Online Bible

- Reklamy -

मीकाको पुस्तक 2 - सरल नेपाली पवित्र बाइबल


गरीबलाई सताउनेहरूको दुर्दशा

1 राती जागा रही दुष्‍ट जुक्‍ति गर्नेहरूको निम्‍ति कति डरलाग्‍दो समय हुनेछ। बिहान भएपछि मौका पाउनेबित्तिकै तिनीहरूले आफ्‍ना दुष्‍ट जुक्‍तिअनुसार काम गर्छन्।

2 खेतबारी चाहियो भने तिनीहरूले बलपूर्वक ती जफत गर्छन्। घर चाहियो भने पनि खोस्‍न पछि पर्दैनन्। कसैको पनि घर-परिवार वा सम्‍पत्ति सुरक्षित रहँदैन।

3 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म तिमीहरूमाथि विपत्ति ल्‍याउने उपाय रच्‍दै छु।” तिमीहरू उम्‍केर भाग्‍न सक्‍नेछैनौ। तिमीहरूले आफैंलाई कष्‍टमा परेका पाउनेछौ। त्‍यसपछि तिमीहरू घमण्‍डले कहिल्‍यै पनि हिंड्‍नेछैनौ।

4 त्‍यो समय आउँछ, जब मानिसहरूले तिमीहरूको विपत्तिको उदाहरण दिएर कथा सुनाउनेछन् र तिमीहरूका विपत्तिबारे तिनीहरूले यो निराशाको गीत गाउनेछन्: हामी पूरा नष्‍ट भयौं! परमप्रभुले हाम्रा जग्‍गाजमिन खोस्‍नुभयो, र हामीलाई कैदी बनाउनेहरूका हातमा सुम्‍पिदिनुभयो।”

5 जब परमप्रभुको प्रजालाई जमिन फर्काइदिने समय आउँछ, तब तिमीहरूले त्‍यसबाट केही हिस्‍सा पाउनेछैनौ।

6 मानिसहरूले मलाई उपदेश दिंदै भन्‍छन्, “हामीलाई उपदेश नदेऊ। ती सबै कुराबारे हामीलाई उपदेश नदेऊ। परमेश्‍वरले हाम्रो अपमान गर्नुहुन्‍न।

7 इस्राएलका मानिसहरूमाथि सराप परेको छ भनी के तिमी ठान्‍छौ? के परमप्रभु अधीर हुनुभएको छ र? के उहाँले साँच्‍चै यस्‍तो गर्नुहुन्‍छ? के सोझो बाटोमा हिंड्‍नेहरूलाई उहाँको वचनले भलो गर्दैन र?”

8 परमप्रभुले जवाफ दिनुहुन्‍छ, “तिमीहरूले शत्रुहरूलाई झैँ मेरो प्रजालाई आक्रमण गर्छौ। हामी घरमा सुरक्षित रहन्‍छौं भनी मानिसहरू लडाइँबाट फर्कन्‍छन् तर तिमीहरू तिनीहरूका आङबाट खास्‍टो खोस्‍न पर्खिरहेका हुन्‍छौ।

9 मेरा प्रजाका सुखका घरबाट स्‍त्रीहरूलाई तिमीहरूले धपाउँछौ र तिनीहरूका छोरा-छोरीहरूबाट मेरा आशिष् सदाको निम्‍ति लुटेका छौ।

10 उठेर जाओ, यहाँ अब सुरक्षा पाउनेछैनौ। तिमीहरूका पापले गर्दा यो ठाउँ विनाश हुन लागेको छ।

11 “यी मानिसहरूले त्‍यस्‍ता अगमवक्ता मागेका छन्, जो झूट र छलले भरिएर यसो भनी हिंड्छन्: ‘म अगमवाणी गर्छु कि तिमीहरूको निम्‍ति दाखमद्य र कडा मद्य बहनेछन्।’

12 “तर इस्राएलका बाँकी रहेका तिमीहरू सबै मानिसहरूलाई म एकसाथ भेला गर्नेछु। भेडा आफ्‍नो बथानमा फर्केझैँ म तिमीहरूलाई एकसाथ जम्‍मा गर्नेछु। भेडाहरूले भरिएको चरनझैँ तिमीहरूको देश फेरि मानिसहरूले भरिनेछ।”

13 परमेश्‍वरले तिनीहरूका निम्‍ति बाटो खोलिदिनुहुन्‍छ र तिनीहरूलाई कैदबाट डोर्‍याएर फर्काइल्‍याउनुहुन्‍छ। तिनीहरूले सहरका ढोकाहरू फोरेर छुटकारा पाई बाहिर निस्‍कनेछन्। परमप्रभु तिनीहरूका राजा स्‍वयम् तिनीहरूका अघि-अघि जानुहुनेछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy