हितोपदेश 17 - सरल नेपाली पवित्र बाइबल1 झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्तिसित सुख्खा रोटी खानु उत्तम हो। 2 मालिकको बेकामे छोरामाथि चतुर चाकरले आफ्नो हक जमाउन सक्छ र त्यसका पैतृक-सम्पत्तिबाट केही हिस्सा पाउन सक्छ। 3 सुन र चाँदीको जाँच आगोद्वारा गरिन्छ र मानिसको मन परमप्रभुले जाँच्नुहुन्छ। 4 दुष्ट मानिसहरूले दुष्ट कुराहरू सुन्छन् र झूटो बोल्नेहरूले झूटो कुरा सुन्न कान ठाडो गर्छन्। 5 गरीबमाथि हाँस्नेले तिनीहरूको सृष्टिकर्ता परमेश्वरको अपमान गर्छ। अरूको दुर्भाग्यमा रमाहट गर्नेले सजायँ पाउँछ। 6 बुढापाकाहरूले आफ्ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्ना बुबा-आमाको गर्व गर्छन्। 7 आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन। 8 घुसले जादूझैँ काम गर्दछ र त्यसबाट सबै काम सफल हुन्छ भनी कति मानिसहरूले सोच्छन्। 9 मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्नाले मित्रता तोडिंदछ। 10 मूर्खबाट सय चोटी चुटाइ खाएर पाएको ज्ञानभन्दा समझदारबाट एकै हप्काइमा लिएको ज्ञान बढी हुन्छ। 11 सधैँ विद्रोह गरिरहने दुष्टहरूको विरुद्ध निर्दयी हाकिम खटाइन्छ। 12 मूर्ख काम गर्न लागेको मूर्खलाई भेट्नुभन्दा त बच्चा खोसिएकी माऊ भालुलाई भेट्नु असल हो। 13 भलाइको सट्टामा खराब गर्ने मानिसको घरबाट खराबीले कहिल्यै ठाउँ छोड्दैन। 14 झगडाको सुरु पानीको बाँध फुटेको जस्तै हो, त्यसलाई बढ्न नदिई बन्द गरिहाल। 15 निर्दोषलाई दण्ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ। 16 मूर्खले विद्यामा धन खर्च गर्नु व्यर्थ छ किनभने त्योसित सामान्य बुद्धि नै हुँदैन। 17 मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्छन्। 18 बेहोशी मानिस मात्र अर्काको ऋणको जमानी बस्दछ। 19 झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्नै खति गर्छ। 20 दुष्ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्छ, त्यसलाई विनाश मात्र छ। 21 मूर्ख छोरोको कामबाट बुबालाई शोक र सन्ताप मात्र हुँदछ। 22 प्रसन्न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्तारै मृत्यु ल्याउँदछ। 23 भ्रष्ट न्यायाधीशले गुप्तमा घुस लिन्छ र न्याय बिगार्दछ। 24 समझदार व्यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्य राख्दछ तर मूर्खले यताउता मन डुलाउँदछ। 25 मूर्ख छोरोले बुबालाई शोक र आमालाई साह्रै पीरमा पार्दछ। 26 निर्दोष मानिसलाई दण्ड दिनु उचित होइन, असल मानिसहरूलाई दण्ड दिनाले न्याय बिग्रँदछ। 27 ज्ञानी मानिस धेरै बोल्दैन, अन्तर्दृष्टि भएको मानिस शान्त भएर बस्छ। 28 आखिरी, मूर्खले पनि शान्त भएर मुख बन्द राखे, त्यो समझदार देखिन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society