Online Bible

- Reklamy -

गन्‍ती 8 - सरल नेपाली पवित्र बाइबल


पानस राख्‍ने तरिका

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “हारूनलाई भन् कि त्‍यसले सातवटा पानसहरू सामदानमा राख्‍दा सामदानको अघिल्‍तिर प्रकाश पर्ने गरी राखोस्।”

3 हारूनले त्‍यसै गरेर पानसहरू सामदानको अघिपट्टि राखे।

4 परमप्रभुले मोशालाई देखाउनुभएको नमुनाअनुसार सामदान टुप्‍पोदेखि फेदसम्‍म पिटेको सुनले बनेको थियो।


लेवीहरूका शुद्धीकरण र अर्पण

5 परमप्रभुले मोशालाई भन्‍नुभयो,

6 “लेवीहरूलाई इस्राएलका अरू जातिबाट अलग छुट्ट्याएर

7 यस प्रकारले शुद्ध गर्‌, शुद्धी गराउने पानी तिनीहरूमाथि छर्किंदै र आ-आफ्‍ना शरीरका रौँहरू जम्‍मै खौरेर वस्‍त्र धुन लगा। तब तिनीहरू शुद्ध हुनेछन्।

8 तब तिनीहरूले एउटा साँढे र जैतुनको तेल मुछेको अन्‍नबलिको लागि चाहिने पिठो लिनेछन् र तैँले चाहिँ अर्को साँढे पापबलिको लागि लिनू।

9 तब इस्राएलीहरूलाई भेला गरेर लेवीहरूलाई परमप्रभु बास गर्ने पवित्र पालको अघिल्‍तिर उभिन लगा।

10 तब इस्राएलीहरूले लेवीहरूको टाउकोमा हात राखून्।

11 तब हारूनले ती लेवीहरूलाई इस्राएलीहरूका तर्फबाट मलाई चढाइएका विशेष भेटीका रूपमा चढाउनेछन् र तिनीहरूले मेरो सेवा गर्नेछन्।

12 तब लेवीहरूले ती दुई साँढेका शिरमा आफ्‍ना हात राख्‍नेछन् र लेवीहरूका शुद्धीकरणको विधि पूरा गर्न एउटा साँढेले पापबलि र अर्काले होमबलि चढाउनुपर्नेछ।

13 “हारून र त्‍यसका छोराहरूका अघि उभ्‍याएर लेवीहरूलाई विशेष भेटीका रूपमा मलाई चढा।

14 यस प्रकारले लेवीहरूलाई अरू इस्राएलीहरूदेखि अलग गर्नू र तिनीहरू मेरा हुनेछन्।

15 तैँले लेवीहरूलाई शुद्ध गरेर अर्पण गरिसकेपछि तिनीहरू पवित्र पालमा सेवाकार्य गर्न योग्‍यका हुनेछन्।

16 मैले इस्राएलीहरूका सबै जेठा छोराहरूका सट्टामा तिनीहरूलाई मागेको छु र ती मेरा मात्र जन हुन्।

17 जब मैले मिश्रका सबै जेठा र पहिले जन्‍मेकाहरूलाई मारें, तब हरेक इस्राएली परिवारका जेठा छोरा र पहिले जन्‍मेका पशुहरूलाई आफ्‍ना बनाई अर्पण गराएँ।

18 अहिले म इस्राएलीहरूका सबै जेठा र पहिले जन्‍मनेहरूका सट्टामा लेवीहरूलाई लिँदै छु

19 र तिनीहरूलाई हारून र त्‍यसका छोराहरूका जिम्‍मामा इस्राएलीहरूबाट विशेष भेटीको रूपमा दिनेछु। तिनीहरूले इस्राएलीहरूका निम्‍ति पवित्र पालमा सेवाकार्य गर्नेछन्। पवित्र स्‍थानको नजिकमा आउने इस्राएलीहरूमाथि विनाश नपरोस् भनेर तिनीहरूले इस्राएलीहरूको लागि शुद्धीकरणको कार्य गर्नेछन्।”

20 यसकारण मोशा, हारून र इस्राएलीहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूलाई चढाए।

21 लेवीहरूले आफैंलाई शुद्ध गरे, आफ्‍ना कपडा धोए र हारूनले तिनीहरूलाई विशेष भेटीको रूपमा परमप्रभुकहाँ चढाए। हारूनले तिनीहरूका शुद्धीकरणको विधि पनि पूरा गरे।

22 परमप्रभुले लेवीहरूका बारेमा मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै कुरा पूरा गरे। यसरी लेवीहरू हारून र तिनका छोराहरूका रेखदेखमा पवित्र पालमा सेवाकार्य गर्नलाई योग्‍य भए।

23 परमप्रभुले मोशालाई भन्‍नुभयो,

24 “पच्‍चीस वर्ष पुगेपछि हरेक लेवीले म बास गर्ने पवित्र पालमा सेवा गर्नेछ।

25 पचास वर्ष पुगेपछि त्‍यसले सेवा गर्न छोड्‍नेछ।

26 त्‍यसपछि त्‍यसले आफ्‍नो लेवी सङ्गीहरूलाई पवित्र पालको सेवाकार्य पूरा गर्ने काममा सहायता दिन सक्‍छ तर त्‍यो आफैंले कुनै सेवा गर्न पाउनेछैन। यसरी तैँले लेवीहरूले गर्ने कार्यको व्‍यवस्‍था मिलाउनू।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy