Online Bible

- Reklamy -

गन्‍ती 35 - सरल नेपाली पवित्र बाइबल


लेवीको हिस्‍सा

1 यरीहोको सामुन्‍ने यर्दनको पारिपट्टि मोआबका मैदानमा परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई यसो भन्, तिनीहरूले पाएका जमिनका हिस्‍साबाट तिनीहरूले लेवीहरूलाई बस्‍नलाई केही सहरहरू र तिनका छेउछाउका गाई-वस्‍तु चर्ने चउरहरू दिनुपर्छ।

3 ती सहरहरू लेवीहरूका हुनेछन् र त्‍यहाँ तिनीहरू बसोबास गर्नेछन्। ती चउरहरू तिनीहरूका गाई-गोरु र अरू वस्‍तुभाउको निम्‍ति हुनेछन्।

4 ती चउरहरू सहरका पर्खालको बाहिर चारै दिशामा ४५० मिटर टाढासम्‍म फैलिएर गएको हुनुपर्छ।

5 र चारैपट्टि ९०० मिटर क्षेत्रफल भएको चारकुने चोक हुनेछ, जसका बीचमा चाहिँ सहर पर्नेछ।

6 तिमीहरूले लेवीहरूलाई ६ वटा शरणस्‍थलका सहरहरू दिनुपर्छ। त्‍यहाँ ज्‍यानमाराहरूले शरण लिन सक्‍नेछन्। तीबाहेक तिनीहरूलाई अरू बयालीसवटा सहरहरू दिनू।

7 चरनसहितका यी बयालीस सहर मिलाएर तिनीहरूका जम्‍मा अठ्‌चालीस वटा सहरहरू हुनेछन्।

8 हरेक कुलमा लेवीका सहरहरू कतिवटा हुनेछन् त्‍यो सङ्‍ख्‍याचाहिँ त्‍यस कुलको जमिन कति ठूलो वा सानो छ त्‍यहीअनुसार निर्णय गर्नू।”


शरणस्‍थल सहरहरू
( व्‍यवस्‍था १९:१-१३ ; यहोशू २०:१-९ )

9-10 इस्राएलका मानिसहरूलाई यसो भन्‍नू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्‍नेछौ,

11 तिमीहरूले शरण लिने सहरहरू चुन्‍नुपर्छ। त्‍यहाँ अन्‍जानमा हत्‍या गर्ने कुनै मानिस भागेर जान सक्‍नेछ।

12 बदला लिन खोज्‍ने मर्नेको नातेदारबाट त्‍यो ज्‍यानमाराले आफूलाई त्‍यहाँ गई बचाउन सक्‍छ। सर्वसाधारणको अघि जाँचबुझ नभएसम्‍म त्‍यो ज्‍यानमारालाई प्राणदण्‍ड दिनुहुँदैन।

13-14 सहरहरू ६ वटा अर्थात् तीनवटा यर्दनको पूर्वपट्टि र तीनवटा कनान देशभित्र चुन।

15 यी सहरहरू इस्राएलीहरू र तिनका बीचमा स्‍थायी वा अस्‍थायी रूपमा बस्‍ने विदेशीहरूको निम्‍ति शरणस्‍थल हुनेछन्। कसैलाई अन्‍जानमा हत्‍या गर्ने मानिस त्‍यहाँ कुनै ठाउँमा भागेर जान सक्‍छ।

16-18 “तैपनि यदि कुनै मानिसले काठ वा फलामको हतियार वा ढुङ्गाले हानेर कसैलाई मार्‍यो भने त्‍यो ज्‍यानमारा हो र त्‍यसलाई प्राणदण्‍ड दिनुपर्छ।

19 हत्‍यारालाई मार्ने जिम्‍मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्‍यसले जब हत्‍यारालाई भेट्टाउँछ, तब त्‍यसलाई मारोस्।

20 “यदि कुनै मानिसले कसैसँग रिसाएर त्‍यसलाई घचेटेर वा कुनै झटारोले हिर्काएर मार्‍यो

21 वा घुस्‍साले हिर्काएर मार्‍यो भने त्‍यो ज्‍यानमारा हो र त्‍यसलाई प्राणदण्‍ड दिनुपर्छ। हत्‍यारालाई मार्ने जिम्‍मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्‍यसले जब हत्‍यारालाई भेट्टाउँछ, तब त्‍यसलाई मारोस्।

22 “आफूले रिस नगरेको मानिसलाई कसैले अन्‍जानमा घचेटेर वा झटारोले हिर्काएर मार्‍यो भने

23 अथवा नहेरीकन ढुङ्गा हान्‍दा आफूले दुश्‍मनी पनि नगरेको मानिस ढुङ्गाले लागेर मर्‍यो भने

24 त्‍यस्‍तो अवस्‍थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्‍ने नातेदारको पक्षमा होइन।

25 समुदायले त्‍यस किसिमको ज्‍यानमारालाई मर्नेको नातेदारदेखि बचाएर त्‍यही शरण लिने सहरमा चलान गर्नेछ, जहाँ त्‍यो अघि भागेर गएको थियो। त्‍यस बेला जो मुख्‍य पूजाहारी छ, तिनको मृत्‍यु नभएसम्‍म त्‍यो हत्‍यारा त्‍यस सहरमा बस्‍नेछ।

26 यदि त्‍यो ज्‍यानमारा आफू गई बसेका सहरबाट निस्‍किगयो भने

27 मर्नेको नातेदारले त्‍यसलाई भेटेर मार्दा त्‍यो बदलाको कामलाई हत्‍या मानिनेछैन।

28 त्‍यो हत्‍यारा मुख्‍य पूजाहारीको मृत्‍यु नभएसम्‍म शरण लिने सहरमा बस्‍नुपर्छ। त्‍यसपछि त्‍यो आफ्‍नो घर फर्के हुन्‍छ।

29 तिमी र तिम्रा सन्‍तान जहीँ बसोबास गरे पनि यो नियम मान्‍नुपर्नेछ।

30 “हत्‍याको दोष लागेको मानिसलाई दुई वा दुईभन्दा बढ्ता गवाहीहरूका साक्षीमा मात्र दोषी ठहराउन सकिन्‍छ र प्राणदण्‍ड दिन ठीक ठहरिन्‍छ। एउटै गवाहीको साक्षीमा कसैलाई प्राणदण्‍ड दिनुहुँदैन।

31 ज्‍यानमारालाई मार्नैपर्नेछ। पैसा तिरेर त्‍यो आफ्‍नो दण्‍डबाट उम्‍कन पाउनेछैन।

32 कुनै मानिस शरण लिने सहरमा भागेर गएछ भने त्‍यसलाई मुख्‍य पूजाहारीको मृत्‍युअघि नै घर फर्कनलाई पैसा तिर्न नदिनू।

33 तिमीहरूले यसरी आफू बसेका देशलाई अशुद्ध नपार। हत्‍याले देशलाई अशुद्ध पार्छ। हत्‍याराको मृत्‍युले बाहेक हत्‍या भएको देशलाई शुद्ध गर्ने विधि अर्को छँदैछैन।

34 आफू बास गर्ने देशलाई अशुद्ध नबनाओ किनभने म परमप्रभु हुँ अनि म इस्राएलीहरूका माझमा बास गर्दछु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy