Online Bible

- Reklamy -

गन्‍ती 12 - सरल नेपाली पवित्र बाइबल


मिरियमलाई दण्ड दिइएको

1 मोशाले एउटी कूशी स्‍त्रीलाई विवाह गरे र मिरियम र हारूनले तिनको निन्‍दा गरे।

2 तिनीहरूले भने, “के परमप्रभु मोशाद्वारा मात्र बोल्‍नुभयो? के उहाँ हामीद्वारा पनि बोल्‍नुभएन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो।

3 (मोशा नम्र मानिस थिए, उनीभन्दा नम्र मानिस पृथ्‍वीमा अरू कोही थिएन।)

4 अचानक परमप्रभुले मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीनै जना म बास गर्ने पवित्र पालमा आओ।” तिनीहरू त्‍यहाँ गए

5 र परमप्रभु एउटा बादलको खम्‍बामा ओर्ली आउनुभयो र पवित्र पालको ढोकामा उभिनुभयो। उहाँले “हारून! मिरियम!” भनी बोलाउनुभयो। ती दुई अघि बढे

6 र परमप्रभुले भन्‍नुभयो, “म के भन्‍छु, सुन। यदि तिमीहरूका माझमा अगमवक्ताहरू छन् भने दर्शन दिएर आफैंलाई तिनीहरूकहाँ जाहेर गर्दछु र सपनामा तिनीहरूसित बोल्‍दछु।

7 तर जब म मेरो सेवक मोशासित बोल्‍छु, बेग्‍लै हुन्‍छ। त्‍यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु।

8 यसकारण म त्‍योसित आम‍ने-साम‍ने भई सफासित खुल्‍लम-खुल्‍ला कुरा गर्दछु। त्‍यसले मेरो रूप पनि देखेको छ। तिमीहरू कसरी मेरो सेवक मोशाको विरुद्धमा बोल्‍न आँट गर्दछौ?”

9 परमप्रभु तिनीहरूसित रिसाउनुभयो अनि उहाँ गइहाल्‍नुभयो

10 र पवित्र पालबाट बादल हट्यो। त्‍यही बेला अचानक मिरियमलाई डरलाग्‍दो छालारोग लाग्‍यो र उसका छाला सबै हिँउजस्‍ता सेता भए। हारूनले मिरियमलाई हेरे र उनलाई डरलाग्‍दो छालारोग लागेको देखे।

11 तिनले मोशालाई भने, “हजुर, हामीले मूर्ख भई गरेका पापको दण्‍ड हामीलाई भोग्‍न नलाउनुहोस्।

12 जन्‍मँदै मरेकी र आधा शरीर कुहेर झरेको जस्‍तो यिनलाई हुन नदिनुहोस्।”

13 यसकारण मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर त्‍यसलाई निको पारिदिनुहोस्!”

14 परमप्रभुले जवाफ दिनुभयो, “त्‍यसका बुबाले त्‍यसका मुखमा थुकिदिएको भए सात दिनसम्‍म त्‍यसले त्‍यो बेइज्‍जत सहनुपर्थ्‍यो। यसकारण सात दिनसम्‍म त्‍यो छाउनीको बाहिर बसोस्, त्‍यसपछि त्‍यसलाई भित्र ल्‍याउन सक्‍छस्।”

15 सात दिनसम्‍म मिरियमलाई छाउनी बाहिर राखे र तिनलाई भित्र नल्‍याइञ्‍जेल मानिसहरू पनि अघि बढेर गएनन्।

16 त्‍यसपछि तिनीहरू हसेरोतबाट हिँडे र पारानको उजाड-भूमिमा पाल टाँगेर बास बसे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy