मत्ती 8 - सरल नेपाली पवित्र बाइबलकुष्ठरोगीले चङ्गाइ पाएको ( मर्कूस १:४०-४५ ; लूका ५:१२-१६ ) 1 येशू डाँडाबाट तल झर्नुहुँदा मानिसको ठूलो धुइरोले उहाँलाई पछ्यायो। 2 त्यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 3 येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” तुरुन्तै त्यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्यो। 4 येशूले उसलाई भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू। तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ अनि मोशाले अह्राएजस्तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” रोमी कप्तानको नोकरले चङ्गाइ पाएको ( लूका ७:१-१० ) 5 येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्तान आएर उहाँसँग बिन्ती गरे, 6 “हजुर, मेरो नोकर पक्षघात रोगले घरमा थलिएको छ।” 7 येशूले उनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु।” 8 कप्तानले भने, “हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ। हजुरले आज्ञा मात्र दिनुहोस् र मेरो नोकर निको भइहाल्नेछ। 9 म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्छु, त्यो जान्छ, अर्कोलाई ‘आइज’ भन्छु, त्यो आउँछ अनि आफ्नो नोकरलाई पनि ‘यसो गर्’ भन्छु, त्यसले गरिहाल्छ।” 10 यो कुरा सुनेर येशू छक्क पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूलाई भन्नुभयो, “हेर, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैनँ। 11 साँच्चै म तिमीहरूलाई भन्छु, पूर्व र पश्चिमबाट अरू जातिका धेरै मानिसहरू परमेश्वरको राज्यमा आउनेछन् र अब्राहाम, इसहाक र याकूबसँगै खान बस्नेछन्। 12 तर परमेश्वरको राज्यमा हुनुपर्ने इस्राएलीहरूचाहिँ बाहिर अन्धकारमा फ्याँकिनेछन् र त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” 13 त्यसपछि येशूले कप्तानलाई भन्नुभयो, “हुन्छ, अब तिमी जाऊ, तिमीले विश्वास गरेजस्तै हुनेछ।” त्यति नै खेर कप्तानको नोकर निको भयो। धेरैले चङ्गाइ पाएका ( मर्कूस १:२९-३४ ; लूका ४:३८-४१ ) 14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ उहाँले पत्रुसकी सासूलाई ज्वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो। 15 येशूले तिनको हात छोइदिनुभयो र तिनलाई ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँको सेवा सत्कार गर्न लागिन्। 16 साँझ परेपछि मानिसहरूले भूत लागेका धेरै बिरामीहरूलाई येशूकहाँ ल्याए। येशूले आफ्नो बोलीले नै भूतहरूलाई निकाल्नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो। 17 यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्नुभयो।” चेलाले तिर्नुपर्ने मोल ( लूका ९:५७-६२ ) 18 येशूले आफ्नो वरिपरि मानिसहरूको ठूलो हुल देखेर आफ्ना चेलाहरूलाई “लौ हामी तालको पारिपट्टि जाऔं,” भन्नुभयो। 19 त्यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।” 20 येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, फ्याउराहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीहरूका गुँडहरू छन्, तर म मानव पुत्रको टाउको राख्ने ठाउँसम्म पनि छैन।” 21 अनि चेलाहरूमध्ये एउटाले भने, “गुरुज्यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्न दिनुहोस्।” 22 येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्, तिमीचाहिँ मेरो पछि लाग।” येशूले आँधीलाई शान्त पार्नुभएको ( मर्कूस ४:३५-४१ ; लूका ८:२२-२५ ) 23 येशू नाउमा चढ्नुभयो र चेलाहरू पनि उहाँसँगै गए। 24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। पानीको छाल उठेर नाउलाई नै डुबाउन लाग्यो। तर येशू भने मस्तसँग निदाउनुभएको थियो। 25 अनि चेलाहरूले येशूको छेउमा गएर उहाँलाई उठाउँदै भने, “गुरुज्यू, हामीलाई बचाउनुहोस्, हामी त मर्न लाग्यौं।” 26 येशूले भन्नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्वास?” यति भनेर उहाँ उठ्नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्काउनुभयो। उहाँले हप्काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्त भइहाल्यो। 27 यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।” भूत लागेका दुई जना मानिसले चङ्गाइ पाएका ( मर्कूस ५:१-२० ; लूका ८:२६-३९ ) 28 येशू तालको पारिपट्टि गदरिनीहरूको मुलुकमा आइपुग्नुहुँदा चिहानका गुफाहरूबाट निस्केर आएका दुई जना भूत लागेका मानिसहरूले उहाँलाई भेटे। तिनीहरू त यतिसम्म डरलाग्दा भएका थिए कि त्यस बाटोबाट कोही पनि हिँड्दैनथे। 29 अब तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “हे परमेश्वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?” 30 अलि पर एक हुल सुँगुरहरू चरिरहेका थिए। 31 अनि ती भूतहरूले येशूलाई बिन्ती चढाउँदै भने, “हामीलाई निकाल्नु नै हुन्छ भने तिनै सुँगुरहरूभित्र पस्ने आज्ञा दिनुहोस्।” 32 येशूले पनि “निस्केर जाओ!” भन्नुभयो। त्यतिखेरै भूतहरू ती दुई मानिसबाट निस्केर सुँगुरहरूमा पसे अनि सुँगुरको हुल भीरबाट खुरमुरिंदै तालमा डुबेर नष्ट भए। 33 सुँगुर चराउनेहरू भागेर सहरतिर गए। सहरमा पुगेर तिनीहरूले सबै घटना र भूत लागेका मानिसहरू कसरी निको भए भन्ने कुरासमेत सुनाइदिए। 34 यो कुरा सुनेपछि पूरै सहर उल्टेर येशूलाई भेट्न आयो। अनि तिनीहरूले येशूलाई “हाम्रो इलाकाबाट गइदिनुहोस्!” भनेर बिन्ती गरे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society