फिलिप्पी 3 - सरल नेपाली पवित्र बाइबलसाँचो धार्मिकता 1 आखिरमा दाजुभाइहरू, प्रभुको आनन्द तिमीहरूमा रहोस्। मैले नै लेखिसकेको कुरा घरीघरी दोहोर्याएर लेख्न झिँजो मान्दिनँ, यसले तिमीहरूलाई राम्रै गर्छ। 2 कुकुरले जस्तै झगडा गर्नेहरू, खराब काम गर्नेहरू र शरीरमा खतना लाउनेहरूबाट जोगिएर बस। 3 साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्वरलाई पवित्र आत्माले पुज्छौं अनि ख्रीष्ट येशूमा हामी घमण्ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्तैनौं। 4 बाहिरी कुरामा भरोसा राख्ने भए म सबैभन्दा बढी भरोसा राख्न सक्नेथिएँ 5 किनभने मलाई त जन्मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्मले नै भन्ने हो भने म बेन्यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्नेहरूमा म फरिसी थिएँ। 6 जोशिलो भएर मैले ख्रीष्टका मण्डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुनेभए म ठीक थिएँ। 7 तर त्यस बेला मैले आफ्नो निम्ति लाभदायक सम्झेका सबै कुरा अब ख्रीष्टको निम्ति त व्यर्थै ठान्छु। 8 यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु 9 र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ। 10 मचाहिँ ख्रीष्टलाई जान्न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्युसम्मै उहाँजस्तै हुन चाहन्छु र 11 हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। निशानातिर दगुर्नु 12 मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्ट येशूले मलाई अघि नै आफ्नो पारिसक्नुभएको छ। 13 दाजुभाइहरू, यो पाइसकेको छु जस्तो त मलाई लाग्दैन तर एउटा कामचाहिँ गर्छु, त्योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। 14 यसकारण स्वर्गको इनाम जित्ने विचारले निशानातिर दगुर्दै छु। परमेश्वरले यसको लागि ख्रीष्ट येशूद्वारा अनन्तको जीवनमा मलाई बोलाउनुभएको हो। 15 हामी आत्मामा पूरा बढेकाहरू जतिले यस्तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्लै विचार छ भने परमेश्वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ। 16 जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। 17 ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्नेहरूलाई नै तिमीहरूले पछ्याओ। 18 मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्दछु, धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु नै भएर हिंड्दछन्। 19 तिनीहरूको अन्त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्दछ। 20 हामीहरू त स्वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनुहुन्छ भनेर हामीले बाटो हेरिरहेका छौं। 21 उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society