गन्ती 21 - सरल नेपाली पवित्र बाइबलकनानीहरूमाथि विजय 1 कनानको दक्षिणमा भएको आरादको कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदै छन् भनी सुनेर तिनीहरूमाथि हमला गरे र कतिजनालाई कैद गरे। 2 तब इस्राएलीहरूले परमप्रभुसित यस्तो एउटा भाकल गरे, “यदि तपाईंले यी मानिसहरूमाथि हामीलाई विजय गराइदिनुभयो भने हामी तिनीहरू र तिनका सहरहरू तपाईंलाई बिनाशर्त अर्पण गर्नेछौं र तिनीहरूलाई नाश गर्नेछौं।” 3 परमप्रभुले तिनीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूमाथि विजय गर्न सहायता गर्नुभयो। यसरी इस्राएलीहरूले त्यस ठाउँको नाम होर्मा राखे। काँसाको सर्प 4 तब इस्राएलीहरू होर पर्वतबाट लाल समुद्र पुग्ने बाटो भएर एदोम देशको फेरो मार्दै हिँडे। तर बाटोमा जाँदा तिनीहरू अधीरजी बने 5 र परमेश्वर र मोशाका विरुद्धमा कुरा गर्न लागे। तिनीहरूले भने, “तपाईंले किन हामीलाई मिश्रबाट निकालेर यहाँ उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो? यहाँ खानपान केही छैन। यो खानेकुरासँग अब हामी वाक्क भइसक्यौं!” 6 तब परमप्रभुले इस्राएलीहरूका माझमा विषालु सर्पहरू पठाउनुभयो र धेरै इस्राएलीहरू सर्पले डसेर मरे। 7 मानिसहरूले मोशालाई आएर भने, “हामीले तपाईं र परमप्रभुका विरुद्धमा बोलेर पाप गर्यौं। अब यी सर्पहरू हटाइदिन परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका लागि प्रार्थना गरे। 8 तब परमप्रभुले मोशालाई एउटा काँसाको सर्प बनाएर एउटा खाँबोमा झुण्ड्याउनू भनी भन्नुभयो र जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेरेर निको हुन सक्थ्यो। 9 यसकारण मोशाले एउटा काँसाको सर्प बनाए र खाँबोमा चढाए। जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेर्थ्यो र निको हुन्थ्यो। 10 इस्राएलीहरू अघि बढे र ओबोतमा छाउनी हाले। 11 त्यहाँबाट हिँडेर तिनीहरू मोआब देशको पूर्वको उजाड-स्थानमा पुगे र त्यहाँ तिनीहरूले इये-अबारीम भनिने ठाउँमा छाउनी हाले। 12 त्यसपछि तिनीहरूले जेरेदको बेसीमा छाउनी हाले। 13 त्यहाँबाट फेरि हिँडेर तिनीहरूले अर्नोन नदीको उत्तरतिर, जो एमोरीहरूको देशसम्म फैलिएर गएको उजाड-स्थानभित्र पर्छ, त्यहाँ छाउनी लाएर बसे। अर्नोन नदी मोआबी र एमोरीहरूका बीचका सीमानामा पर्थ्यो। 14 त्यसैकारण परमप्रभुको युद्धको पुस्तकमा यस्तो वर्णन छ: “सूपाका क्षेत्रमा भएको बाहेक सहर, बेसीहरू, अर्नोन नदी 15 अनि बेसीका भिरालो ठाउँ, जो आर सहर र मोआबको सीमानासम्म पुगेको छ।” 16 त्यहाँबाट तिनीहरू बेओर भनिने इनारमा गए। त्यहाँबाट परमप्रभुले मोशालाई भन्नुभयो, “यहाँ मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिनेछु।” 17 त्यति बेला इस्राएलीहरूले यो गीत गाए– “इनारहरू हो! आफ्ना पानी निकाल, हामी गीतले त्यसको स्वागत गर्छौं 18 जुन इनार राजकुमारहरूले खने, मानिसहरूका अगुवाहरूले खने, ती राजदण्ड र अगुवाका लौराले खनेका हुन्।” त्यो उजाड ठाउँदेखि तिनीहरू मत्तानामा गए 19 र त्यहाँबाट नहलीएल, नहलीएलबाट बमोत 20 र बमोतबाट मोआब देशको बेसीमा गए। त्यो बेसी पिसगा फेदीमा उजाड-स्थान देख्ने गरी बसेको थियो। सीहोन र ओग राजाहरूको हार ( व्यवस्था २:२६—३:११ ) 21 तब इस्राएलीहरूले एमोरी राजा सीहोनकहाँ दूतहरू पठाएर यसो भने, 22 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्तु बाटो छोडी यताउति, खेत वा दाखबारीमा पस्नेछैनौं र तपाईंका इनारहरूबाट पानी पिउनेछैनौं। तपाईंको देशबाट बाहिर ननिस्कुन्जेलसम्म हामी मूल-बाटो भएर जानेछौं।” 23 तर सीहोनले आफ्नो देशबाट इस्राएलीहरूलाई जान दिएनन्। तिनले आफ्ना सेना जम्मा गरे र उजाड-स्थानसम्म गएर इस्राएलीहरूमाथि हमला गरे। 24 तर इस्राएलीहरूले धेरै शत्रुलाई युद्धमा मारे र तिनीहरूका देश अर्नोन नदीदेखि उत्तर यब्बोकसम्म कब्जा गरे। यसरी तिनीहरू अम्मोनीहरू भएका ठाउँसम्म पुगे किनभने अम्मोनीहरूको सीमाना बलियो गरी रक्षा गरिएको थियो। 25 यसरी इस्राएलीहरूले सबै एमोरी सहरहरू, हेश्बोन र छेउछाउका सहरहरूसमेत, आफ्नो कब्जामा लिए र त्यहाँ बसोबास गर्न लागे। 26 एमोरी राजा सीहोनको राजधानी हेश्बोनमा थियो। सीहोनले अघिका मोआबी राजासित लडाइँ गरेका थिए र तिनका सारा देश अर्नोन नदीसम्म आफ्ना अधीन गरेका थिए। 27 त्यसैकारण कविहरूले यसरी गाउँदथे: “राजा सीहोनको सहर हेश्बोनमा आओ, त्यो फेरि बनेर स्थापित भएको हामी हेर्न चाहन्छौं। 28 कुनै समयमा यो हेश्बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्लो अर्नोनका डाँडाहरू ध्वंस पारे। 29 यो तिमीहरूको निम्ति कति डरलाग्दो कुरा हो! हे मोआबका बासिन्दाहरू हो! तिमी, कमोशका भक्तहरू नष्ट भएका छौ! तिम्रा देवताले तिम्रा पुरुषहरूलाई शरणार्थी हुन लाए र स्त्रीहरू एमोरी राजाका कैदी भए। 30 तर अब तिनका सन्तान नाश भएका छन्, हेश्बोनदेखि दीबोनसम्म, नाशीमदेखि मेदबाका छेउको नोपासम्म तिनीहरू नाश भएका छन्।” 31 यसरी इस्राएलका जनहरू एमोरीहरूका देशमा बास गर्न लागे 32 अनि मोशाले याजेरमाथि हमला गर्ने सबैभन्दा असल उपाय बुझ्न आफ्ना मानिसहरू पठाए। इस्राएलीहरूले त्यो सहर र त्यसका चारैतिरका सहरहरू कब्जा गरे र त्यहाँ बस्ने एमोरीहरूलाई धपाइपठाए। 33 त्यसपछि इस्राएलीहरूले घुमेर बाशान जाने बाटो समाते। बाशानको राजा ओग सेना लिएर तिनीहरूलाई एद्रेईमा हमला गर्न निस्के। 34 परमप्रभुले मोशालाई भन्नुभयो, “त्योसित नडरा। त्यो, त्यसका सारा प्रजा र देशमाथि म तँलाई विजय दिनेछु। हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई जसो गरेको थिइस्, त्यसलाई पनि त्यसै गर्।” 35 यसकारण इस्राएलीहरूले ओग, त्यसका छोराहरू र सारा प्रजालाई मारे। तिनीहरूको कोही बाँकी रहेन र त्यसको देशमा तिनीहरूले अधिकार गरे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society