Online Bible

- Reklamy -

हितोपदेश 18 - सरल नेपाली पवित्र बाइबल

1 अरूदेखि अलग्‍गै बस्‍ने मानिसले आफ्‍नै कुरा मात्र सोच्‍दछ, अरूले उचित ठहराएको कुरामा त्‍यो सहमत हुँदैन।

2 आफूले केही बुझ्‍छ वा बुझ्‍दैन, मूर्खलाई त्‍यसको वास्‍ता हुँदैन, त्यसले आफूलाई चतुर देखाउन आतुरी गर्दछ।

3 पाप र लाज सँगसँगै हिँड्दछन्। तिम्रो मान हरायौ भने तिम्रो गिल्‍ला हुनेछ।

4 मानिसको मुखबाट ज्ञानका कुराहरू निस्‍कन सक्‍छ, जुन महासागरझैँ गहिरो र बग्‍दैगरेको खोलोझैँ सफा हुन्‍छ।

5 दोषीको पक्ष लिएर निर्दोषलाई न्‍याय पाउनदेखि रोक्‍नु ठीक होइन।

6 मूर्खले झगडा सुरु गर्नु नै त्‍यसले चुटाइ खोजेको हो।

7 मूर्ख बोल्‍यो भने आफ्‍नै विनाश गर्छ, त्‍यो आफ्‍नै वचनको जालमा फस्‍दछ।

8 व्‍यर्थको कुरा स्‍वादिलो हुन्‍छ; त्‍यो सुन्‍न हामी खुबै रुचाउँछौं।

9 अल्‍छी मानिस विनाशकारी मानिसजस्‍तै दुष्‍ट हो।

10 परमप्रभु एउटा बलियो धरहराजस्‍तै हुनुहुन्‍छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्,

11 तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्‍ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्‍छन्।

12 नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्‍छन्।

13 जवाफ दिनुअघि कुरा सुन्‍ने गर, नत्रता तिमी मूर्ख बन्‍नेछौ र तिम्रो कुराले कसैको अपमान पुर्‍याउनेछ।

14 मानिसको बाँच्‍ने इच्‍छाले उसलाई बिरामी अवस्‍थामा सहारा दिँदछ, तर त्‍यस्‍तो इच्‍छा हराए, उसको बाँच्‍ने आशा पनि हराउँदछ।

15 समझदार मानिसहरू सदा शिक्षा प्राप्‍त गर्न तयार र उत्‍सुक रहन्‍छन्।

16 के ठूला मानिसलाई भेट्‍न चाहन्‍छौ? कोसेली लिएर जाओ र प्रवेश पाउनेछौ।

17 मुद्दामा प्रतिवादीले अघि आएर प्रश्‍न नगरेसम्‍म पहिले बोल्‍नेको कुरा ठीक देखिन्‍छ।

18 वादी र प्रतिवादी दुवै बलिया छन् भने गोला हालेर झगडा मेटाइन्‍छ।

19 भाइलाई सहायता गर र उसले सहरको बलियो किल्‍लाले झैँ तिम्रो रक्षा गर्नेछ तर भाइसित झगडा गरे, उसले तिम्रो लागि ढोका बन्‍द गर्नेछ।

20 मानिसले आफ्‍ना बोलीवचनको फल भोगेर जीवन बिताउनुपर्छ।

21 जीवन वा मृत्‍युको शक्ति बोलीमा हुन्‍छ, जसले बोल्‍न मन पराउँछ, तिमीले आफ्‍नो बोलीअनुसार फल भोग्‍नुपर्दछ।

22 स्‍वास्‍नी पाउनेले असल कुरो पाउँदछ, त्‍यसरी उसले परमप्रभुबाट निगाह पाएको त्‍यसलाई थाहा हुन्‍छ।

23 गरीब बोल्‍दा बिन्‍ती-भाउ गरी बोल्‍छ तर धनीले ठाडो बोली गर्छ।

24 कुनै-कुनै साथी धेरै दिनका हुँदैनन् तर कुनै-कुनै साथीहरू भने दाजुभाइहरूभन्दा विश्‍वासयोग्‍य हुन्‍छन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy