Online Bible

- Reklamy -

हितोपदेश 11 - सरल नेपाली पवित्र बाइबल

1 छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्‍छ।

2 अहङ्कारी मानिसको चाँडै बेइज्‍जत हुन्‍छ, नम्र स्‍वभाव राख्‍नु बुद्धिको कुरा हो।

3 तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्।

4 परमेश्‍वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।

5 धर्मी मानिसको जीवनमा इमानदारीताले सुविधा ल्‍याउँदछ तर दुष्‍टले आफ्‍नै पतन गराउँछ।

6 धार्मिकताले इमानदार व्‍यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्ति आफ्‍नै लोभको पासोमा पर्दछ।

7 दुष्‍ट मर्दा त्‍यसको आशा पनि त्‍यहीसित मरिजाँदछ। धन-सम्‍पत्तिमा भरोसा गर्नु व्‍यर्थ हो।

8 धर्मी मानिस दु:ख-कष्‍टबाट बचाइन्‍छ, त्‍यसको सट्टामा ती कष्‍टहरू दुष्‍टमाथि आइलाग्‍छन्।

9 परमेश्‍वर नमान्‍ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्‍छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्‍छ।

10 इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्‍छन्, दुष्‍ट मर्दा रमाहटको सोर उठ्दछ।

11 धर्मीहरूका आशीर्वादले सहर महान् हुन्‍छ तर दुष्‍टका वचनले त्‍यो भताभुङ्ग हुन्‍छ।

12 अर्काको निन्‍दा गरेर बोल्‍नु मूर्खता हो, ज्ञानी मानिस चुप भई बस्‍छ।

13 व्‍यर्थका कुरा गर्ने मानिसलाई गुप्‍त कुरा भन्‍न सकिंदैन तर विश्‍वासयोग्‍य मानिसमा भरोसा राख्‍न सकिन्‍छ।

14 अगुवाइ नभएकोमा देशको पतन हुन्‍छ; तर धेरै सल्‍लाहकार भए विजय निश्‍चित छ।

15 नचिनेको मानिसको कर्जा तिरिदिने प्रतिज्ञा गरेका छौ भने तिमीलाई पछुतो हुनेछ। त्‍यस्‍तो कुरामा नपर्नु नै तिम्रो निम्‍ति असल हो।

16 शोभापूर्ण स्‍त्रीले आदर पाउँछे, निष्‍ठुर मानिसले धन मात्र पाउँछ।

17 दया गर्ने मानिसले आफ्‍नै कल्‍याण गर्दछ, निष्‍ठुरीले आफ्‍नै हानि गर्दछ।

18 दुष्‍ट मानिसहरूले वास्‍तवमा केही लाभ प्राप्‍त गर्दैनन् तर ठीक काम गर्नेले निश्‍चय फल पाउँछ।

19 जसले भलाइ गर्ने सङ्कल्‍प गर्दछ, त्‍यसले जीवन पाउँछ; तर जसले दुष्‍ट्याइँ गर्न जिद्दी गर्छ, त्‍यो नाश हुन्‍छ।

20 दुष्‍ट मन भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उहाँले निर्दोष चालमा चल्‍नेहरूलाई प्रेम गर्नुहुन्‍छ।

21 यो निश्‍चय छ कि दुष्‍ट मानिसहरूले सजायँ पाउनेछन् तर धर्मीहरूले छुटकारा पाउनेछन्।

22 विवेक नभएकी नारीको सुन्‍दरता सुँगुरको थुतुनोमा सुनको नत्‍थ लाएझैँ हो।

23 धर्मी मानिसहरूले लालसा गरेको कुराले भलाइ नै गर्दछ, तर दुष्‍टले लालसा गरेको कुरा पाए रिस मात्र ल्‍याउँदछ।

24 कोही मानिसहरूले खुल्‍ला मनले पैसा खर्च गर्छन् र पनि अझ धनी नै हुन्‍छन्। अरूहरू सावधानी गर्छन् र पनि अझ गरीब हुन्‍छन्।

25 उदार चित्तको होऊ र तिम्रो फलिफाप हुनेछ, अरूलाई मद्दत गर र तिमीले मद्दत पाउनेछौ।

26 धेरै दाम पाउन अन्‍न थुपारेर राखिछोड्‍नेलाई सबैले सराप्‍छन् तर जसले अन्‍न बिक्री गर्छ, सबैले त्‍यसको तारिफ गर्छन्।

27 तिम्रो लक्ष्‍य असल छ भने तिमीले आदर पाउँछौ तर दुष्‍ट्याइँ गर्न खोज्‍छौ भने त्‍यही कुरा तिमीले पाउनेछौ।

28 आफ्‍ना धन-सम्‍पत्तिमा भर पर्नेहरू शरद् ऋतुमा पात झरेझैँ झर्नेछन् तर धर्मीहरू ग्रीष्‍म ऋतुका पातहरूझैँ मौलाउनेछन्।

29 परिवारमा अशान्‍ति ल्‍याउने मानिसको हातमा केही रहनेछैन। मूर्खहरू सधैँ बुद्धिमान्‌हरूका चाकर भई जिउँछन्।

30 धार्मिकताको फल जीवन हो र मानिसको जीवन बचाउनेचाहिँ ज्ञानी हो।

31 धर्मी मानिसहरूले यसै पृथ्‍वीमा आफ्‍ना इनाम पाउँछन्। यसर्थ यो निश्‍चय छ कि दुष्‍ट र पापी मानिसहरूले सजायँ पाउनेछन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy