गन्ती 24 - सरल नेपाली पवित्र बाइबल1 यस बेलासम्ममा परमेश्वरले इस्राएलका मानिसहरूलाई मैले आशिष् दिएको चाहनुहुन्छ भनी बालामले थाहा पाइसकेका थिए र यसपालि अघिको जस्तो तिनले साइत हेरिबसेनन्। 2 तिनले उजाड-स्थानतिर फर्केर हेरे र त्यहाँ इस्राएलका मानिसहरू कुल-कुलमा बाँडिएर आ-आफ्ना पालमा बसेको देखे। परमेश्वरको आत्माले तिनलाई आफ्नो बशमा लिनुभयो 3 र तिनले यस्तो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ: 4 परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ, जसले भूइँमा झुकेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। 5 इस्राएलका पालहरू सुन्दर छन्– 6 लामा खजुरका लहरहरूजस्ता वा नदीको किनारमा भएका बगैँचाहरूजस्ता, परमप्रभुबाट रोपिएका घ्यूकुमारीहरूजस्ता, पानीको किनारमा उम्रेका देवदारुका बोटहरूजस्ता सुन्दर छन्। 7 त्यहाँ प्रचुर पानी पर्दछ, तिनीहरूले वर्षाको पानी प्रशस्त पाउनेछन्। अनि तिनका बिउहरूले खेतमा प्रचुर मात्रामा पानी पाउनेछन्। तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन् र टाढा-टाढासम्म तिनको राज्य फैलेर जानेछ। 8 परमेश्वरले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याउनुभयो; तिनीहरूको निम्ति उहाँले अर्नाले झैँ लडाइँ गर्नुहुन्छ। तिनीहरूले आफ्ना शत्रुहरूलाई निलिहाल्नेछन्। तिनका हड्डीहरू चकनाचुर पार्नेछन् र तिनीहरूका वाणहरू भाँचिदिनेछन्। 9 त्यो जाति बलियो सिंहजस्तो छ, त्यो सुतेको बेलामा कसैले त्यसलाई उठाउने आँट गर्दैन। जसले इस्राएललाई आशिष् दिन्छ, त्यो आशिष्मय हुनेछ र जसले इस्राएललाई सराप दिन्छ, त्यो आफैं श्रापित हुनेछ।” 10 रिसले मुट्ठी कसेर बालाकले बालामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएँ तर अहिलेसम्म तीनपल्ट तिमीले तिनीहरूलाई सरापको सट्टामा आशिष् दिइसक्यौ। 11 अब घर जाऊ! मैले तिमीलाई इनाम दिने प्रतिज्ञा गरेको थिएँ तर परमप्रभुले नै तिमीलाई त्यो इनाम पाउनदेखि रोक्नुभयो।” 12 बालामले उत्तर दिए, “तपाईंले पठाउनुभएका दूतहरूलाई मैले भनिसकेको थिएँ। 13 कि तपाईंका राजमहलका सारा सुन र चाँदी मलाई दिनुभए तापनि म परमप्रभुको आज्ञा नमानी आफैं केही गर्न सक्दिनँ। म त्यति मात्र भन्दछु, जति परमप्रभुले मलाई भन्न लगाउनुहुन्छ।” बालामका अन्तिम अगमवाणी 14 बालामले बालाकलाई भने, “अब म आफ्ना मानिसहरूकहाँ जाँदैछु तर जानुभन्दा अघि इस्राएलका मानिसहरूले भविष्यमा तपाईंका मानिसहरूलाई के गर्नेछन्, त्यसबारे चेतावनी दिँदछु।” 15 तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ: 16 परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ र सबैभन्दा उच्च परमेश्वरबाट आउने ज्ञान ग्रहण गर्दछ जसले भूइँमा पल्टेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। 17 म भविष्यतिर हेर्दछु र इस्राएल जातिलाई देख्दछु। चम्किलो ताराजस्तो, एउटा राजा त्यस जातिमा उदाउनेछन्। लाम्पुच्छ्रे ताराझैँ इस्राएलबाट तिनी निस्कनेछन्। तिनले मोआबका अगुवाहरूलाई हिर्काउँनेछन् र शेतका सबै मानिसहरूलाई हराउनेछन्। 18 एदोममा तिनले आफ्ना शत्रुहरूमाथि विजय गर्नेछन् र तिनीहरूका देश आफ्नो सम्पत्ति बनाउनेछन् र इस्राएल विजयी बनेर बढि नै रहनेछ। 19 इस्राएल जातिले तिनीहरूलाई पैतालामुनि कुल्चनेछन् र बाँचेकाहरूमध्ये एक-एक गरी सबैलाई नाश पार्नेछन्।” 20 त्यसपछि आफ्नो दर्शनमा बालामले अमालेकीहरूलाई देखे र यो अगमवाणी गरे: “अमालेक सबैभन्दा शक्तिमान् जाति थियो, तर अन्तमा त्यो सदाको लागि नष्ट हुनेछ।” 21 दर्शनमा तिनले केनीहरूलाई देखे र यो अगमवाणी गरे– “तिमीहरूको बस्ने ठाउँ सुरक्षित छ, त्यो अग्लो चट्टानको भीरमाथि चराको गुँडजस्तै सुरक्षित छ। 22 तर तिमी केनीहरू नाश हुनेछौ। जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजानेछ।” 23 तब बालामले यो अगमवाणी गरे– “यी उत्तरमा भेला हुने मानिसहरू को हुन्? 24 हमला गर्नेहरू कित्तीमबाट जहाजमा आउनेछन्, तिनीहरूले अश्शूर र एबेरलाई जित्नेछन्। तर तिनीहरू आफैं पनि सदाकालको निम्ति नाश हुनेछन्।” 25 त्यसपछि बालाम तयार भए र आफ्नो घरतिर लागे अनि बालाक पनि आफ्नो बाटो लागे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society