गन्ती 25 - सरल नेपाली पवित्र बाइबलपोरमा इस्राएलीहरू 1 जब इस्राएलीहरूले शित्तीमको बेसीमा छाउनी हालेर बसे तब तिनका लोग्नेमानिसहरूले त्यहाँ भएका मोआबी स्त्रीहरूसित सहवास गर्न लागे। 2 ती स्त्रीहरूले इस्राएली पुरुषहरूलाई देवताहरूको पूजामा गरिने बलिदानका भोजमा बोलाउँथे। इस्राएलीहरूले त्यहाँ भोज खान्थे 3 र पोरका बाल-देवतालाई पुज्दथे। यसकारण परमप्रभु तिनीहरूसित रिसाउनुभयो 4 र मोशालाई भन्नुभयो, “इस्राएलका सबै अगुवाहरूलाई लिएर मेरा आज्ञाअनुसार दिउँसो घाममा नै झुन्डाइदे। म ती मानिसहरूसित अब फेरि रिसाउँनेछैनँ।” 5 मोशाले अधिकारीलाई भने, “तिमीहरू प्रत्येकले आ-आफ्ना कुलबाट ज-जसले पोरका बाल-देवतालाई पुज्दछन्, तिनीहरूलाई मार्नू।” 6 मोशा र सारा इस्राएली समाजले देख्दा-देख्दै एउटा इस्राएली मानिसले एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा लग्यो। त्यति बेला तिनीहरू परमप्रभुले बास गर्नुहुने पवित्र पालको ढोकामा विलाप गरिरहेका थिए। 7 एलाजारका छोरा र पूजाहारी हारूनको नाति पीनहासले त्यो देखे र सभाका बीचबाट उठेर गए। तिनले आफ्ना हातमा भाला लिएर 8 त्यो मानिस र आइमाईको पछि पालमा पसे। भालाले हानेर तिनले ती दुईलाई वारपार गरी रोपिदिए। यस प्रकारले इस्राएलमा चलिरहेको विनाश पार्ने विपत्ति थामियो। 9 तर त्यतिञ्जेल विपत्तिले चौबीस हजार मानिसहरूलाई मारिसकेको थियो। 10 परमप्रभुले मोशालाई भन्नुभयो, 11 “पीनहासले जुन काम गर्यो, त्यसको कारणले म इस्राएलका मानिसहरूसित अब रिसाएको छैन। मबाहेक अरू कुनै देवताको पूजा भएको त्यसले सहन सकेन। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई ध्वंस गरिनँ। 12 यसकारण पीनहासलाई भन्, म त्योसित सदाकालको निम्ति एउटा करार बाँध्दछु। 13 त्यो र त्यसका सन्तान सदाकालका निम्ति पूजाहारी खटाइएका छन् किनभने कसैले म बराबर हुन खोजेको त्यसले सहन सकेन र त्यसरी मानिसहरूका पापको क्षमा त्यसले ल्यायो।” 14 त्यो मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो। त्यो सालूको छोरो थियो, जो शिमियोनका परिवारको मुखिया थियो। 15 त्यस आइमाईको नाम कोजबी थियो। त्यसका बुबा सूर मिद्यानी कुलहरूका एउटा दलका मुखिया थिए। 16 परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, 17 “मिद्यानीहरूलाई हमला गरेर खतम पार् 18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए र पोरमा छल गरी पूजा-आजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society