Online Bible

- Reklamy -

गन्‍ती 36 - सरल नेपाली पवित्र बाइबल


विवाहिता स्‍त्रीहरूको पैतृक सम्पत्ति

1 गिलाद कुलका परिवारहरूका मुखियाहरू मोशा र अरू अगुवाहरूकहाँ गए। गिलाद, माकीरका छोरा अनि योसेफका छोरा मनश्‍शेका नाति थिए।

2 ती मुखियाहरूले भने, “परमप्रभुले तपाईंहरूलाई चिट्ठा हालेर इस्राएलीहरूका बीचमा जमिन बन्डा गर्ने आज्ञा गर्नुभएको हो। उहाँले तपाईंहरूलाई हाम्रा नातेदार सलोफादको सम्‍पत्ति तिनका छोरीहरूलाई दिनू भनी आज्ञा गर्नुभएको हो।

3 तर ती केटीहरूले अरू कुलका पुरुषहरूसित विवाह गरे भने तिनीहरूका सम्‍पत्ति त्‍यही कुलको हुनेछ र हाम्रा हिस्‍सामा परेको जम्‍मा सम्‍पत्तिचाहिँ घट्‍नेछ।

4 पुनर्स्‍थापनको वर्षमा जब सबै बिक्री भएका सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फिर्ता दिइन्‍छन्, सलोफादका छोरीहरूका सम्‍पत्ति तिनीहरूले विवाह गरेका कुलका सम्‍पत्तिसित सधैँको निम्‍ति गाभिनेछ। र हाम्रा कुलको सम्‍पत्ति घटेर जानेछ।”

5 यसकारण मोशाले इस्राएलीहरूलाई परमप्रभुबाट यस्‍तो आज्ञा दिएर भने, “मनश्‍शे कुलले भनेको कुरा ठीक हो।

6 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ कि सलोफादका छोरीहरूले जसलाई चाहन्‍छन्, तिनीहरूसित विवाह गर्न सक्‍छन् तर तिनीहरूले आफ्‍नै कुलभित्र नै विवाह गर्नुपर्नेछ।

7 प्रत्‍येक इस्राएलीको सम्‍पत्ति त्‍यसको कुलसितै रहनेछ।

8 कुनै इस्राएली कुलमा सम्‍पत्तिको हकदार हुने स्‍त्रीले त्‍यही कुलको पुरुषसित विवाह गर्नुपर्छ। यसरी आफ्‍ना पुर्ख्‍यौली सम्‍पत्तिमा हरेक इस्राएलीको हक रहनेछ।

9 सम्‍पत्ति एउटा कुलदेखि अर्को कुलमा जानेछैन। हरेक कुलको आफ्‍नो सम्‍पत्तिमाथि अधिकार रहिरहनेछ।”

10-11 यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्‍ना बुबापट्टिका आफन्‍तहरूसित विवाह गरे।

12 तिनीहरूले योसेफको छोरो मनश्‍शेका कुलभित्र नै विवाह गरे। तिनीहरूका सम्‍पत्ति आफ्‍नै बुबाको कुलमा रह्यो।

13 यर्दनपारि यरीहोको सामुन्‍नेपट्टि मोआबको मैदानमा परमप्रभुले आगोद्वारा इस्राएलीहरूलाई दिनुभएका नियम कानुनहरू यी नै हुन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy