Online Bible

- Reklamy -

गन्‍ती 10 - सरल नेपाली पवित्र बाइबल


चाँदीका तुरहीहरू

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना।

3 जब दुवै तुरही लामो आवाज गरेर फुकिन्‍छन्, सबै इस्राएलीहरू म बास गर्ने पवित्र पालको ढोकामा तेरो अगाडि भेला हुनेछन्।

4 तर जब एउटै तुरही मात्र फुकिन्‍छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्।

5 जब छोटो आवाज गरेर तुरही फुकिन्‍छ, पूर्वपट्टि छाउनी लाएर बसेका कुलहरू अघि बढ्‍नेछन्।

6 दोस्रोचोटि छोटो आवाज गरेर तुरही फुकिँदा दक्षिणपट्टि रहेका कुलहरू हिँड्‍नेछन्। यसरी छाउनी उठाउनलाई छोटो आवाज गरी तुरही फुकिनेछ।

7 तर जन-समूहलाई एक ठाउँमा भेला गर्नलाई लामो आवाज गरी तुरही फुक्‍नुपर्नेछ।

8 हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्। “आउने सदाकालको निम्‍ति यी नियमहरू मान्‍नुपर्छ।

9 जब तिमीहरूमाथि दमन गर्ने शत्रुको सामना गर्दै आफ्‍नो देशमा लडाइँ गर्दछौ, लडाइँको सङ्‌केत दिँदै ती तुरहीहरू बजाओ। म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा गर्नेछु र शत्रुदेखि तिमीहरूको रक्षा गर्नेछु।

10 रमाहटका बेलामा पनि औंसीको चाड र अरू धार्मिक चाडका बेलामा, जब तिमीहरू होमबलि र मेलबलिहरू चढाउँछौ, त्‍यस बेला तुरही बजाउनू। तब म तिमीहरूलाई सहायता गर्न सम्‍झनेछु। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”


इस्राएलीहरूले छाउनी उठाउँछन्

11 इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्षमा दोस्रो महिनाको बीसौँ दिन परमप्रभुले बास गर्ने पवित्र पालको माथिबाट बादल सर्‍यो

12 र तिनीहरूले सीनै उजाड-स्‍थानबाट आफ्‍नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो।

13 परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरू हिँड्‍न थाले।

14 जतिचोटि तिनीहरू अघि बढ्थे, तिनीहरू एउटै पङ्‌क्ति बाँधेर हिँड्थे। अघि-अघि यहूदाका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीनादाबका छोरा नहशोनको हुकुममा हुल-हुल गरी हिँड्थे।

15 सूआरका छोरा नतनेलका हुकुममा इस्‍साखार कुल

16 र हेलोनका छोरा एलीआबका हुकुममा जबूलून कुल हिँड्थे।

17 तब पवित्र पाल उठाइन्‍थ्‍यो र गेर्शोन र मरारी वंशहरू ती बोकेर हिँड्थे।

18 त्‍यसपछि रूबेनका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू शदेऊरका छोरा एलीसूरका हुकुममा हुल-हुल गरी हिँड्थे।

19 सूरीशद्दैका छोरा शलूमीएलका हुकुममा शिमियोन कुल

20 र दूएलका छोरा एल्‍यासापका हुकुममा गाद कुल हिँड्थे।

21 तब लेवी कहातको गोत्र पवित्र सर-सामानहरू बोकेर हिँड्थे। तिनीहरू नयाँ छाउनीमा आइपुग्‍दा पवित्र पाल स्‍थापना भइसकेको हुन्‍थ्‍यो।

22 त्‍य पछि एफ्राइम कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीहूदका छोरा एलीशामाका हुकुममा हुल-हुल गरी पङ्‌क्तिमा हिँड्थे।

23 पदासूरको छोरो गमलिएलका हुकुममा मनश्‍शे कुल

24 र गिदेओनीका छोरा अबीदानका हुकुममा बेन्‍यामीन कुल हिँड्थे।

25 सबै दलहरूको पछि हिँड्‍ने दानका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीशद्दैका छोरा अहीएजेरका हुकुममा हुल-हुल गरी पङ्‌क्तिमा हिँड्थे।

26 ओक्रानका छोरा पगीएलका हुकुममा आशेर कुल

27 र एनानका छोरा अहीराका हुकुममा नप्‍ताली कुल हिँड्थे।

28 जतिपल्‍ट इस्राएलीहरू छाउनी उठाएर हिँड्थे, तिनीहरू यही एकै प्रकारले हुल-हुल गरी पंक्ति बाँधेर हिँड्थे।

29 मोशाले मिद्यानी यित्रोका छोरा अनि आफ्‍ना जेठान होबाबलाई भने, “परमप्रभुले हामीलाई दिन्‍छु भन्‍नुभएको ठाउँमा हामी जान लागेका छौं। परमप्रभुले इस्राएलीहरूलाई फलिफाप गराउने प्रतिज्ञा गर्नुभएको छ। तपाईं हामीसित आउनुहोस्। हामी आफ्‍ना फलिफाप तपाईंसित बाँड्‍नेछौं।”

30 होबाबले भने, “अहँ, म आफ्‍नै देशमा फर्कनेछु।”

31 मोशाले भने, “हामीलाई नछोड्‍नुहोस्। यस उजाड-स्‍थानमा हामी कुन ठाउँमा पाल हाल्‍न सक्‍छौं, तपाईंलाई थाहा छ। तपाईं हाम्रो बाटो देखाउने मानिस बन्‍न सक्‍नुहुन्‍छ।

32 तपाईं हामीसित आउनुभयो भने परमप्रभुले हामीलाई जति आशिष्‌हरू दिनुहुन्‍छ, ती तपाईंसित बाँड्‍नेछौं।”


इस्राएलीहरूले यात्रा सुरु गर्छन्

33 इस्राएलीहरूले पवित्र पर्वत सीनैबाट बिदा भएपछि तीन दिनसम्‍म यात्रा गरे। परमप्रभुको करारको सन्‍दुक तिनीहरू बास बस्‍ने ठाउँ खोज्‍ने विचारले सधैँ तिनीहरूको अघि-अघि लगिन्‍थ्‍यो।

34 हरेक छाउनीबाट जब तिनीहरू अघि बढ्थे, परमप्रभुको बादलले दिउँसो तिनीहरूमाथि छाया पार्थ्‍यो।

35 करारको सन्‍दुक बोक्‍नेहरू हिँडेपछि मोशाले सधैँ भन्‍थे, “परमप्रभु, उठ्‍नुहोस्! आफ्‍ना बैरीहरू छरपष्‍ट पार्नुहोस् र तपाईंलाई घृणा गर्नेहरूलाई धपाउनुहोस्!”

36 करारको सन्‍दुक थामिंदा तिनले भन्‍थे, “परमप्रभु! इस्राएलका हजारौं-हजार परिवारकहाँ तपाईं फर्केर आउनुहोस्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy