मीकाको पुस्तक 4 - सरल नेपाली पवित्र बाइबलपरमप्रभुको शासन र विश्व शान्ति ( यशैया २:२-४ ) 1 आउँदा दिनहरूमा मन्दिर बनिएको डाँडा सबैभन्दा अग्लो र उच्च हुनेछ। धेरै जातिहरू ओइरिएर त्यहाँ आउनेछन्, 2 अनि ती मानिसहरूले भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔँ किनकि उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाइदिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिंड्नेछौं किनभने परमप्रभुका शिक्षा यरूशलेमबाट आउँछ र सियोनबाट वचन फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुन्छ।” 3 उहाँले जाति-जातिहरूका बीच र टाढा-नजिकका बलिया जातिहरूका बीच मुद्दा-मामिलाहरू छिनाफाना गर्नुहुनेछ। तिनीहरूले आ-आफ्ना तरवारहरू पिटेर हलोको फालीहरू र भालाहरू पिटेर हसिंयाहरू बनाउनेछन्। जाति-जातिहरूका बीच फेरि लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्यै युद्धको तयारी गर्नेछैन। 4 हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि शान्तिसँग बस्नेछ र कसैले तिनीहरूलाई डर देखाउनेछैन किनकि सर्वशक्तिमान् परमप्रभुले नै यस्तो प्रतिज्ञा गर्नुभएको छ। 5 हरेक जातिले आफ्नै देवताको पूजा गर्ला र आज्ञा मान्ला तर हामीचाहिँ आफ्ना परमप्रभु परमेश्वरलाई सधैँभरि पुज्नेछौं अनि उहाँको आज्ञापालन गर्नेछौं। कैदबाट इस्राएलीहरू फर्कन्छन् 6 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आउँदै छ मैले दण्ड दिएका र कैदमा दु:ख भोगेका मानिसहरूलाई एकसाथ भेला गर्नेछु। 7 ती लङ्गडा भएका र घरदेखि लखेटिएकाहरूमध्ये बाँकी रहेकाहरूबाट म एउटा नयाँ सुरूवात गर्नेछु र तिनीहरू एउटा महान् जाति बन्नेछन्। त्यस उप्रान्त सदासर्वदा सियोन पर्वतमा म तिनीहरूमाथि राज्य गर्नेछु।” 8 ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्वरले आफ्नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्ट आफैं राज्यको राजधानी सहर बन्नेछस्। 9 तँ किन यसरी चिच्याएर रुन्छस्? स्त्रीले सुत्केरी हुने पीडा पाएझैँ तँ किन कष्ट भोग्छस्? के तेरो कोही राजा नभएकोले वा तेरा सल्लाहकारहरूको मृत्यु भएको हुनाले त्यसो भएको हो? 10 यरूशलेमका निवासीहरू हो! एउटी सुत्केरी हुन लागेकी स्त्रीझैँ, तिमीहरू बटारिंदै पीडाले चिच्याओ किनभने अब तिमीहरूले सहर छोड्नुपर्नेछ र खुला मैदानमा गएर बास गर्नुपर्नेछ। तिमीहरू बेबिलोनमा जानुपर्नेछ तर त्यहाँ परमप्रभुले तिमीहरूलाई शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। 11 तिमीहरूमाथि हमला गर्न धेरै जातिहरू भेला भएका छन्। तिनीहरू भन्छन्, “यरूशलेम नाश गरिनैपर्छ। हामी त्यो ध्वंस भएको नहेरी छोड्नेछैनौं।” 12 तर परमप्रभुको मनमा के विचार छ, यी जातिहरूले जान्दैनन्। जसरी दाइँ गर्न खलामा अन्न बटुलिन्छ, त्यसरी नै दण्ड दिन तिनीहरूलाई भेला गरिएको हो भनी तिनीहरू बुझ्दैनन्। 13 परमप्रभु भन्नुहुन्छ, “हे यरूशलेमका बासिन्दाहरू हो! गएर अब दाइँ गर म तिमीहरूलाई फलामका सिङ र काँसाका खुर भएका साँढेझैँ बलियो बनाउनेछु। धेरै जातिहरूलाई तिमीहरूले चकनाचुर पार्नेछौ र तिनीहरूले हिंसा गरेर कमाएको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society