मत्ती 9 - सरल नेपाली पवित्र बाइबलएक जना मानिसले चङ्गाइ पाएको ( मर्कूस २:१-१२ ; लूका ५:१७-२६ ) 1 येशू फेरि नाउमा चढेर तालको पारिपट्टि आफू बसेको सहरमा फर्केर जानुभयो 2 अनि मानिसहरूले पक्षघात भएको मानिसलाई ओछ्यानमै बोकेर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस रोगीलाई भन्नुभयो, “ए छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ।” 3 येशूले भन्नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्न लागे, “यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ।” 4 तिनीहरूको मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू मनमा किन यस्तो नराम्रो विचार लिन्छौ? 5 अब भन त, यस मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला? 6 तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ।” अनि उहाँले त्यस बिरामीलाई भन्नुभयो, “अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 7 तब त्यो मानिस जुरुक्कै उठेर घरतिर लाग्यो। 8 यो अचम्मको काम देखेर ती मानिसहरू डराए। परमेश्वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा तिनीहरूले उहाँकै प्रशंसा गरे। येशूले मत्तीलाई बोलाउनुभएको ( मर्कूस २:१३-१७ ; लूका ५:२७-३२ ) 9 त्यहाँबाट गइरहँदा येशूले एक जना मत्ती भन्ने कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तब मत्ती उठेर उहाँको पछि लागे। 10 येशू चेलाहरूसँगै मत्तीको घरमा पाहुना भएर खान बस्नुभयो। उहाँका पछि लाग्नेहरू धेरै जना कर उठाउने र अरू पापीहरू पनि उहाँहरूसँगै खान बसे। 11 यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले उहाँका चेलाहरूलाई भने, “यो के हो? तिमीहरूका गुरु त कर उठाउने र अरू पापीहरूसँगै बसेर खाँदा रहेछन्!” 12 तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ। 13 तिमीहरू धर्मशास्त्रमा लेखिएको यो कुराको अर्थ बुझ्न खोज– ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।” उपवास बस्ने बारेमा प्रश्न ( मर्कूस २:१८-२२ ; लूका ५:३३-३९ ) 14 त्यसपछि बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्दैनन्, किन?” 15 येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्जेल जन्तीहरूले विलाप गरेर उपवास बस्छन् र? तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्याइनेछ, तब पो तिनीहरू उपवास बस्नेछन्। 16 “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालोले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर लुगा च्यातिन्छ र झन् ठूलो प्वाल पो पारिदिन्छ। 17 “यसै गरी ताजा दाखमद्य ल्याएर पुरानो छालाको थैलोमा राखिंदैन! यदि राखियो भने छालाको थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलोमा नै राखिन्छ अनि दुवै जोगिन्छन्।” यहूदी शासककी छोरी र एउटी स्त्रीको चङ्गाइ ( मर्कूस ५:२१-४३ ; लूका ८:४०-५६ ) 18 येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्दै एउटा यहूदी शासक त्यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।” 19 येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। 20 त्यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीले पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन् 21 किनभने तिनलाई ‘उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुने थिएँ’ भन्ने लागेको थियो। 22 अनि येशूले फरक्क पछिल्तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्नुभयो, “छोरी, साहस गर। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यति नै खेर ती स्त्री निको भइहालिन्। 23 त्यसपछि येशू यहूदी शासकका घरमा पुग्नुभयो। उहाँले त्यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्नुभयो। 24 तिनीहरूलाई येशूले भन्नुभयो, “तिमीहरू सबै बाहिर गइदेओ त। यो नानी त खालि निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। 25 तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। 26 त्यसपछि देशभरि नै यसको बारेमा चर्चा चल्यो। दुई जना अन्धा र एक जना लाटोले चङ्गाइ पाएका 27 येशूले त्यो ठाउँ छोडेर जानुहुँदा बाटोमा दुई जना अन्धाहरूले उहाँलाई पछ्याएर कराउँदै भने, “हे दाऊद वंशका येशू, हामीलाई दया गर्नुहोस्।” 28 येशू घरमा पुगेपछि ती दुई अन्धाहरू पनि त्यहीँ आइपुगे। येशूले तिनीहरूलाई सोध्नुभयो, “के मैले तिमीहरूलाई निको पार्न सक्छु भन्ने तिमीहरूलाई विश्वास छ?” तिनीहरूले भने, “छ, प्रभु।” 29 तब येशूले तिनीहरूका आँखा छुँदै भन्नुभयो, “लौ त, त्यसो भए तिमीहरूले विश्वास गरेजस्तै होस्।” 30 र तिनीहरू देख्ने भए। येशूले तिनीहरूलाई भन्नुभयो, “होश राख है! यो कुरा कसैलाई पनि नभन्नू।” 31 तर तिनीहरू त्यहाँबाट गएर उहाँको बारेमा झन् सबैतिर सुनाइदिए। 32 तिनीहरू गएपछि मानिसहरूले एक जना भूत लागेर लाटो भएको मानिसलाई येशूकहाँ ल्याए। 33 येशूले भूत निकाल्नेबित्तिकै त्यो मानिस बोल्ने भयो अनि मानिसहरूले छक्क पर्दै भन्न लागे, “यस्तो त हामीले इस्राएलमा कहिल्यै देखेका थिएनौं।” 34 तर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्ने शक्ति दिइएको हो।” थोरै खेतालाहरू ( मर्कूस ६:३४ ; लूका १०:२ ) 35 येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्वरको राज्यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो। 36 मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्तै दु:ख पाएका लाचार मानिसहरू थिए। 37 उहाँले चेलाहरूलाई भन्नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। 38 तिमीहरूले बालीको धनीसँग बाली बटुल्ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society