र आफ्‍नो ज्ञानमा आनन्‍द पाउनेछस्।

11 तेरा अन्‍तर्दृष्‍टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्।

12 अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्।

13 त्‍यस्‍ता मानिसहरू धर्मी जीवन त्‍यागी पापको अन्‍धकारमा बास गर्छन्

14 र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्,

15 र भर पर्न नसकिने अविश्‍वासीहरू हुन्‍छन्।

16 चाप्‍लुसी कुराले लोभ्‍याएर तेरो चरित्र नष्‍ट गर्न खोज्‍ने व्‍यभिचारिणी स्‍त्रीको तैंले सामना गर्न सक्‍नेछस्–

17 जुन स्‍त्रीले आफ्‍ना लोग्‍नेसित विश्‍वासघात गर्दछे र आफ्‍नो पवित्र शपथ भुल्‍दछे।

18 तँ त्‍यस स्‍त्रीको घर गइस् भने मृत्‍युमा पुग्‍नेछस्, त्‍यहाँ जानु नै मृत्‍यु-लोकमा जानु हो।

19 त्‍यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्‍यसले जीवनको मार्ग फेरि पहिल्‍याउन सक्‍दैन।

20 यसैकारण तैँले असल मानिसहरूको चालमा चल्‍नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ।

21 धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्।

22 परमेश्‍वरले दुष्‍टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्‍नुहुनेछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy