हितोपदेश 19 - सरल नेपाली पवित्र बाइबल1 धनी भएर झूटो कुरा गर्नुभन्दा बरु गरीब भएर इमानदार रहनु उत्तम हो। 2 ज्ञानबिनाको जोश राम्रो हुन्न, हतार गर्नेले बिराउँछ। 3 मानिसले आफ्नै मूर्खताले आफ्नो विनाश गर्दछ र परमप्रभुलाई दोष लाउँदछ। 4 धनले धेरै नयाँ मित्रहरू बनाउँछ तर गरीबी मानिसले आफ्ना थोरै मित्र पनि गुमाउँछ। 5 अदालतमा झूटो बोल्नेले दण्ड पाउँदछ, त्यसको उम्कने उपाय हुँदैन। 6 सबैले ठूलाहरूको निगाह प्राप्त गर्ने चेष्टा गर्छन् र सबैले उदार हातले दिनेसँग मित्रता राख्न चाहन्छन्। 7 गरीब मानिसका आफ्ना दाजुभाइहरूले पनि वास्ता गर्दैनन् किनकि त्यसको कोही मित्र हुँदैन। त्यसले जति नै चेष्टा गरे पनि एउटै साथी पाउँदैन। 8 ज्ञान प्राप्त गर्नु आफैंलाई प्रेम गर्नु हो र पाएको ज्ञान नभुल र तिम्रो फलिफाप हुनेछ। 9 अदालतमा झूटो बोल्ने दण्डबाट उम्कन सक्दैन, त्यो नष्ट हुन्छ। 10 मूर्खलाई ऐश-आराममा जिउन सुहाउँदैन, कमाराले उच्च मानिसहरूमाथि शासन गर्न सुहाँउँदैन। 11 समझदार मानिसले आफ्नो रिस थाम्दछ, कसैले आफ्नो हानि गरे, त्यसको दोषको वास्ता नगर्नु ठूलो गुण हो। 12 राजाको रिस सिंह गर्जेजस्तो हो तर उनको कृपा घाँसमाथि परेको शीतजस्तो हो। 13 मूर्ख छोराले आफ्ना बुबाको नाश गर्दछ, कचकचे स्वास्नी तपतपे पानीजस्तै हो। 14 मानिसले घर-बारी र धन-सम्पत्ति बुबा-बराजुबाट पाउन सक्छ तर परमप्रभुले मात्र उसलाई बुद्धिमानी स्वास्नी दिन सक्नुहुन्छ। 15 अल्छी हुने भए होओ; सुत्छौ भने सुत तर तिमी भोकै बस्नुपर्नेछ। 16 परमेश्वरका आज्ञाहरू पालन गर र तिम्रो लामो आयु हुनेछ तर तिनको तिरस्कार गरे मर्नेछौ। 17 गरीबलाई दिनु परमप्रभुलाई दिनुजस्तै हो, उहाँले त्यसको प्रतिफल दिनुहुन्छ। 18 साना छँदै बालकहरूलाई अनुशासन सिकाओ, नत्रता तिनीहरूलाई नाश हुन सघाएको जस्तै हुनेछौ। 19 ज्यादा रिस भएको मानिसले त्यसको फल भोग्नुपर्छ, त्यसलाई एक चोटी जोगायौ भने घरीघरी जोगाउनुपर्नेछ। 20 सल्लाह सुन्ने र शिक्षा लिने व्यक्ति एक न एक दिन बुद्धिमान् बन्नेछ। 21 मानिसले “यसो गरूँला, त्यसो गरूँला” भन्दै सबै प्रकारको युक्ति गर्ला तर परमप्रभुको उद्देश्य नै पूरा हुनेछ। 22 लोभी हुनु बेइज्जतको कुरा हो, झूटो बोल्नेभन्दा गरीब मानिस असल हो। 23 परमप्रभुको आज्ञापालन गर, तिम्रो आयु लामो हुनेछ र तिमी सुखी र हानिबाट सुरक्षित हुनेछौ। 24 कोही मानिस यति अल्छी हुन्छ कि त्यसलाई आफ्नो गाँस उठाई मुखमा हाल्न गाह्रो हुन्छ। 25 खिल्ली उडाउनेलाई कोर्रा लगाउनू र निर्बुद्धि मानिसले बुद्धि सिक्नेछ। विवेकशील मानिसलाई हप्काउनु र त्यसले आफ्नो ज्ञान बढाउनेछ। 26 लाजमर्दो र अपमानजनक मानिसले मात्र आफ्ना बुबासित कुव्यवहार गर्छ र आफ्नी आमालाई आफ्नो घरबाट निकालिदिन्छ। 27 ए छोरो! तैँले शिक्षा लिन छोडिस् भने जानिसकेका कुरालाई पनि तैँले हेला गर्न थाल्नेछस्। 28 कसैको बिगार गर्न सुरिएको गवाहीले न्याय बिगार्दछ। दुष्टलाई दुष्ट्याइँ स्वादिलो हुन्छ। 29 अहङ्कारी मूर्खले निश्चय नै चुटाइ पाउँछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society