Online Bible

- Reklamy -

गन्‍ती 31 - सरल नेपाली पवित्र बाइबल


मिद्यानीहरूमाथि विजय

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्‍यसको सजायँ तिनीहरूलाई दे। त्‍यसो गरिसकेपछि तेरो मृत्‍यु हुनेछ।”

3 यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्‍यसको लागि तिनीहरूलाई दण्‍ड देओ।

4 हरेक इस्राएल कुलबाट एक-एक हजार पुरुष लडाइँ गर्नलाई पठाओ।”

5 हरेक कुलबाट एक हजार मानिस चुनिए र जम्‍मा बाह्र हजार मानिसहरू लडाइँ गर्न तयार भए।

6 मोशाले तिनीहरूलाई लडाइँ गर्न पूजाहारी एलाजारका छोरा पीनहासको हुकुममा अगाडि पठाए। पीनहासले पवित्र सर-सामानहरू र सङ्केत दिने तुरहीहरूको जिम्‍मा लिए।

7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानीहरूमाथि आक्रमण गरेर तिनका सबै मानिसहरूलाई मारिदिए।

8 तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू– एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे।

9 इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्‍तुभाउमाथि कब्‍जा गरे, तिनीहरूका धन-सम्‍पत्ति लुटे।

10 तिनीहरूका सहर र छाउनीहरू जलाइदिए।

11 तिनीहरूले हात पारेका लुटका सबै माल, कैदी र पशुहरूसमेत लिएर गए

12 अनि तिनलाई मोशा, एलाजार र इस्राएलका सारा जनसमुदायको अघि ल्‍याए। त्‍यस बेला तिनीहरू यरीहो र यर्दनको वरिपरि मोआबका मैदानमा छाउनी हालेर बसेका थिए।


इस्राएली सेना फर्कन्‍छ

13 मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्‍के।

14 लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए।

15 तिनले उनीहरूलाई सोधे, “किन तिमीहरूले सबै स्‍त्रीहरूलाई जिउँदै छोडेका छौ?

16 याद राख, बालामको आदेश मान्‍ने र पोरमा मानिसहरूलाई परमप्रभु विरुद्ध अविश्‍वासी बनाउने स्‍त्रीहरू नै थिए। त्‍यसले गर्दा परमप्रभुका जनहरूका बीचमा विपत्ति आएको थियो।

17 यसकारण हरेक केटालाई र पुरुषसित सहवास गरिसकेकी हरेक स्‍त्रीलाई मार।

18 तर कन्‍ये-केटीहरूलाई आफ्‍नो लागि जिउँदै राख।

19 तिमीहरू जस-जसले मानिस मारेका छौ वा लाश छोएका छौ, सात दिनसम्‍म छाउनीदेखि बाहिर बस्‍नुपर्नेछ। तेस्रो र सातौँ दिन तिमीहरूले आफैंलाई र आफूले कैद गरेका स्‍त्रीहरूलाई चोख्‍याउने काम गर।

20 कपडाका प्रत्‍येक टुक्रा र छाला वा बाख्राका रौँ तथा काठले बनेका हरचीज पनि चोख्‍याउनू।”

21 पूजाहारी एलाजारले लडाइँबाट फर्केका पुरुषहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।

22-23 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसाजस्‍ता नडढ्‍ने प्रत्‍येक चीज आगोमा हालेर चोख्‍याइनुपर्छ। अरू सबै थोक पानीद्वारा चोख्‍याउनुपर्छ।

24 सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगाहरू धुनुपर्छ। तब तिमीहरू विधिअनुसार शुद्ध हुनेछौ र छाउनीभित्र पस्‍ने अनुमति पाउनेछौ।”


लुटेका मालको बाँडफाँड

25 परमप्रभुले मोशालाई भन्‍नुभयो,

26 “तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्‍जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्‍ती गर्नू।

27 ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि।

28 सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्‍यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू।

29 ती सबै परमप्रभुलाई चढाइएको विशेष भेटीका रूपमा पूजाहारी एलाजारलाई दिनू।

30 बाँकी समाजका मानिसहरूलाई दिइएका भागबाट पचास कैदीबाट एक जना लिनू र त्‍यही हिसाबले गाई-गोरु, गधा, भेडा-बाख्राहरूबाट पनि छुट्ट्याईदिनू। ती सबै परमप्रभुले बास गर्ने पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिनू।”

31 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा र एलाजारले गरे।

32-35 सिपाहीहरूले आफैंसित राखेका थोकहरूबाहेक आफ्‍ना अधीनमा लिएका वस्‍तुहरूको सङ्‍ख्‍याको सूची यस प्रकार थियो– ६,७५,००० भेडाबाख्रा, ७२,००० गाई-गोरु, ६१,००० गधा र ३२,००० कन्‍ये-केटीहरू।

36-40 त्‍यसको आधा भाग, जुन सिपाहीहरूका हिस्‍सामा पर्थ्‍यो, त्‍यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्‍ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्‍ये एकसट्ठीवटा र १६,००० कन्‍ये-केटीहरूमध्‍ये बत्तीस जना परमप्रभुको कर थिए।

41 त्‍यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्‍ति विशेष भेटीको रूपमा खन्‍याए।

42-46 सिपाहीहरूको भागमा जति पर्‍यो, त्‍यति नै बाँकी समाजलाई पनि पर्‍यो– ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्‍ये-केटीहरू।

47 तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए।

48 सेनाका अधिकृतहरू मोशाकहाँ गए

49 र यस्‍तो बयान दिए, “हजुर, हामीले आ-आफ्‍ना फौजमा रहेका सिपाहीहरूको गन्‍ती लियौं अनि तीमध्‍ये एक जना पनि हराएको छैन।

50 हामीले लिएका सुनका गहनाहरू, बाजु, बाला-औँठी, कानका कुण्‍डल र मालाहरू यहीँ लिइआएका छौं। यी परमप्रभुलाई हाम्रा प्राणको मोल स्‍वरूप टक्र्याउँदछौं र उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।”

51 मोशा र एलाजारले ती सुन लिए। ती सबै सुनका गरगहना थिए।

52 अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो।

53 जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे।

54 यसरी मोशा र एलाजारले सुनचाहिँ पवित्र पालमा लगे। परमप्रभुले इस्राएलीहरूको रक्षा गरून् भनेर तिनीहरूले सुन त्‍यहाँ पुर्‍याएका थिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy