Online Bible

- Reklamy -

गन्‍ती 30 - सरल नेपाली पवित्र बाइबल


भाकलका नियमहरू

1 मोशाले इस्राएल कुलका अगुवाहरूलाई यी तलका आदेशहरू दिए।

2 जब कुनै मानिसले परमप्रभुलाई केही कुरा चढाउने भाकल गर्छ वा आफूले केही कुरा छोड्‍ने शपथ खान्‍छ, उसले आफ्‍नो प्रतिज्ञा भङ्ग गर्नुहुँदैन। तर जे आफूले गर्छु भनेको छ, त्‍यो पूरा गर्नुपर्छ।

3 जब आफ्‍नो बुबाको घरमा बसिरहेकी कुनै युवतीले परमप्रभुलाई केही चढाउने प्रतिज्ञा गर्छे वा आफूलाई कुनै कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गर्छे,

4 उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको बुबाले त्‍यो कुरा सुनेर आपत्ति गर्‍यो भने उसले त्‍यो पूरा नगरे हुन्‍छ।

5 बुबाचाहिँले छोरीको भाकल सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसका बुबाले उसलाई रोकेको हो।

6 यदि कुनै अविवाहिता स्‍त्रीले सम्‍झी-बुझी वा त बेहोशीमा कुनै भाकल गर्छे वा आफैंलाई केही कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गरेपछि विवाह गरी भने

7 उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको लोग्‍नेले त्‍यो थाहा पाएर त्‍यसमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा नगरे हुन्‍छ।

8 लोग्‍नेचाहिँले उसको भाकल सुनेर आपत्ति जनायो भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ।

9 विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीले गरेको भाकल वा कुनै कुराबाट अलग रहने प्रतिज्ञा पूरा गर्नुपर्नेछ।

10 यदि कुनै विवाहिता स्‍त्रीले कुनै भाकल वा केही कुरादेखि आफूलाई अलग राख्‍ने प्रतिज्ञा गर्छे

11 र उसका लोग्‍नेले त्‍यो सुनेर बाधा दिएन भने उसले त्‍यो कुरा पूरा गर्नुपर्नेछ।

12 तर उसको लोग्‍नेले त्‍यो कुरा सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसको लोग्‍नेले उसलाई भाकल पूरा गर्न नदिएको हो।

13 उसले गरेका भाकल वा प्रतिज्ञालाई मन्‍जुर गर्ने वा खारेज गर्ने हक उसको लोग्‍नेको हो।

14 तर आफूले चाल पाएकै दिनमा लोग्‍नेले त्‍यस भाकललाई बाधा दिएन भने त्‍यस स्‍त्रीले आफ्‍नो भाकल पूरा गर्नुपर्नेछ। त्‍यो थाहा पाएको दिनमा बाधा नदिएर लोग्‍नेले स्‍वास्‍नीको भाकल वा प्रतिज्ञालाई स्‍वीकार गर्दछ।

15 तर लोग्‍नेले पछिबाट भाकल खारेज गर्दछ भने उसले भाकल पूरा नगरेको दण्‍ड लोग्‍नेले भोग्‍नुपर्नेछ।

16 लोग्‍ने, स्‍वास्‍नी अनि माइती घरमा बसेकी अविवाहिता वा कुनै विवाहिता स्‍त्रीको भाकलको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यी नै हुन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy