Online Bible

- Reklamy -

मीकाको पुस्तक 3 - सरल नेपाली पवित्र बाइबल


इस्राएलका अगुवाहरूलाई दोष

1 हे इस्राएलका अगुवाहरू हो, सुन! तिमीहरूले न्‍यायको बारेमा ध्‍यान दिनुपर्ने हो।

2 तर तिमीहरूले असल कुरालाई घृणा गर्दछौ र दुष्‍ट कुरा मन पराउँछौ। तिमीहरू मेरा प्रजाको छाला काढ्छौ र तिनीहरूका मासु हड्डीबाट लुछ्छौ।

3 तिमीहरूले मेरा मानिसहरूको मासु खान्‍छौ, तिनीहरूका छाला काढ्छौ, हड्डी भाँच्‍छौ र भाँडामा पकाउन तयार पारेका मासुझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ।

4 समय आउँदै छ, जब तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ तर उहाँले तिमीहरूलाई उत्तर दिनुहुनेछैन। तिमीहरूका दुष्‍ट कामहरूले गर्दा उहाँले तिमीहरूको पुकार सुन्‍नुहुनेछैन।

5 मेरा प्रजालाई ती अगमवक्ताहरूले धोका दिएका छन्, जसले पैसा लिएर तिमीहरूलाई शान्‍ति हुनेछ भनी वचन दिन्‍छन् र पैसा नदिनेलाई तिमीहरू लडाइँमा पर्नेछौ भनी तर्साउँछन्। त्‍यस्‍ता अगमवक्ताहरूलाई परमप्रभु भन्‍नुहुन्‍छ,

6 “हे अगमवक्ताहरू हो! तिमीहरूको दिन सकिन आँट्यो, तिमीहरूलाई अन्‍धकारले छोप्‍दै छ। तिमीहरूले अगमवाणीका दर्शनहरू पाउँनेछैनौ र भविष्‍यवाणी पनि गर्न सक्‍नेछैनौ।”

7 भविष्‍यवाणी गर्नेहरू झूटा ठहरिनेछन् र तिनीहरूको बदनाम हुनेछ। तिनीहरू सबै लाजमा पर्नेछन् किनभने परमेश्‍वरले तिनीहरूलाई कुनै कुराको पनि उत्तर दिनुहुनेछैन।

8 तर मलाई चाहिँ परमप्रभुले आफ्‍ना आत्‍मा र शक्तिले भर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई तिनीहरूका पाप बताउन साहस र न्‍यायको ज्ञान दिनुहुनेछ।

9 हे इस्राएलका शासकहरू हो, तिमीहरू, जो न्‍यायलाई तिरस्‍कार गर्दछौ र राम्रोलाई नराम्रो पार्दछौ, सुन।

10 तिमीहरूले परमेश्‍वरको सहर, यरूशलेमलाई हत्‍या र अन्‍यायको जगमाथि बनाइरहेका छौ।

11 सहरका शासकहरूले घुसको निम्‍ति शासन गर्छन्, पूजाहारीहरूले ज्‍यालाको निम्‍ति व्‍यवस्‍था-विधिको अर्थ खोल्‍छन्, अगमवक्ताहरूले पैसाको निम्‍ति अगमवाणी कहन्‍छन् र तिनीहरू सबै हामीसँग परमप्रभु हुनुहुन्‍छ भनी दाबी गर्छन्। तिनीहरू भन्‍छन्, “हाम्रो केही क्षति हुनेछैन। परमप्रभु हामीसित हुनुहुन्‍छ।”

12 यसकारण तिमीहरूले गर्दा सियोन खेत जोतेझैँ जोतिनेछ, यरूशलेम ध्‍वंस भएर रास लाग्‍नेछ र मन्‍दिरको डाँडा जङ्गल बन्‍नेछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy