Online Bible

- Reklamy -

नहूमको पुस्तक 2 - सरल नेपाली पवित्र बाइबल


निनवेको पतन

1 हे निनवे! तँलाई विध्‍वंस पार्ने तँमाथि आइलागेको छ। तेरा किल्‍लाहरू बलियो बना, बाटोमा पहरेदार राख्! लडाइँको निम्‍ति तयारी गर्‌!

2 (शत्रुहरूले लुटपिट गर्नुअघि जुन गौरव इस्राएलको थियो, त्‍यही गौरवपूर्ण अवस्‍थामा इस्राएललाई फेरि परमप्रभुले फर्काउन लाग्‍नुभएको छ।)

3 शत्रुका सेनाहरूले राता-राता ढालहरू बोकेका छन् र रातै पोशाक पहिरेका छन्। तिनीहरूले हमला गर्ने तयारी गर्दै छन्। तिनीहरूका रथहरू आगोझैँ झल्‍कन्‍छन् तिनीहरूका घोडाहरू उफ्रन्‍छन्।

4 रथहरू बाटोहरूमा खुब वेगले हानिएर जान्‍छन् र सहरका चौडा चोकहरूका बीचबाट भएर यताउता दगुर्छन्। तिनीहरू बल्‍दो राँकोझैँ झल्‍याक-झुलुक हुन्‍छन् र बिजुली चम्‍केझैँ दगुर्छन्।

5 अधिकृतहरूलाई हाजिर हुने आदेश भएको छ, तिनीहरू ठोकर खाँदै, हुत्तिंदै अघिल्‍तिर आउँछन्। हमला गर्नेहरू पर्खालतिर दगुरेर जान्‍छन् र रक्षा गर्ने ठूलो ढाल तयार पारिन्‍छ।

6 नदीको पानी आउने ढोकाहरू खोलिन्‍छ; राजमहलमा भयले हाहाकार हुन्‍छ।

7 रानी कैद गरी लगिन्‍छ; त्‍यसका कमारीहरूले ढुकुरझैँ बिलौना गर्छन् र शोकले आ-आफ्‍ना छाती पिट्छन्।

8 भत्‍केको बाँधबाट पानी निस्‍केझैँ निनवेबाट मानिसहरू हतारिएर निस्‍कन्‍छन्, “पख! पख!” भनी कराएको सुनिन्‍छ, तर कसैले पनि पछि फर्केर हेर्दैन।

9 चाँदी लुट! सुन लुट! सहरमा धन-सम्‍पत्ति र बहुमूल्‍य वस्‍तुहरू छन्!

10 निनवे नाश भएको छ, त्‍यागिएको छ, त्‍यो उजाड भएको छ। मानिसहरूका हृदय डरले गल्‍दछन्। घुँडाहरू काँप्‍दछन्; बल हराउँछ, चेहराहरू डरले पहेंला हुन्‍छन्।

11 सिंहको गुफाजस्‍तो त्‍यो सहर, जवान सिंहहरूको खाना खाने ठाउँ, जहाँ सिंह र सिंहनी डुल्‍दथे, जहाँ तिनका डमरुहरू कुशलसाथ बस्‍दथे। त्‍यस्‍तो सिंहको गुफाजस्‍तो त्‍यो सहर अहिले खोइ?

12 सिंहले आफ्‍नो शिकार त्‍यहाँ मार्दथ्‍यो र त्‍यसका सिंहनी र डमरुहरूको निम्‍ति टुक्रा-टुक्रा पार्दथ्‍यो। शिकार मारी चिथोरेर ल्‍याएको मासुले गुफा भरिपूर्ण रहन्‍थ्‍यो।

13 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “म तेरो शत्रु हुँ। म तेरा रथहरू आगोले भस्‍म पार्नेछु। लडाइँमा तेरा सेनाहरू मारिनेछन् र तैँले अरूलाई शिकार बनाई लुटेका सबै थोकहरू म खोसी लैजानेछु। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy