Online Bible

- Reklamy -

मीकाको पुस्तक 6 - सरल नेपाली पवित्र बाइबल


इस्राएलको विरुद्धमा परमप्रभुको चुनौती

1 इस्राएलको विरुद्धमा परमप्रभु के भन्‍नुहुन्‍छ, तिमीहरू सुन, “खडा होओ, पर्वतहरूका सामु तिमीहरूको उजुर पेश गर र डाँडाहरूले तिमीहरूका कुरा सुनून्।

2 “पर्वतहरू हो! तिमीहरू पृथ्‍वीका कहिल्‍यै नाश नहुने जगहरू हौ, परमप्रभुको आरोप सुन! आफ्‍ना प्रजाको विरुद्धमा परमप्रभुको उजुर छ। उहाँले इस्राएलको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ।”

3 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजा हो! मैले तिमीहरूलाई के गरें? कसरी म तिमीहरूमाथि भार भएँ? उत्तर देओ।

4 मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याएँ। मैले तिमीहरूलाई कमाराको अवस्‍थाबाट छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्न मैले मोशा, हारून र मिरियमलाई पठाएँ।

5 हे मेरा प्रजा! मोआबको बालाक राजाले तिमीहरूलाई के गर्ने युक्‍ति गर्दै थियो र तिनलाई कसरी बओरको छोरो बालामले जवाफ दिए, ती कुरा याद गर। शित्तीमको छाउनीदेखि गिलगालसम्‍म बाटोमा के-के भयो, ती सम्‍झ। यी कुराहरू याद गर्‍यौ भने मैले तिमीहरूलाई बचाउन के-के गरें, त्‍यो कुरा तिमीहरूले बुझ्‍नेछौ।”


परमप्रभुको माग

6 परमप्रभु स्‍वर्गका परमेश्‍वरलाई पुज्‍न आउँदा म उहाँकहाँ के लिएर आऊँ? के असल बाछाहरू बलि चढाउन लिएर आऊँ?

7 मैले हजारौं भेडाहरू वा बगेर नसकिने खोलाझैँ जैतुनको तेल ल्‍याएँ भने परमप्रभु खुसी हुनुहुन्‍छ? के म उहाँलाई मेरो पापको लागि जेठो छोरो चढाऊँ?

8 अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्‍छ; जे कुरा न्‍यायसङ्गत छ, त्‍यो गर्नू, निरन्‍तर प्रेम गर्नू र आफ्‍ना परमेश्‍वरअघि नम्रतासाथ जीवन बिताउनू।

9 परमप्रभुको भय मान्‍नु बुद्धिको कुरा हो। सहरका मानिसहरूलाई उहाँले भन्‍नुहुन्‍छ, “सहरमा भेला भएका मानिसहरू हो, तिमीहरू सुन,

10 दुष्‍ट मानिसहरूका घरहरूमा बेइमानीसित कमाएका धन-सम्‍पत्ति छन्। तिनीहरूले झूटा ढक-तराजु चलाउँछन्, जो म घृणा गर्दछु।

11 छलको ढक-तराजू वा माना पाथी चलाउने मानिसहरूलाई म कसरी क्षमा गर्न सक्‍छु र?

12 तिमीहरूको बीचमा धनीहरूले गरीबहरूलाई शोषण गर्छन्। तिमीहरू सबै जना झूटा छौ।

13 यसकारण तिमीहरूका पापले गर्दा तिमीहरूको विध्‍वंस हुने काम मैले सुरु गरिसकेको छु।

14 तिमीहरूले खान त खान्‍छौ तर अघाउँदैनौ, वास्‍तवमा तिमीहरू भोकै रहन्‍छौ। तिमीहरूले चीज-बीज राख्‍न त राख्‍छौ तर बचाउन सक्‍दैनौ। तिमीहरूले केही कुरो बचाइहाल्‍यौ भने पनि म त्‍यो लडाइँमा नष्‍ट पारिदिनेछु।

15 तिमीहरूले अन्‍न छर्न त छर्नेछौ तर फसल बटुल्‍नेछैनौ। तिमीहरूले जैतुनको तेल निकाल्‍नेछौ तर त्‍यो कहिल्‍यै चलाउन पाउनेछैनौ। तिमीहरूले दाख पेल्‍नेछौ तर दाख कहिल्‍यै पिउन पाउनेछैनौ।

16 तिमीहरू ओम्री राजा र तिनका छोरा आहाब राजाको दुष्‍ट चालमा चलेका हुनाले यी कुरा पूरा हुनेछन्। तिमीहरूले तिनीहरूको नीति अपनाइराखेका छौ। यसकारण म तिमीहरूलाई ध्‍वंस पार्नेछु र सबैले तिमीहरूलाई हेला गर्नेछन्। सबै ठाउँका मानिसहरूले तिमीहरूलाई घृणाको दृष्‍टिले हेर्नेछन्।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy