Online Bible

- Reklamy -

हितोपदेश 13 - सरल नेपाली पवित्र बाइबल

1 सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्‍यसमा ध्‍यान दिन्‍छ तर अहङ्कारीले कहिल्‍यै आफ्‍नो भुल स्‍वीकार गर्दैन।

2 असल मानिसले आफ्‍नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्‍छन्।

3 आफ्‍नो बोलीको ख्‍याल गर्‌ र प्राण जोगा। जथाभावी बोल्‍नेले आफ्‍नै नाश गर्छ।

4 अल्‍छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्‍यो कहिल्‍यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्‍त गर्नेछ।

5 इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्‍टहरूका वचन लाजलाग्‍दा र बदनामी ल्‍याउने हुन्‍छन्।

6 धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्‍ट्याइँले पापीहरूको पतन गराउँछ।

7 कोही मानिसहरू आफूसित केही नभए पनि धनी छौं भन्‍ने धाक लाउँछन् तर कोहीचाहिँ आफूसित पूरा धनसम्‍पत्ति भए पनि दरिद्र छौं भन्‍ने बहाना गर्छन्।

8 धनी मानिसले आफ्‍नो धन दिएर प्राण बचाउनुपर्छ तर गरीबलाई कसैको डर हुँदैन।

9 धर्मीहरू चम्‍केर बलिरहेको ज्‍योतिजस्‍ता हुन् तर दुष्‍टहरूचाहिँ निभ्‍न लागेको बत्तीझैँ हुन्‌।

10 अहङ्कारले झगडा मात्र ल्‍याउँदछ। सरसल्‍लाह लिनु अति बुद्धिमानी हो।

11 जति सजिलो धन कमाउँछौ, उति चाँडै त्‍यो उडाउँछौ तर जति कष्‍ट गरेर धन कमाउँछौ उति त्‍यो बढाउँछौ।

12 आशा मर्दा मन पनि मर्छ तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

13 असल सल्‍लाह इन्‍कार गर्नेले कष्‍ट पाउँछ तर त्‍यो ग्रहण गर्नेले इनाम पाउँछ।

14 बुद्धिमान्‌ले दिएको अर्ती जीवनको मूल हो, त्‍यसले खतराबाट उम्‍कने बाटो दिँदछ।

15 समझदार व्‍यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्‍छन्।

16 समझदार मानिसहरूले केही काम गर्नुअघि सधैँ सोच्‍ने गर्छन् तर मूर्खहरूले आफ्‍नो मूर्खता प्रचार गर्दछन्।

17 सन्‍देश ल्‍याउने दुष्‍ट दूतले दु:ख ल्‍याउँछ तर भरपर्दो दूतले शान्‍ति ल्‍याउँछ।

18 शिक्षा ग्रहण नगर्नेले दरिद्रता र अपमान कमाउँछ, सुधार ग्रहण गर्नेले आदर पाउँदछ।

19 आफूले चिताएको कुरा प्राप्‍त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्‍ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्।

20 बुद्धिमान्‌को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्‍छ।

21 पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्।

22 असल मानिसहरूले छोरा-नातिनाहरूको निम्‍ति धन-सम्‍पत्ति छोडिराख्‍छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ।

23 बाँझो जमिनले पनि गरीबलाई प्रशस्‍त अन्‍न उमारिदिन सक्‍छ तर अन्‍याय गर्ने मानिसले त्‍यो खोस्‍छ।

24 छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ।

25 धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्‍टहरू भोक-भोकै बस्‍दछन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy