Online Bible

- Reklamy -

गन्‍ती 17 - सरल नेपाली पवित्र बाइबल


हारूनको लौरो

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “हरेक कुलका अगुवाबाट एउटा लौरोको हिसाबले तँलाई बाह्रवटा लौराहरू दिनू भनी इस्राएलका मानिसहरूलाई भन्। हरेक मानिसको नाम त्‍यसको लौरोमा लेख्

3 र लेवीको लौरोमा हारूनको नाम लेख्। प्रत्‍येक कुलको अगुवाको एउटा लौरो हुनेछ।

4 म बास गर्ने पवित्र पालमा ती लौराहरू लैजा र मैले तँसित भेट गर्ने करारको सन्‍दुकको सामुन्‍ने तिनीहरूलाई राख्।

5 तब जुन मानिसलाई मैले चुनेको छु, त्‍यसको लौरो टुसाउनेछ। तेरो विरुद्धमा इस्राएलीहरूले ल्‍याइरहने दोष म बन्‍द गरिदिनेछु।”

6 मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए। तिनीहरूको हरेक अगुवाले कुलैपिच्‍छे एउटा-एउटा गरी जम्‍मा बाह्रवटा लौराहरू तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूसितै थियो।

7 त्‍यसपछि सबै लौराहरू मोशाले पवित्र पालमा परमप्रभुका करारको सन्‍दुकको सामुन्‍ने राखे।

8 भोलिपल्‍ट मोशा पवित्र पालमा गए। तिनले लेवी कुलतर्फको हारूनको लौरोमा टुसा पलाएको देखे। त्‍यसका कोपिला लागेका, त्‍यो फक्रेर फूल फुलेको र पाकेको हाडे-बदाम लागेको देखे!

9 मोशाले सबै लौराहरू ल्‍याएर इस्राएलीहरूलाई देखाए। के भएको थियो, त्‍यो तिनीहरूले देखे। हरेक अगुवाले आफ्‍नो लौरो फिर्ता लियो।

10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लौरो फर्काएर करारको सन्‍दुकको सामुन्‍ने राख्। यसरी हारूनको लौरो देखेर तिनीहरू मेरो विरुद्धमा गन्‍गनाउन छोड्‍नेछन् र मर्नेछैनन्। यो कुरा विद्रोही इस्राएलीहरूका निम्‍ति चेतावनी बनोस्।”

11 परमप्रभुको आज्ञाअनुसार मोशाले गरे।

12 इस्राएलीहरूले मोशालाई भने “अब हामी नाश भयौं!

13 कोही पवित्र पालको नजिक मात्र आउँदा पनि मर्ने हो भने हामी सबै मरेतुल्‍य भयौं!”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy