Online Bible

- Reklamy -

फिलिप्पी 2 - सरल नेपाली पवित्र बाइबल


ख्रीष्‍टको नम्रता

1 के ख्रीष्‍टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्‍त्‍वना दिएको छ? तिमीहरूले पवित्र आत्‍माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ?

2 त्‍यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्‍ती गर्छु।

3 आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ।

4 आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर।

5 तिमीहरूको व्‍यवहार येशू ख्रीष्‍टको जस्‍तै होस्।

6 उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन।

7 उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो।

8 उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।

9 त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो।

10 यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्।

11 येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनेर सबैले खुल्‍लमखुल्‍ला परमेश्‍वरको सम्‍मान्‌को निम्‍ति घोषणा गर्नेछन्।


संसारमा चम्‍कने उज्‍यालो

12 यसकारण प्‍यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्‍यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्‍न झन् खाँचो छ। तिमीहरूले डरले काम्‍दै आफूले पाएको मुक्तिलाई व्‍यवहारमा लेओ

13 किनभने परमेश्‍वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्‍य पूरा गर्न मन र सामर्थ दिनुहुन्‍छ।

14 कुनै काम गर्दा झर्को नमानी गर।

15 यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्‍वरको निष्‍कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्‍यालो बनाएझैँ तिनीहरूको माझमा चम्‍कनुपर्छ

16 र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्‍तो गर्‍यौ भने मेरो दौड र परिश्रम त्‍यसै खेर गएनछ भनी ख्रीष्‍ट आउँदा मैले घमण्‍ड गर्ने मौका पाउनेछु।

17 तिमीहरूले चढाएको विश्‍वासको बलिदानमा मेरो पनि रगत बलिदान स्‍वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ।

18 त्‍यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्‍न सकूँ।


तिमोथी र इपाफ्रोडिटस

19 प्रभु येशूको इच्‍छा भए आशा छ, म चाँडै तिमोथीलाई तिमीहरूकहाँ पठाउनेछु। र तिमीहरूको खबर पाउँदा मलाई पनि खुसी लाग्‍नेछ।

20 साँचो मनले तिमीहरूको वास्‍ता राख्‍ने तिमोथीबाहेक मसँग अरू कोही छैन।

21 अरू त सबै आफ्‍नै धुनमा मात्रै छन्, येशू ख्रीष्‍टको बारेमा वास्‍ता गर्ने कोही पनि छैनन्।

22 उनले र मैले नै बुबा र छोराझैँ सुसमाचार फैलाउन कसरी काम गरेका थियौं र उनी कस्‍ता मानिस हुन्, तिमीहरूलाई थाहै छ।

23 हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु।

24 प्रभुको इच्‍छा भए, म पनि चाँडै आउने विश्‍वास राखेको छु।

25 मैले हाम्रा भाइ इपाफ्रोडिटसलाई तिमीहरूकहाँ पठाउने आवश्‍यकता देखें। हामी दुवैले सँगै काम गर्‍यौं र सुसमाचार सुनाउने लडाइँमा पनि सँगै लड्यौं। उनी तिमीहरूकै दूत हुन्, जसलाई मेरो सहायताको निम्‍ति तिमीहरूले पठाएका थियौ।

26 तिमीहरू सबैलाई भेट्‍ने उनको पनि ठूलो इच्‍छा छ। तिमीहरूले उनी बिरामी भएको सुन्‍यौ रे भनेर उनले ज्‍यादै फिक्री गरिरहेका छन्।

27 साँच्‍चै उनी सारै बिरामी भएर झण्‍डैले मरेका थिए। तर परमेश्‍वरले उनीमाथि दया गर्नुभयो। उनलाई मात्र होइन मलाई पनि उहाँले दया गर्नुभयो र मैले शोकमाथि शोक बोक्‍नुपरेन।

28 त्‍यसैकारण यही ठूलो उत्सुकता राखेर उनलाई नै तिमीहरूकहाँ पठाउँदै छु। त्‍यसो भए उनलाई देख्‍न पाएर तिमीहरू फेरि खुसी हुनेछौ अनि मेरो मनको दु:ख पनि हल्‍का हुनेछ।

29 प्रभुमा उनलाई भाइजस्‍तो मन खोलेर स्‍वागत गर। यस्‍ता मानिसहरूलाई आदर गर्नैपर्छ।

30 उनले ख्रीष्‍टको कामको लागि झण्‍डै आफ्‍नो प्राणसमेत दिएका थिए। तिमीहरूले मेरो निम्‍ति पूरा गर्न नसकेको सेवा उनले पूरा गरे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy