मीकाको पुस्तक 1 - सरल नेपाली पवित्र बाइबल1 योताम, आहाज र हिजकिया राजाहरूले यहूदामा राज्य गरेको बेलामा मोरेशेत सहरबाट आएका मीकालाई परमप्रभुले यो सन्देश दिनुभयो। परमप्रभुले मीकालाई सामरिया र यरूशलेमबारे यी कुराहरू प्रकट गर्नुभयो। सामरिया र यरूशलेममाथि बिलौना 2 “हे जाति-जातिका मानिसहरू हो, यो कुरा सुन! हे पृथ्वीका सबै बासिन्दाहरू हो, तिमीहरूले सुन! सार्वभौम परमप्रभुले तिमीहरूका विरुद्धमा साक्षी दिनुहुनेछ। सुन! उहाँ आफ्नो स्वर्गीय मन्दिरबाट बोल्नुहुन्छ। 3 परमप्रभु आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ। उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च टाकुराहरूमाथि हिंड्नुहुनेछ। 4 तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्लेझैँ पग्लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।” 5 इस्राएलका मानिसहरूले पाप गरेका र परमेश्वरको विरुद्धमा विद्रोह गरेका हुनाले यी सबै कुरा हुनेछन्। इस्राएलका विद्रोहको निम्ति कसलाई दोष दिनु? के राजधानी सामरिया सहरलाई? यहूदाको मूर्तिपूजाको लागि को दोषी छ? यरूशलेम आफैं होइन र? 6 यसकारण परमप्रभु भन्नुहुन्छ, “म सामरियालाई नाश पारेर खुला मैदानमा रास बनाई थुपार्नेछु र त्यहाँ दाखबारी बनाउनेछु। सहरका रोडाहरू बेसीमा फालिदिनेछु र सहरका जगहरू उदाङ्गो पारिदिनेछु। 7 त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिनेछन् र त्यसका मन्दिरका वेश्याहरूलाई दिइएका सबै थोक आगोले भस्म पारिनेछन् र त्यसका देवताका मूर्तिहरू ध्वस्त भएर रास लाग्नेछन्। सामरियाले ती थोकहरू वेश्याको दामस्वरूप बटुलेको थियो, अब त्यसका शत्रुहरूले अरू ठाउँमा वेश्याको दामस्वरूप ती लैजानेछन्।” 8 त्यसपछि मीकाले भने, “यसैकारण म रुँदै विलाप गर्नेछु। मेरो मनको वेदना देखाउन म नाङ्गो भई खाली खुट्टाले हिंड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोले झैँ बिलौना गर्नेछु। 9 सामरियाका चोटहरू निको हुनेछैनन् र यहूदालाई पनि त्यस्तै चोट लाग्न आँटेको छ। विनाशचाहिँ मेरा प्रजा बास गर्ने यरूशलेमका ढोकामा पुगिसकेको छ।” यरूशलेमको छेउमा शत्रुहरू 10 हामी हारेका कुरा गातमा हाम्रा शत्रुहरूलाई नसुनाओ। तिनीहरूले तिमीहरू रोएका नदेखून्। बेथ-ओप्राका मानिसहरूले धुलोमा लडीबडी गरून्। 11 शाफीरका बासिन्दाहरू नाङ्गै लज्जित भई कैदमा जाऊन्। सानानका बासिन्दाहरू सहरबाट बाहिर ननिक्लून्। बेथ-एजेलका मानिसहरूको रुवाबासी सुन्दा त्यस ठाउँमा शरण लिने ठाउँ छैन रहेछ भनी बुझ्नेछौ। 12 मारोतका बासिन्दाहरूले चिन्तित भई उद्धार पाउने बाटो हेर्दै छन् किनभने परमप्रभुले विपत्ति यरूशलेमको ढोकासम्म ल्याउनुभएको छ। 13 लाकीशका बासिन्दाहरू हो, तिमीहरूले रथमा घोडाहरू कस। इस्राएलले गरेको पाप तिमीहरूले गर्यौ र यरूशलेमलाई पाप गर्न लायौ। 14 अनि अब यहूदाका मानिसहरू हो, तिमीहरूले मोरेशेत-गात सहरसँग बिदा माग। अक्जीबको सहरबाट इस्राएलका राजाहरूले केही मद्दत पाउनेछैनन्। 15 हे मारेशाका निवासीहरू हो! तिमीहरूको सहर परमप्रभुले शत्रुका हातमा दिनुहुनेछ, तिनीहरूले तिमीहरूको सहर कब्जा गर्नेछन्। इस्राएलका प्रतापी अगुवाहरू अदुल्लामको गुफामा गई लुक्नेछन्। 16 यहूदाका मानिसहरू हो! तिमीहरूले माया गरेका छोरा-छोरीहरूका निम्ति शोक मनाउँदै आफ्नो केश खौराओ। आफैंलाई गिद्धझैँ तालुखुइले बनाओ किनभने तिम्रा बालबालिकाहरूलाई कैद गरी तिमीहरूदेखि टाढा लगिनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society