Online Bible

- Reklamy -

गन्‍ती 13 - सरल नेपाली पवित्र बाइबल


जासूसहरू
( व्‍यवस्‍था १:१९-३३ )

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलका बाह्रै कुलबाट एक-एक जना अगुवा चुनेर तिनीहरूलाई कनान देशको भेद लिनलाई जासूसहरू पठा। म इस्राएलीहरूलाई कनान देश दिँदै छु।”

3-15 मोशाले त्‍यो आज्ञापालन गरे र पारानको उजाड-भूमिबाट यी अगुवाहरूलाई पठाए– कुल अगुवा रूबेन जक्‍कूरको छोरो शम्‍मूअ शिमियोन होरीको छोरो शाफात यहूदा यपुन्‍नेको छोरो कालेब इस्‍साखार योसेफको छोरो यिगाल एफ्राइम नूनको छोरो होशिया बेन्‍यामीन रफूको छोरो पलती जबूलून सोदीको छोरो गद्दीएल, मनश्‍शे सूसीको छोरो गेद्दी दान गमल्‍लीको छोरो अम्‍मीएल आशेर मिखाएलको छोरो सतूर नप्‍ताली वोफ्‍सीको छोरो नहबी गाद माकीको छोरो गूएल।


कुल अगुवा

16 त्‍यस देशको भेद लिन मोशाले पठाएका जासूसहरू यिनै हुन्। तिनले नूनको छोरो होशियाको नाम बदलेर यहोशू राखे।

17 तिनीहरूलाई पठाउँदा मोशाले यसो भने, “यहाँबाट उत्तरतर्फ गएर कनान देशको दक्षिण भागमा जाओ। त्‍यसपछि त्‍यहाँका पहाडी मुलुकमा जाओ।

18 त्‍यो कस्‍तो देश छ, त्‍यहाँ कति मानिसहरू छन् र तिनीहरू कति बलिया छन्,

19 जमिन असल छ कि खराब, ती मानिसहरू खुल्‍ला सहरमा बस्‍छन् कि पर्खाल लाएका सुरक्षित सहरहरूमा बस्‍छन्,

20 माटो मलिलो छ कि छैन, बन-जङ्गल छ कि छैन, यी सबै बुझेर आओ। त्‍यहाँ फलेका केही फलहरू लिएर आउन नभुल।” (त्‍यो अङ्‌गुर पाक्‍ने समय थियो।)

21 ती मानिसहरू उत्तरतर्फ लागे। त्‍यस देशका दक्षिणमा सीनैको वनबाट पसेर उत्तरमा लेबो-हमात घाटीको छेउमा रहोबसम्‍म गई तिनीहरूले त्‍यहाँको भेद लिए।

22 पहिले तिनीहरू त्‍यो देशको दक्षिण भागमा पसे र हेब्रोन पुगे। त्‍यहाँ अनाक वंशका अहीमन, शेशै र तल्‍मै वंशका मानिसहरू बस्‍थे। तिनीहरू दैत्‍यहरूजस्‍ता अग्‍ला र बलिया थिए। (मिश्रको सोअन सहरभन्दा सात वर्षअघि हेब्रोन सहर बसालिएको थियो।)

23 तिनीहरू एश्‍कोलको बेसीमा पुगे र त्‍यहाँ अङ्‌गुरको एक झुप्‍पा भएको एउटा हाँगा काटे। ती अङ्‌गुर अत्‍यन्‍त गह्रौँ भएको हुनाले एउटा घोचा लाएर दुई जनाले त्‍यो हाँगा बोके। तिनीहरूले केही अनार र नेभाराका फल पनि ल्‍याए।

24 (त्‍यस ठाउँको नाम एश्‍कोलको बेँसी राखियो किनभने त्‍यहाँ इस्राएलीहरूले अङ्‌गुरको त्‍यो झुप्‍पा काटेका थिए।)

25 चालीस दिनसम्‍म त्‍यस देशको भेद लिएर जासूसहरू फर्के। तिनीहरू पारानको बनमा

26 मोशा, हारून र इस्राएलका सारा समुदाय बसेका कादेश भन्‍ने ठाउँमा आए। तिनीहरूले आफूले देखेका सबै कुरा तिनीहरूलाई सुनाए र ल्‍याएका फलहरू देखाए।

27 तिनीहरूले मोशालाई भने, “हामीले त्‍यो देश घुमेर खोजी गर्‍यौं, देश धनी र मलिलो छ, त्‍यसका केही फलहरू यहाँ छन्।

28 तर त्‍यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्‍लाले सुरक्षित गरिएका छन्। त्‍यस बाहेक त्‍यहाँ हामीहरूले अनाकका सन्‍तान देख्‍यौं।

29 देशको दक्षिण भागमा अमालेकीहरू बस्‍छन्, हित्ती, यबूसी र एमोरीहरू पहाडमा बस्‍छन्। अनि कनानीहरूचाहिँ भूमध्‍य सागरको नजिक र यर्दन नदीको किनारमा बस्‍दा रहेछन्।”

30 मोशाको विरुद्धमा कुरा गर्न मानिसहरूलाई चुप गराएर कालेबले भने, “हामीहरूले तुरुन्‍तै हमला गरेर त्‍यो देश लिनुपर्छ। हामीमा त्‍यो देश जित्‍ने शक्ति छ।”

31 तर कालेबसित जाने अरू मानिसहरूले भने, “होइन, तिनीहरूमाथि हमला गर्ने शक्ति हामीसित छैन। त्‍यहाँका मानिसहरू हामीभन्दा शक्तिमान् रहेछन्।”

32 यसरी तिनीहरूले आफूले खोजी गरी आएका देशको बारेमा इस्राएलीहरूका माझमा झूटा वर्णन दिए। तिनीहरूले भने, “त्‍यस देशमा त्‍यहाँ बस्‍ने मानिसहरूलाई खान पुग्‍ने गरी अन्‍न-पानी उब्‍जँदैन। हामीले त्‍यहाँ देखेका मानिसहरू सबै अग्‍ला-अग्‍ला थिए।

33 अनि त्‍यहाँ हामीले दैँत्‍यहरूजस्‍ता पनि देख्‍यौं, तिनीहरू अनाकका सन्‍तान रहेछन्। हामी आफैंलाई त फट्याङ्ग्राजस्‍ता साना पो लाग्‍यो। तिनीहरूका नजरमा हामीहरू सायद फट्याङ्ग्राजस्‍तै देखिन्‍थ्‍यौं।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy