Online Bible

- Reklamy -

मीकाको पुस्तक 5 - सरल नेपाली पवित्र बाइबल

1 यरूशलेमका निवासीहरू हो! आफ्‍नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्‍डाले हिर्काउनेछन्।


बेथलेहेमबाट आउने शासक

2 परमप्रभु भन्‍नुहुन्‍छ, “बेथलेहेम एप्राता, यहूदाका सानोभन्दा सानो सहरहरूमध्‍ये तँ पनि एक होस् तर तँबाट म इस्राएलको निम्‍ति एउटा शासक ल्‍याउनेछु, जसको वंश प्राचीन कालदेखि नै सुरू भएको हो।”

3 यसकारण त्‍यो छोरो जन्‍माउने स्‍त्रीले छोरो नजन्‍माएसम्‍म परमप्रभुले आफ्‍ना प्रजालाई शत्रुका हातमा छोडिदिनुहुनेछ। तब कैदी भएर देश निकालावास भएका स्‍वदेशी बन्‍धुहरू आफ्‍नै दाजुभाइहरूसँग फेरि एकसाथ जम्‍मा हुनेछन्।

4 जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्‍ना परमेश्‍वर परमप्रभुको महामहिमामा आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्‍वीका मानिसहरूले उनको महान्‌ता स्‍वीकार्नेछन्,

5 र उनले शान्‍ति कायम गर्नेछन्। जब अश्‍शूरीहरूले हाम्रो देशमा हमला गर्छन् र सुरक्षा पर्खाल तोडेर देशमा खुट्टा हाल्‍छन्, तब हामी आफ्‍ना बलिया-बलिया अगुवाहरूलाई तिनीहरूको सामना गर्न पठाउनेछौं।


छुटकारा र सजाय

6 हातहतियारका बलले तिनीहरूले निम्रोदको देश अश्‍शूरीलाई विजय गर्नेछन् र अश्‍शूरीहरूले हाम्रो मुलुकमा हमला गर्दा तिनीहरूले हाम्रो रक्षा गर्नेछन्।

7 त्‍यस बेला बाँचेका इस्राएलीहरू अरू धेरै जातिहरूको निम्‍ति परमप्रभुले पठाउनुभएको शीतल गराउने शीतझैँ र उम्रँदै गरेको घाँसमा बर्सने झरीजस्‍तै हुनेछन्। तिनीहरू परमेश्‍वरमाथि भर पर्नेछन्, मानिसहरूमाथि होइन।

8 जाति-जातिहरूका बीचमा छोडिएका इस्राएलीहरूचाहिँ जङ्गल वा चउरमा शिकार खोजिहिंड्‍ने सिंहझैँ हुनेछन्, त्‍यो भेडाहरूका माझमा पस्‍दछ, तिनीहरूलाई झम्‍टन्‍छ र टुक्रा-टुक्रा पार्दछ र त्‍यसबाट बाँच्‍ने आशा हुँदैन।

9 इस्राएलीहरूले आफ्‍ना शत्रुहरूलाई जित्‍नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्।

10 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस बेला म तिमीहरूका घोडाहरू खोस्‍नेछु र रथहरू नष्‍ट पार्नेछु।

11 तिमीहरूका देशका सहरहरू नाश गर्नेछु अनि सबै सुरक्षाका पर्खाल भत्‍काइदिनेछु।

12 तिमीहरूले चलाउने तन्‍त्रमन्‍त्र नष्‍ट गर्नेछु र तिमीहरूसित एउटै पनि जोखना हेर्ने मानिस हुनेछैन।

13 तिमीहरूका देवताका मूर्तिहरू र पूजा गर्ने ढुङ्गाका खम्‍बाहरू नष्‍ट गर्नेछु। तिमीहरूले आफ्‍नै हातले बनाएका कुराहरूलाई फेरि कहिल्‍यै पूजा गर्नेछैनौ।

14 म तिमीहरूको देशको अशेरा देवीका मूर्तिहरू ढालिदिनेछु र तिमीहरूका सहरहरू नाश पार्नेछु।

15 अनि मेरा आज्ञा नमान्‍ने जातिहरूसित म आफ्‍नो प्रचण्‍ड क्रोधमा साटो फेर्नेछु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy