गन्ती 11 - सरल नेपाली पवित्र बाइबलतबेरा नामको ठाउँ 1 मानिसहरूले आफ्ना कष्टबारे परमप्रभुसित गनगन गर्न लागे। तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो र आगो लगाइदिनुभयो। आगो तिनीहरूका बीचमा सल्केर छाउनीको एक भाग भस्म पारिदियो। 2 मानिसहरू सहायता माग्दै मोशालाई कराउन लागे। मोशाले परमप्रभुलाई प्रार्थना गरे र आगो निभ्यो। 3 त्यसरी त्यस ठाउँको नाउँ तबेरा भयो किनभने त्यस ठाउँमा परमप्रभुको आगो तिनीहरूका बीचमा दन्केको थियो। मोशाले सत्तरी जना अगुवाहरू चुन्छन् 4 इस्राएलीहरूसँग केही विदेशीहरू पनि यात्रा गर्दै थिए। तिनीहरूले मासु खान ठूलो इच्छा गरेकाले इस्राएलीहरू पनि गनगन गर्न थाले, “मासु खान पाए कस्तो हुन्थ्यो! 5 मिश्रमा हामीले चाहे जति माछा खान पाउँथ्यौं र दाम पनि दिनुपर्दैनथ्यो। हामीले त्यहाँ खाएका काँक्रा, खरबुजा, प्याजको साग, प्याज र लसुन याद छ? 6 अब हाम्रो बल घटिसक्यो। केही खानेकुरा छैन। हरेक दिन यो मन्न छोडी अरू केही खान पाइँदैन!” 7 (मन्न पहेँलो रङ्गको धनियाको दानाजस्तो थियो। 8-9 राती यो शीतसित छाउनीमा खस्थ्यो। भोलिपल्ट बिहान मानिसहरू गएर ती बटुल्थे, त्यसलाई पिँधेर वा कुटेर पीठो बनाउँथे र पानीमा पकाएर वा रोटी बनाएर खान्थे। त्यसको स्वाद जैतुनको तेलमा पकाएको रोटीजस्तो हुन्थ्यो।) 10 मानिसहरू आ-आफ्ना तम्बुको ढोकामा हुल बाँधी उभिएर गनगन गरेका मोशाले सुने। तिनी दु:खित भए किनभने परमप्रभु तिनीहरूसित रिसाउनुभएको थियो 11 र तिनले परमप्रभुलाई भने, “किन तपाईंले यस्तो कुव्यवहार मसित गर्नुभयो? किन मसित असन्तुष्ट हुनुभयो? किन तपाईंले यी सबै मानिसहरूको भार मलाई दिनुभयो? 12 न मैले तिनीहरूलाई बनाएँ न मैले जन्माएँ। किन तपाईंले मलाई धाई-आमाले जस्तै काम गर्न लगाउनुहुन्छ र तिनीहरूलाई हातले बालकलाई झैँ बोकेर तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउन लगाउनुहुन्छ? 13 यी सबै मानिसहरूका लागि पर्याप्त मासु कहाँदेखि म पाउन सक्छु? तिनीहरू मासु मागेर कराइरहन्छन्। 14 म एक्लै यी सबै मानिसहरूको जिम्मा लिन सक्दिनँ। त्यो मेरो लागि साह्रै बोझ हुन्छ। 15 यदि तपाईंले मसित त्यस्तै व्यवहार गर्नुहुन्छ भने मलाई दया गरेर मार्नुहोस् र मैले अबदेखि तपाईंको निष्ठुरीपना सहननपरोस्।” 16 परमप्रभुले मोशालाई भन्नुभयो, “जनताका अगुवा भनी मानिएका सत्तरी जना आदरयोग्य मानिसहरूलाई भेला गर् र तिनीहरूलाई म बास गर्ने पवित्र पालमा मकहाँ ल्याएर आफ्नो छेउमा उभिन लगा। 17 म त्यहाँ आएर तँसित कुरा गर्नेछु र मैले तँलाई दिएको आत्माबाट कसैलाई निकालेर तिनीहरूलाई दिनेछु। तिनीहरूले तँलाई यी मानिसहरूको जिम्मा लिने काममा सहायता गर्न सक्नेछन् र तँ एक्लैले त्यो जिम्मा लिनुपर्नेछैन। 18 अब मानिसहरूलाई यस्तो भन्, ‘भोलिको लागि तिमीहरू आफैंलाई पवित्र गर, तिमीहरूले मासु खान पाउनेछौ। तिमीहरूले मासु खाने इच्छा गरेर हामीलाई बरु मिश्रमा राम्रो थियो भनेर कराएका परमप्रभुले सुन्नुभएको छ। अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र त्यो तिमीहरूले खानुपर्नेछ। 19 तिमीहरूले मासु एक-दुई दिन होइन, पाँच, दश वा बीस दिन होइन, 20 तर एक महिनासम्म खाएको मासु नाकबाट ननिस्कुञ्जेल र तिमीहरू वाक्क नभइञ्जेलसम्म खानुपर्नेछ। त्यसो हुनुको कारण तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गर्यौ र हामीले मिश्र नछोड्नुपर्ने भनी दु:ख प्रकट गर्यौ’।” 21 मोशाले परमप्रभुलाई भने, “म यहाँ ६,००,००० मानिसहरू लिएर हिँड्दै छु अनि तिनीहरूलाई एक महिनासम्म पुग्ने मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। 22 के तिनीहरूलाई सन्तोष भइञ्जेल पुग्ने गरी गाई-गोरु र भेडाहरू काट्न सकिन्छ? समुद्रका सबै माछाले पनि तिनीहरूलाई पुग्ने हो र?” 23 “के मेरो शक्तिको सीमा छ र?” परमप्रभुले जवाफ दिनुभयो, “मैले भनेको कुरा पुग्ने हो कि होइन, त्यो तैँले छिट्टै देख्नेछस्!” 24 यसकारण मोशा बाहिर गए र परमप्रभुले भन्नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले सत्तरी जना अगुवाहरूलाई भेला गरेर पवित्र पालका चारैतिर उभ्याए। 25 तब परमप्रभु बादलमा त्यहाँ ओर्लनुभयो र तिनीसित बोल्नुभयो। उहाँले मोशालाई दिनुभएको आत्माबाट केही लिएर ती सत्तरी जना अगुवाहरूलाई दिनुभयो। अनि तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरू अगमवाणी गर्न थाले। तर त्यो धेरै बेरसम्म रहेन। 26 सत्तरी अगुवाहरूमध्ये दुई जना, एल्दाद र मेदाद छाउनीमा नै बसिरहेका थिए। तिनीहरू पवित्र पालमा गएका थिएनन्। त्यहीँ छाउनीमा तिनीहरूमाथि आत्मा उत्री आउनुभयो र तिनीहरू पनि अगमवाणी गर्न थाले। 27 एल्दाद र मेदादले के गर्दै थिए, त्यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो। 28 तब नुनका छोरा यहोशू, जसले आफू किशोर हुँदादेखि मोशालाई मद्दत दिइरहेका थिए, मुख खोलेर मोशालाई भने, “हजुर, तिनीहरूलाई रोक्नुहोस्!” 29 मोशाले जवाफ दिए, “के तँ मेरो कारण चिन्ता गर्दै छस्? मेरो परमप्रभुले आफ्ना आत्मा सबै मानिसहरूलाई दिऊन् र तिनीहरू अगमवक्ता बनून् भन्ने इच्छा छ!” 30 तब मोशा र सत्तरी जना अगुवाहरू छाउनीमा फर्केर गए। परमेश्वरले बट्टाई चराहरू पठाउनुहुन्छ 31 अचानक परमप्रभुले बतास पठाउनुभयो। त्यस बतासले समुद्रबाट बट्टाई चराहरू उडाइल्यायो। बट्टाई चराहरू भूइँबाट एक गज जति अग्लोमा उडेर आए र छाउनीका चारैपट्टि बसे। एक दिनको टाढा चारैतिर बाटोसम्म चराहरू बसेका थिए। 32 यसरी त्यो दिन, रात र भोलिपल्ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए। 33 तिनीहरूले सबै मासु खाइसक्दानसक्दै परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूका माझमा एउटा महामारी फैलाउनुभयो। 34 त्यस ठाउँको नाम किब्रोथ-हत्तावा राखियो र जसको अर्थ हो ‘लालच गर्नेहरूको चिहान’ किनभने त्यहाँ तिनीहरूले मासुको लालच गर्ने मानिसहरूलाई गाडे। 35 त्यहाँबाट मानिसहरू हसेरोतमा गए र त्यहाँ छाउनी हालेर बसे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society