Online Bible

- Reklamy -

गन्‍ती 18 - सरल नेपाली पवित्र बाइबल


पूजाहारी र लेवीहरूका कामहरू

1 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “म बास गर्ने पवित्र पालको सेवाकार्यमा भएका दोषको फल तैँले, तेरा छोराहरूले र लेवीहरूले भोग्‍नुपर्नेछ। तर पूजाहारी कर्मको फलचाहिँ तँ र तेरा छोराहरूले मात्र भोग्‍नेछन्।

2 तँ र तेरा छोराहरूको पवित्र पालमा सेवा गरेको बेलामा तिमीहरूलाई मद्दत गर्न र तिमीहरूसँग काम गर्नको निम्‍ति आफ्‍ना नातेदार, लेवी कुललाई लिएर आइज।

3 तिनीहरूले तँप्रति आफ्‍ना कर्तव्‍य र पवित्र पालप्रति आफ्‍ना जिम्‍मेवारी पूरा गर्नेछन् तर पवित्रस्‍थानमा भएका पवित्र वस्‍तुहरू वा वेदीसित तिनीहरूको केही सम्‍पर्क रहनेछैन। नत्र तँ र तिनीहरू सबै मर्नुपर्छ।

4 तिनीहरूले तँसित काम गर्नेछन् र पवित्र पालको सेवाका कार्यभार पूरा गर्नेछन् तर कुनै अयोग्‍य व्‍यक्तिले तिमीहरूसित काम गर्नुहुँदैन।

5 पवित्र पाल र वेदीका कार्यभार तँ र तेरा छोराहरूले मात्र पूरा गर्नुपर्नेछ र मेरो रिस फेरि इस्राएली जनहरूका विरुद्धमा जाग्‍नेछैन।

6 इस्राएलीहरूका बीचबाट तेरा लेवी नातेदारहरूलाई तेरो निम्‍ति उपहार स्‍वरूप रोज्‍ने म नै हुँ। तिनीहरू मलाई अर्पण गरिएका छन् र तिनीहरूले पवित्र पालमा आफ्‍ना कर्तव्‍य पालन गर्न सक्‍नेछन्।

7 तर वेदी र महापवित्रस्‍थानमा भएका कुराहरूसँग सम्‍बन्‍ध राख्‍ने पूजाहारीका जिम्‍मेवारीहरूचाहिँ तँ र तेरा छोराहरूले मात्र पूरा गर्नुपर्छ। यी कुराहरू तिमीहरूका जिम्‍मामा छन् किनभने मैले नै तिमीहरूलाई पूजाहारी काम गर्ने वरदान दिएको छु। पवित्र वस्‍तुहरूका छेउमा आउने कुनै अयोग्‍य व्‍यक्ति मारिनेछ।”


पूजाहारीको भाग

8 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “यो याद राख् कि मलाई चढाइएका होमबलि नगरिएका विशेष भेटीहरू जति म तँलाई दिँदै छु। म यी तँ र तेरा सन्‍तानलाई दिइएको सदाकालको हिस्‍सा स्‍वरूप तिमीहरूलाई दिँदै छु।

9 वेदीमा नजलाई छोडिएका सबैभन्दा पवित्र भेटीहरूमध्‍ये यी चीजहरू तिम्रा हुन्, अन्‍नबलि, पापबलि र दोषबलिहरू। मलाई पवित्र भेटी भनी चढाइएका वस्‍तुहरू तँ र तेरा छोराहरूका हुनेछन्।

10 ती कुरा तिमीहरूले पवित्रस्‍थानमा खानू, पुरुषहरूले मात्र ती खानू। तिनलाई सबैले पवित्र ठान्‍नू।

11 “त्‍यसमाथि इस्राएलीहरूले मलाई चढाएका अरू कुनै विशेष भेटीहरू तेरै हुन्‍छन्। ती सदाकालको निम्‍ति तँ र तेरा छोरा-छोरीहरूलाई म दिन्‍छु। तेरा परिवारको हरेक सदस्‍य जो विधिअनुसार शुद्ध छ, त्‍यसले ती कुरा खान सक्‍नेछ।

12 “हरेक वर्ष इस्राएलीहरूले जुन पहिला उब्‍जनीका थोकहरू मलाई चढाउँछन्, त्‍यसबाट सबैभन्दा असल जैतुनको तेल, सबैभन्दा असल दाखमद्य र अन्‍न म तिमीहरूलाई दिन्‍छु।

13 ती सबै तेरा हुन्। तेरा परिवारको रीतिअनुसार शुद्ध हरेक सदस्‍यले ती खान सक्‍नेछ।

14 “इस्राएलमा मलाई बिनाशर्त अर्पण गरेको हरचीज तिमीहरूको हुनेछ।

15 “पहिला जन्‍मने हरेक बालक वा पशु, जो इस्राएलीहरूले मलाई चढाउँछन्। त्‍यो तिमीहरूकै होस्। तर प्रत्‍येक पहिला जन्‍मेका बालक वा रीतिअनुसार अशुद्ध पशु मोल लिएर तैँले छुटाउन दिनुपर्नेछ।

16 एक महिना उमेर भएपछि बालकहरूलाई दाम दिएर छुटाउनुपर्छ। तिनीहरूको दाम तोकेको दरअनुसार चाँदीका पाँच टुक्रा हुनेछ।

17 तर गाई, भेडा र बाख्राका पहिले जन्‍मेका बाछा वा पाठा त्‍यसरी मोल तिरेर छुट्ट्याउनुपर्दैन। ती पूर्णरूपले मेरा हुन् र बलि चढाउनुपर्छ। तिनीहरूका रगत वेदीमा छर्कनू र बोसो दाजुभाइका रूपमा चढाएर जलाउनू। त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

18 तिनका मासु तिमीहरूकै होस्। त्‍यसरी नै विशेष भेटीका ह्याकुला र पछिल्‍ला दाहिने साँप्रा तिमीहरूका हुन्।

19 “इस्राएलीहरूले मलाई चढाउने सबै विशेष भेटीहरू म तँलाई र तेरा छोरा-छोरीहरूलाई सदाकालको निम्‍ति दिँदछु। यो तँ र तेरा सन्‍तानसँग मैले बाँधेको अटुट करार हो।”

20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “कुनै पनि सम्‍पत्ति तैँले अंश-बन्डा गरी पाउनेछैनस्। इस्राएलको जमिनको कुनै भाग तैँले पाउनेछैनस्। इस्राएलीहरूको बीचमा म नै तेरो हिस्‍सा र अंश हुँ।”


लेवीहरूको भाग

21 परमप्रभुले भन्‍नुभयो, “मलाई इस्राएलीहरूले भेटी चढाउने सबै दशौँ हिस्‍सा मैले लेवीहरूलाई दिएको छु। म बास गर्ने पवित्र पालको हिफाजत गर्ने कामको निम्‍ति यो तिनीहरूको ज्‍याला हो।

22 अरू इस्राएलीहरू पवित्र पालको छेउमा नजाऊन् त्‍यसो भयो भने तिनीहरूमाथि मृत्‍युको दण्‍ड आइपर्नेछ।

23 अबदेखि उसो लेवीहरूले मात्र पवित्र पालको हिफाजत गर्नेछन् र त्‍यसको पूरा जिम्‍मा लिनेछन्। यो सदाकालको लागि पालन गर्नुपर्ने नियम हो र तेरा सन्‍तानले पनि यसको पालन गर्नुपर्ने नियम हो र तेरा सन्‍तानले पनि यसको पालन गर्नुपर्नेछ। लेवीहरूको इस्राएलमा स्‍थायी सम्‍पत्ति हुनेछैन

24 किनभने मैले इस्राएलीहरूले मलाई विशेष भेटीका रूपमा चढाएका दशौँ हिस्‍सा तिनीहरूको अधिकारमा दिएको छु। त्‍यसैकारण मैले तिनीहरूको इस्राएलमा सधैँभरि रहने सम्‍पत्ति हुँदैन भनी भनेको हुँ।”


लेवीहरूले दिने दशौँ भाग

25-26 मोशालाई परमप्रभुले लेवीहरूलाई यसो भन्‍नू भनी आज्ञा गर्नुभयो, “जब तिमीहरूले तिम्रा हकमा परमप्रभुले दिनुभएको दशौँ हिस्‍सा इस्राएलीहरूबाट पाउँछौ, तब त्‍यसबाट दश भागमा एक भाग तिमीहरूले परमप्रभुलाई विशेष भेटीका रूपमा चढाउनुपर्नेछ।

27 एउटा किसानले नयाँ अन्‍न वा दाखमद्य जति भेटी चढाउँछ, त्‍यही बराबर यो विशेष भेटी पनि हो भनिठान्‍नू।

28 यसरी तिमीहरूले इस्राएलीहरूबाट पाएका दशौँ हिस्‍साबाट परमप्रभुले पाउनुपर्ने विशेष भेटी पनि उहाँलाई चढाउनेछौ। परमप्रभुको लागि यो विशेष भेटी तिमीहरूले हारूनलाई दिनू।

29 तिमीहरूले पाएका सर्वोत्तम थोकहरूबाट त्‍यो तिमीहरूले उहाँलाई चढाउनू।

30 सबैभन्दा असल भाग चढाएपछि उब्रेका जति तिमीहरूले राख्‍नू। ती त्‍यसरी नै तिमीहरूले राख्‍नू, जसरी कोही किसानले आफ्‍नो भेटी चढाइसकेपछि उब्रेका थोक आफैं राख्‍दछ।

31 ती उब्रेका कुरा तँ र तेरा परिवारले जहीँ पनि खान सक्‍छौ किनभने त्‍यो तिमीहरूले पवित्र पालमा गरेको सेवाको लागि दिइएको तिमीहरूको ज्‍याला हो।

32 तीमध्‍ये सबैभन्दा असलचाहिँ परमप्रभुलाई दिइएका छौ भने बाँकी भाग खाँदा तिमीहरू दोषी ठहरिनेछैनौ। तर, सबैभन्दा असल भाग प्रभुलाई चढाउनुभन्दा अघि नै पवित्र भेटीहरूबाट खाएर तिनीहरूलाई बिटुलो नपार– होइन भने तिमीहरू मर्नेछौ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy